तेस्रो सिजनको एनपिएल : कर्णालीले गर्‍यो धावक रोकायालाई सम्मान

मंगलबार, २० असोज, २०८३
प्रिन्ट संस्करण
  • एनपिएलको फ्रेन्चाइज कर्णाली याक्सले विश्वकीर्तिमानी धावक हरिबहादुर रोकायालाई दुई लाख ५० हजारसहित सम्मान गरेको छ 

जुम्ला/नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सले सोमबार जुम्लाका विश्वकीर्तिमानी धावक हरिबहादुर रोकायालाई सम्मान गरेको छ । कर्णालीले रोकायालाई दुई लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले खेलमार्फत कर्णाली र देशको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्याउन योगदान गरेको भन्दै रोकायालाई सम्मान गरिएको जनाए ।

कर्णालीका प्रमुख गृहेन्द्र घिमिरेले रोकायाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै सम्मान गरिएको जनाए । ‘उहाँबाट प्रेरणा लिएर नयाँ पुस्ताका खेलाडी अगाडि बढ्न जरुरी छ,’ घिमिरेले भने ।

धावक रोकाया लामो समयदेखि नेपालको एथलेटिक्स क्षेत्रमा सक्रिय छन् । जुम्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका उनी ओलम्पियनसमेत हुन् । एभरेस्ट म्याराथनमा विश्वकीर्तिमान राखेका रोकायले पछिल्लो समय जुम्लामा नयाँ पुस्ताका धावक उत्पादनमा समेत योगदान दिँदै आएका छन् ।

हाई अल्टिच्युट ट्रेनिङ सञ्चालन गर्ने सपना 
रोकायाले जुम्लाको तालकोटमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर सञ्चालन गर्ने आफ्नो सपना रहेको बताए । अहिले आफ्नै जमिनमा प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेको भए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । ‘अहिले आफ्नै जमिनमा सेन्टर चलाइरहेको पर्याप्त छैन,’ उनले भने, ‘हिमालको काखमा रहेको तालकोटमा ट्रेनिङ सेन्टर खोल्ने सपना छ । त्यसलाई पूरा गरिदिन सबैले सहयोग गरिदिनुहोला ।’ उनले हिमाली क्षेत्रमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर स्थापना गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीलाई प्रशिक्षण दिन सकिने विश्वास दिलाए ।

‘कर्णालीको भौगोलिक अवस्था उच्च उचाइमा प्रशिक्षणका लागि उपयुक्त छ । यसको सदुपयोग गर्नुपर्छ,’ उनले भने । कार्यक्रममा मुख्यमन्त्री शाहीले धावक रोकायाले कर्णालीसँगै देशलाई चिनाउन खेलेको भूमिका महŒवपूर्ण रहेको बताए । उनले लगातार कर्णालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धावक उत्पादन गर्दै आइरहेका छन् । कर्णालीमा खेलकुदको पूर्वाधार र प्रशिक्षणको अवसर विस्तार गर्न सके अझ धेरै प्रतिभा उत्पादन गर्न सकिने उनले बताए ।

सुदूरपश्चिमलाई नेसनल प्याथ ल्याबको साथ 
साबिक दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्सले नेसनल प्याथ ल्याबलाई आफ्नो मेडिकल पार्टनरका रूपमा अनुबन्ध गरेको छ । साझेदारीअन्तर्गत नेसनल प्याथ ल्याबले प्रतियोगिताका क्रममा सुदूरपश्चिमका खेलाडी तथा टोलीका सदस्यलाई आवश्यक डायग्नोस्टिक सेवा र स्वास्थ्यसम्बन्धी सहयोग उपलब्ध गराउनेछ । ल्याबले खेलाडीहरूको स्वास्थ्य र फिटनेसलाई प्राथमिकतामा राख्दै गुणस्तरीय डायग्नोस्टिक सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 

विराटनगर र एभरेस्ट बैंकबिच सहकार्य 
विराटनगर किंग्सले तेस्रो सिजनको एनपिएलका लागि एभरेस्ट बैंक लिमिटेडसँगको सहकार्यलाई निरन्तरता दिएको छ । विराटनगर र एभरेस्ट बैंकबिच सोमबार सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको बैंकले विराटनगरसँगको सहकार्यले निजी क्षेत्रको सहभागितालाई थप बलियो बनाउने विश्वास गरिएको छ । 

See More On

सुझावित समाचार