कप्तान लोकेश राहुलको विस्फोटक एक सय ३२ रनको मद्दतमा बिहीबार किंग्स ११ पन्जाबले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनले पराजित गरेको छ ।
दुबईको डिएससी मैदानमा पन्जाबले पहिलो ब्याटिङ गरी निर्धारित २० ओभरमा तीन विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । प्रत्युत्तरमा बेंग्लोर १७ ओभरमै १०९ रनमा समेटियो ।
बलिङमा पन्जाबका लागि रवि विस्नोई र मुरुगान आश्विनले समान तीन–तीन विकेट लिँदा बेंग्लोरको बलियो ब्याटिङ धराशयी भयो । यसैगरी सेल्डोन कोल्टेरले दुई विकेट हात पारे ।
बेंग्लोरका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ३० रनको योगदान दिए । यसैगरी एबी डी भिलियर्सले २८ रन तथा आरोन फिन्चले २० रनको योगदान दिए । कप्तान विराट कोहलीले पाँच बल सामना गरी एक रन मात्र जोडे । सो इनिङ्समा दुई ब्याट्सम्यान डकआउट भए ।
यसअघिको ब्याटिङमा राहुल पूरै जमेका थिए । चालू आइपिएलमा आफ्नो पहिलो शतकीय इनिङ खेल्दा उनले ६९ बलमा १४ चौका र सात छक्का प्रहार गरेका थिए । उनले डेल स्टेनको अन्तिम ओभरमा चौका प्रहार गर्दै शतक ठोके ।
राहुलले करुन नायेरसँग चौथो विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए । करुनले १५ रन जोड्न आठ बलमा दुई चौका लगाए । यसैगरी राहुलले ओपनर मायांका अग्रवालसँग पहिलो विकेटका लागि ६.६ ओभरमा ५७ रन जोडे । मायांकाले २० बलमा चार चौका प्रहार गर्दै २६ रन बनाए ।
सो खेलमा पन्जाबका राहुलले दुईपटक जीवनदान पाएका थिए । डेल स्टेनको ओभरमा राहुल व्यक्तिगत ८२ रनमा खेलिरहँदा सहज क्याच मिस भयो ।
त्यसपछि नवदीप सैनीको ओभरमा उनले ८७ रनमा अर्को जीवनदान पाए । बेंग्लोरका कप्तान विराटले राहुलको दुई क्याच मिस हुनु नै हारको कारण भएको जनाएका छन् ।
लक्ष्य पछ्याउँदा बेंग्लोरले पहिलो तीन ओभरमा तीन विकेट नै गुमाएको थियो । आइपिएलमा राहुल भारतीय ब्याट्सम्यानमध्ये व्यक्तिगत धेरै रन बनाउने खेलाडी बनेका छन् ।
यसअघि आइपिएलमा रिषभ पन्तको नाममा एक सय २८ रनको रेकर्ड थियो । आइपिएलमा क्रिसगेलको नाममा एक सय ७५ रनको रेकर्ड छ । उनले सर्वाधिक ६ शतक लगाएका छन् ।
जितसँगै पन्जाब दुई अंकका साथ शीर्ष स्थानमा उक्लेको छ । पन्जाबले दुई खेलमा एक जित र एक हारको सामना गरेको छ ।
दोस्रो स्थानको मुम्बई इन्डियन्सले पनि एक जित र एक हार खेलेको छ ।