एएफसीले प्रत्येकदुई वर्षमा नेसन्स लिग गर्ने

मंगलबार, २० असोज, २०८३
प्रिन्ट संस्करण
  • एसियाली फुटबलको संरचना बलियो बनाउन सन् २०३० देखि नयाँ ढाँचाको नेसन्स लिग प्रतियोगिता सञ्चालन गर्ने एएफसीको प्रस्ताव, आबद्ध देशहरूको वरीयताअनुसार टोली निर्धारण गरिने

एसियाली फुटबल महासंघ (एएफसी)ले सन् २०३० देखि नयाँ ढाँचाको नेसन्स लिग प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव राखेको छ । एएफसीले दुई वर्षमा आयोजना हुने नेसन्स लिग प्रस्ताव कार्यान्वयन भए एसियाबाट फिफा विश्वकप र एएफसी एसियन कपमा छनोटको स्वरूप नै परिवर्तन हुनेछ ।

नयाँ योजनाअनुसार चार वर्षपछि आयोजना हुने नेसन्स लिगमा एसियाका टोलीलाई तीन तहमा विभाजन गरिनेछ । पहिलो र दोस्रो तहमा समान १८ राष्ट्र हुनेछन् । तेस्रो तहमा ११ राष्ट्रलाई तीन समूहमा विभाजन गर्ने प्रस्ताव छ । विश्वकपसँग जोडिएको संस्करणको पहिलो प्रतियोगिता २०३२/३३ मा हुनेछ । त्यसमा टोलीहरूले ६ वटा ‘होम’ र ६ वटै ‘अवे’ खेल खेल्नेछन् । पहिलो तहका शीर्ष ६ टोली विश्वकपका लागि स्वतः छनोट हुने प्रस्ताव राखिएको छ ।

पहिलो तहमा एसियाली फुटबल वरीयताअनुसार सातौँदेखि दशौँ स्थानसम्म रहने चार टोलीले विश्वकप छनोटका लागि राउन्ड रोबिन प्ले अफ खेल्नेछन् । त्यसबाट शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् । यसैगरी, तेस्रो हुनेले विश्वकपमा स्थान बनाउन अन्तरमहादेशीय प्ले अफ खेल्नेछ । यसअघि एएफसीले सन् २०२६ को विश्वकपका लागि आयोजना गरेको एसियन छनोटअन्तर्गत तेस्रो चरणमा १८ टोलीलाई समान ६ टोली समावेश गरी तीन समूहमा विभाजन गरेको थियो ।

प्रत्येक समूहका शीर्ष दुई टोली विश्वकपमा स्वतः छनोट भएका थिए । त्यसपछिका उत्कृष्ट दुई टोली चौथो चरणको प्ले अफमा पुगेका थिए । एएफसीको नयाँ प्रस्तावअनुसार एसियन कपसँग जोडिएको नेसन्स लिगको पहिलो संस्करण २०३० मा हुनेछ । यसमा सहभागी राष्ट्रले समान तीन घरेलु र विदेशी भूमिमा प्रतिस्पर्धा गर्नेछन् । एएफसीले एसियन कपलाई २०३१ बाट २०३२ मा सार्ने प्रस्ताव पनि गरिएको छ ।

वरीयताअनुसार टोली विभाजन
एएफसीले नयाँ अवधारणाअनुसार नेसन्स लिग आयोजना गर्ने प्रस्ताव राखेको छ । तर, यसमा ठुलो समस्या ‘जोन’ हो । विभिन्न क्षेत्रमा समान टोली छैनन् । संख्या समान नरहेको र प्रतिस्पर्धाको स्तरमा समेत असमानता रहेको भन्दै एएफसीले सबैलाई वरीयताअनुसार ‘पोट’को व्यवस्था गरेको छ । सन्तुलित खेल तालिका बनाउन ‘ड्र’का क्रममा टोलीलाई विभिन्न पोटमा राखेर एल्गोरिदममार्फत खेल तालिका बनाउने योजना एएफसीको छ ।

नयाँ संरचनामा सहजताका लागि एएफसीले सन् २०२८/२९ मा पाइलट प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव सारेको छ । पहिलो आधिकारिक नेसन्स लिगका लागि टोलीको तह निर्धारण फिफा वरीयताका आधारमा नभई प्रारम्भिक संयुक्त छनोटको नतिजाका आधारमा हुनेछ । पाइलट प्रतियोगितामा हालको विश्वकप छनोट संरचनाअनुसार पहिलो तहमा समान ६ टोलीका तीन समूह रहनेछन् । प्रत्येक समूहका शीर्ष दुई टोली २०३० को प्रतियोगिताका लागि छनोट हुनेछन् । पाइलट प्रतियोगितामै स्वतः बढुवा र घटुवा तथा प्ले अफको व्यवस्था पनि गरिनेछ । यसबाट २०३० मा सुरु हुने पहिलो आधिकारिक एएफसी नेसन्स लिगमा टोलीको वरीयता निर्धारण हुनेछ ।

शीर्ष वरीयता राष्ट्र सिधै एसियन कपमा 
एसियन कपसँग जोडिएको संस्करणमा पहिलो तहका आठ शीर्ष राष्ट्र एसिया कपका लागि छनोट हुनेछन् । यसैगरी एएफसीको दोस्रो तहका शीर्ष ६ टोली पनि छनोट हुने एएफसीले जनाएको छ । विश्वकप वा एसियन कपसँग सम्बन्धित जुनसुकै संस्करण भए पनि पहिलो तहका शीर्ष आठ टोलीले नेसन्स लिगको उपाधिका लागि नकआउट चरण खेल्नेछन् । घरेलु मैदान र बाहिरी मैदानमा हुने क्वार्टरफाइनलपछि सेमिफाइनल र फाइनल केन्द्रीय स्थलमा आयोजना गर्ने प्रस्ताव गरिएको छ । हरेक दुई वर्षमा हुने नेसन्स कपमा रेलिगेसन लागू हुनेछ । पुछारका दुई टोली घटुवा हुनेछन् । 

(एएफसीको सहयोगमा)

सुझावित समाचार