विश्वकप लिग २ सिरिज : एकदिवसीय मान्यता रक्षा गर्ने लक्ष्यमा नेपाल

मंगलबार, २० असोज, २०८३
प्रिन्ट संस्करण
  • अंक तालिकाको शीर्ष ६ स्थानमा रहने राष्ट्रको चार वर्षका लागि एकदिवसीय मान्यता जोगिँदा सातौँ र आठौँमा रहनेले गुमाउने

नेपाली पुरुष क्रिकेट टोलीले आगामी २५ असोजमा ओमानमा आइसिसी विश्वकप लिग २ अन्तर्गत क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । विश्वकप लिग २ मा नेपालको यो अन्तिम सिरिज हो । यस सिरिजले नेपालको एकदिवसीय मान्यता रक्षा हुने वा नहुने निर्धारण गर्छ । अंक तालिकाको शीर्ष ६ स्थानमा रहने टोलीको चार वर्षका लागि अस्थायी एकदिवसीय मान्यता जोगिनेछ । पुछारका दुई टोलीले एकदिवसीयको हैसियत गुमाउनेछन् ।

तालिकामा नेपाल २४ अंकका साथ सातौँ स्थानमा छ । एक स्थानमाथि रहेको क्यानडाको २५ अंक छ । अंक तालिकाअनुसार नेपाल र क्यानडाले ओमानमा हुने सिरिजमा आ–आफ्नो एकदिवसीय हैसियत बचाउने मुख्य लक्ष्य लिएका छन् । यी दुवै सिरिजको पहिलो खेल गुमाउन चाहँदैनन् । यस सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दा नेपालले अंक तालिकामा धेरै सुधार गर्न सक्छ ।

शीर्ष चारका स्कटल्यान्ड, अमेरिका, नेदरल्यान्ड्स र ओमानले एकदिवसीय मान्यता रक्षा गरिसकेका छन् । स्कटल्यान्डले ४५, अमेरिकाले ४३, नेदरल्यान्ड्सले ३८ तथा ओमानले ३१ अंक बटुलेका छन् । नेपालले लिग २ का नौ सिरिजमध्ये आठ सिरिज पूरा गरिसकेको छ । ३६ मध्ये नेपालले ३२ खेल खेलिसकेको छ । अब नेपालले एकदिवसीय विश्वकपको छनोट साइकलका रूपमा रहेको सिरिजमा चार खेल खेल्न बाँकी छ ।

त्यसैले ओमान सिरिज नेपालको नजरमा गर या मरको अवस्थामा छ । यस सिरिजले नेपालको विश्वकप छनोटमा सिधै स्थान बनाउने कि प्ले अफमा जाने भन्ने निर्धारण गर्छ । नेपालले अंक तालिकाको शीर्ष ६ भित्र नरहँदा एकदिवसीय मान्यता गुमाउन सक्छ । सातौँ वा आठौँ स्थानमा रहने टोलीको मान्यता गुम्ने प्रावधान छ । 
शीर्ष चारको यात्रा कठिन
एकदिवसीय ग्लोबल छनोटमा पुग्न विश्वकप लिग २ को शीर्ष चारभित्र समावेश हुनुपर्छ । तर, नेपालको सम्भावना कठिन छ । चारै खेलमा जित निकाल्दा पनि नेपालको भविष्य अन्य टोलीको खेल परिणामसँग जोडिएको छ । अहिलेको समीकरणमा नेपालले पहिलो लक्ष्यका रूपमा सिधै विश्वकप छनोट भन्दा पनि अंक तालिकामा सुधार गर्नुपर्ने देखिन्छ । शीर्ष चारमा नामिबियाले ओमानलाई दबाब दिइरहेको छ । नामिबियाले ३३ खेलमा २९ अंक जोडेको छ ।

नामिबियाले पनि आफ्नो अन्तिम सिरिजमा उत्कृष्ट नतिजा निकाल्दा नेपालको शीर्ष चारको लक्ष्य तुहिन सक्छ । यसले ओमानको वर्तमान चौथो स्थानमा पनि गुम्न सक्छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले ओमान हुने सिरिजमा नेपालको लक्ष्य नै एकदिवसीय मान्यता जोगाउनु बताएका छन् । ‘शीर्ष ६ मा रहँदा टोलीको एकदिवसीय मान्यता रक्षा हुनेछ । त्यसकारण हाम्रो पहिलो लक्ष्य नै छैटौँ स्थानमा रहेर लिग सकाउनु हो,’ खड्काले भने ।

टोलीका कप्तान सन्दीप लामिछानेले भने विश्वकप छनोट पहिलो लक्ष्यका रूपमा लिएका छन् । ‘पछिल्लो समयमा टिमको लयमा परिवर्तन आएको छ । हाम्रो लक्ष्य एकदिवसीय मान्यता रक्षा गर्नु मात्र नभएर नेपाललाई विश्वकप छनोटमा पुर्याउने हो,’ उनले भने ।

विश्वकप खेल्ने अवसर अझै बाँकी
विश्वकप लिग २ को सातौँ स्थानमा रहेको नेपालको आगामी वर्ष हुने एकदिवसीय विश्वकप खेल्ने सपना अझै जीवितै छ । आश्चर्यजनक रूपमा शीर्ष चारमा रहँदा नेपाल सिधै ग्लोबल छनोटमा पुग्नेछ । शीर्ष चारभित्र नरहे पनि नेपालले प्ले अफ खेल्ने अवसर पाउँछ । लिग २ का पुछारका चार टोली र आइसिसी च्यालेन्ज लिगबाट आउने चार टोलीबिच प्ले अफ प्रतिस्पर्धा हुनेछ । यस प्ले अफका चार टोली क्रिकेट विश्वकप छनोटमा जानेछन् । आइसिसीले प्ले अफ प्रतियोगितालाई विश्वकप छनोटका रूपमा राखेको छ । पछिल्लो संस्करणमा अमेरिका र युएईले प्ले अफबाट ग्लोबल छनोटमा स्थान बनाएका थिए ।

यसकारण ओमान सिरिज नेपालका लागि विश्वकपको सपना सकिने वा अघि बढ्ने भन्ने निर्णायक चरणमध्ये एक हो । च्यालेन्ज लिगबाट युगान्डा र इटालीले स्थान पक्का गरिसकेका छन् । थप दुई टोलीमा जर्सी र कुवेत अगाडि छन् । आइसिसीले आगामी १ देखि २२ डिसेम्बरसम्म प्ले अफ खेलको तालिका सार्वजनिक गरिसकेको छ । यहाँबाट शीर्ष चार टोली २६ फेब्रुअरीदेखि २१ मार्च २०२७ सम्म दक्षिण अफ्रिका र नामिबियामा हुने विश्वकप ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् ।

null

सुझावित समाचार