नेपाल एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। नेपालले बिहीबार सम्पन्न खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान १८.१ ओभरमा ६० रनमै अलआउट भयो। ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ तथा जितेन रमानन्दीले १३ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
ओमानको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन विकेट लिए। ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट हात पारे।
त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा समेटिएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५१ र बसिर अहमदले ४७ रन बनाए।
ओपनर देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोड्दा ईशान पाण्डेले एक, कप्तान रोहित पौडेलले तीन, गुल्सन झाले सात, करण केसीले पाँच र सन्दीप लामिछानेले तीन रन बनाए।
ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन विकेट लिए। मुहम्मद इमरानले दुई तथा मुजिबुर अली र सकिल अहमदले एक–एक विकेट लिए।
अब नेपालले उपाधिका लागि युएईसँग प्रतिस्पर्धा गर्नेछ। युएईले हङकङलाई पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ।
नेपाल र युएईबिचको फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको उपाधि जित्ने टोलीले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।