भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिन न्यायिक हिरासतमा राख्न आदेश

बिहिबार, २० कार्तिक, २०७७
डिजिटल संस्करण

दुई वर्ष पुरानो आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई  १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ । बुधबार राति मुम्बईस्थित एक अदालतले गोस्वामी र अन्य दुई जनालाई १४ दिनका लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।

गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् । सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप गोस्वामीमाथि लागेको छ । गोस्वामीलाई भारतीय दण्ड विधानको धारा ३०६ को खण्ड ३४ अन्तर्गत हिरासतमा राख्ने आदेश दिइएको हो । 

रिपब्लिक टेलिभिजनका प्रधानसम्पादकसमेत रहेका गोस्वामीलाई बुधबार बिहान मुम्बईस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई बुधबार रातभर कोभिड– १९ परीक्षण रिपोर्ट नआउँदासम्म जेलद्वारा कोभिड– १९ विरामीलाई राख्न बनाइएको केन्द्रमा नै राखिएको थियो । 

इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइक सन् २०१८ को मे महिनामा अलिबाग तालुकाको कविर गाउँस्थित फार्म हाउसमा मृत फेला परेका थिए । त्यहाँ फेला परेको सुसाइड नोटमा अर्नबसँगै फिरोज शेख र नितेश सारदाले ५० करोड भुक्तानी नगरेकाले आत्महत्या गरेको उल्लेख छ । 

सुझावित समाचार