भारत र पाकिस्तानबिचको खेल हेर्न एक लाख आवेदन

बुधबार, २१ असोज, २०८३
प्रिन्ट संस्करण
  • आगामी वर्ष नोभेम्बरमा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एकदिवसीय विश्वकपअन्तर्गत भारत र पाकिस्तानबिचको खेलका लागि टिकट बुकिङमा दर्शकको भिड

सन् २०२७ मा दक्षिण अफ्रिकामा एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता हुँदै छ । विश्वकपमा भारत र पाकिस्तानबिच एकै समूहमा छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र क्रिकेट अफ दक्षिण अफ्रिकाले संयुक्त रूपमा तीन दिनअघि विश्वकपको टिकट अनलाइनमार्फत बुकिङ खुला गरेका थिए । यस दिन भित्र भारत र पाकिस्तानबिचको खेल हेर्न सर्वाधिक एक लाखभन्दा बढीको आवेदन आएको आइसिसीले जनाएको छ ।

‘आश्चर्यजनक रूपमा भारत र पाकिस्तानबिचको खेलका लागि एक लाख बढीको आवेदन आएका छन्,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अझ यो संख्या बढ्ने विश्वास हामीले लिएका छौँ ।’ यो खेल दक्षिण अफ्रिकाको जोहान्सवर्गमा हुनेछ । वान्डर्स रंगशालामा हुने खेलको दर्शक क्षमता ३४ हजार मात्र रहेको छ । अहिले नै एक लाखभन्दा बढीको आवेदन आउँदा आइसिसी र आयोजकले कसरी टिकट व्यवस्था गर्ने चिन्ता लिएका छन् । आइसिसीले विश्वकपको ‘ड्र’ निकाल्दा भारत र पाकिस्तानलाई एकै समूहमा राखेको छ । 
आपसी अन्तरिक राजनीति द्वन्द्वका कारण भारत र पाकिस्तानले डेढ दशक एक–आपसमा सिरिज खेलेका छैनन् । उनीहरूको भेट नै एसिसी तथा आइसिसीले आयोजना गर्ने प्रतियोगितामा मात्र भइरहेका छन् । विश्व क्रिकेटमा यी दुई राष्ट्रबिचको प्रतिस्पर्धालाई रोमाञ्चक रूपमा लिने गर्छ । साथसाथै, उनीहरूको खेलमा विज्ञापनदेखि अन्य टिआरपीसम्म उच्च हुने गर्छ । जसका कारण आइसिसीले च्याम्पियन्स ट्रफीजस्ता प्रतियोगितामा समेत दुई राष्ट्रलाई एकै समूहमा राखेर प्रतिस्पर्धा गराउँछ ।

आइसिसीका अनुसार तीन दिनमा अहिलेसम्म समग्र विश्वकपका लागि भनेर ११ लाखले अनलाइनमार्फत टिकट बुक गरका छन् । यसमध्ये तीन लाख २० हजार दर्शकले पैसा तिरेरै टिकट बुक गरेका छन् । टिकट बुक गर्ने अन्तिम दिन २१ नोभेम्बरसम्म छ ।

दोस्रो धेरै बुकिङ अस्ट्रेलियाको खेलमा 
विश्वकपका लागि दोस्रो धेरै टिकट बुकिङ भारत र अस्ट्रेलियाबिच हो । ७ नोभेम्बरमा सुपर–७ को प्रतिस्पर्धामा यी दुई राष्ट्रबिच खेल हुनेछ । यस खेलका लागि अहिलेसम्म ८६ हजार दर्शकले अनलाइनमा टिकट बुक गरेका छन् । यसैगरी, जोहानेसबर्गमा हुने फाइनलका हेर्न ६९ हजार टिकट बुकिङ भएको आइसिसीले जनाएको छ । विश्वकपको फाइनल अर्को वर्षको २१ नोभेम्बरमा हुनेछ । आइसिसीले आगामी एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियालाई आयोजकका रूपमा चयन गरेका छन् । एक दशकपछि दक्षिण अफ्रिकामा आइसिसीको बृहत् प्रतियोगिता फर्कन लागेको हो ।

नयाँ फर्म्याटमा हुने विश्वकप
आइसिसीले विश्वकपलाई रोमाञ्चक बनाउन नयाँ फर्म्याटमा खेलाउँदै छ । आइसिसीका अनुसार विश्वकपको आधिकारिक समूह चरणको खेल सुरु हुनुअघि सुपर सिरिज हुनेछ । जसमा आइसिसीको एकदिवसीय वरीयतामा १२औँ, १३औँ र १४औँ स्थानमा रहेका राष्ट्रबिच राउन्ड रोबिन खेल हुनेछ । यस चरणको शीर्ष टोलीले समूह चरणमा स्थान बनाउनेछ । त्यसपछि सहभागी १२ राष्ट्रलाई दुई समूहमा विभाजन गरिनेछ । जसमा समान ६ राष्ट्रहरू हुनेछन् । समूह चरणको ३० खेलपछि दुई समूहका समान तीन शीर्ष र उत्कृष्ट चौथो स्थान प्राप्त गर्ने टोलीले सुपर–७ मा पुग्नेछन् । सुपर–७ मा सात राष्ट्रले एक–आपसमा खेल्नेछन् । यस चरणमा २१ खेल हुने आइसिसीले जनाएको छ । सुपर–७ का शीर्ष चारले सेमिफाइनल स्थान बनाउनेछन् । 

सुझावित समाचार