- अमेरिकासँगको महत्वपूर्ण खेलमा ६ विकेटले पराजित भएको युएई १९ अंकका साथ पुछारमा
आइसिसी विश्वकप लिग २ अन्तर्गत सोमबार राति अमेरिकाले युएईमाथि ६ विकेटको सानदार जित निकालेको छ । हारले युएईको एकदिवसीय मान्यता कमजोर बनेको छ । युएईलाई खेल सकिनु सात बलअगाडि हराएको अमेरिका शीर्ष स्थानमा उक्लेको छ । अमेरिकाले ३३ खेलमा सर्वाधिक ४५ अंक जोडेको छ । लिग २ मा सबै खेल सकाएको स्कटल्यान्ड ४५ अंकका साथ दोस्रो स्थानमा धलेलिएको छ ।
अमेरिकाले ३३ खेलमा २२ जित र १० हार सामना गरेको छ । अंकतालिकाको पुछार (आठौँ) स्थानमा रहेको युएईले ३० खेलबाट १९ अंक जोडेको छ । आइसिसीले कम्तीमा शीर्ष ६ स्थानमा रहने टोलीहरूको एकदिवसीय मान्यता रक्षा हुने जनाएको छ । यस्तो अवस्थामा युएईले आगामी खेलमा खराब नतिजा व्यहोर्दा एकदिवसीय हैसियत गुमाउन सक्छ ।
लिगको १२८औँ खेलमा युएईले अमेरिकाविरुद्ध नराम्रो खेलेको होइन । लिगमै पहिलोपटक उत्कृष्ट ब्याटिङ प्रदर्शन गरी युएईले ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ३० रनको विशाल योगफल खडा गर्यो । तर, अमेरिकाले पनि त्यत्तिकै उत्कृष्ट रूपमा ब्याटिङ देखाउँदै र युएईका बलरको कमजोरीको फाइदा लिँदै ४८.५ ओभरमा चार विकेटको क्षतिमा तीन सय ३२ रन बनायो । युएईले अन्तिमसम्म जितका लागि धेरै प्रयास गरेको थियो । यसै लिग २ मा नेपालले आगामी साता ओमानमा हुने सिरिजमा प्रतिस्पर्धा गर्दै छ । नेपालले आयोजक ओमानसँगै क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । नेपालको नजरमा पनि यो सिरिज महत्वपूर्ण छ । नेपालको एकदिवसीय मान्यता रहने वा नरहने यसै सिरिजले निर्धारण गर्नेछ ।
मिलिन्दको अलराउन्ड प्रदर्शन
युएईले प्रस्तुत गरेको तीन सय ३१ रनको लक्ष्य पछ्याउँदा मिलिन्द कुमारले उत्कृष्ट ब्याटिङ गरी शतकीय योगदान दिए ।
उनले केवल ८४ बलमा सात चौका र पाँच छक्काको सहयोगमा ११६ रनको नटआउट इनिङ्स खेले । अमेरिकाले सानदार जित हात पार्दा पाँचौँ विकेटका लागि सुभम रन्जिने र मिलिन्दबिच १६० रनको साझेदारी भएको थियो । रन्जिने ब्याटिङमा आउँदा अमेरिका १७२–४ को स्थितिमा थियो ।
त्यसपछि मिलिन्द र रन्जिनेले धैर्यपूर्वक ब्याटिङ गरी टोलीलाई जिततर्फ उन्मुख गराए । रन्जिनेले ४९ बलमा तीन छक्का र दुई चौका प्रहार गरी ५७ रनको योगदान दिए । अमेरिकाको ब्याटिङमा मोनांक पटेलले ६२ बलमा ५५ रन तथा सैतेजाले ६२ बलमा समान दुई छक्का र चौका प्रहार गरी ५६ रनको योगदान दिएका थिए । फिल्डिङको क्रममा मिलिन्दले दुई क्याच लिएका थिए । यसै प्रदर्शनका कारण उनी खेलकै म्यान अफ दी म्याच भए ।
युएईको बलियो योगफल, तर रक्षा भएन
चालू विश्वकप लिग २ मा युएईले सम्भवतः तीन सयमाथिको योगफल पहिलोपटक खडा गर्यो । अंक तालिकाको पुछारमा रहेको युएईलाई अमेरिकाविरुद्ध जित आवश्यक थियो । जितले अंकतालिकामा सुधार हुन सक्थ्यो । जसले नेपाल र क्यानडामाथि दबाब सिर्जना हुन्थ्यो । यसै योजनाअनुसार युएईले ब्याटिङ गर्यो । ब्याटिङमा मोहमद सहदादले शतकीय योगदान दिए ।