अर्जेन्टिनाले कप्तान लियोनल मेसीको सुखद बिदाइ गरेको छ । ब्युनस आयसस्थित मास मोन्युमेन्टल रंगशालामा बुधबार बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले मेसीको बिदाइ गरेको हो । मेसीले अन्तिम अन्तर्राष्ट्रिय खेलको ७१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । उनले अन्तर्राष्ट्रिय फुटबलमा १२६ गोल गरे । गत महिना नै मेसीले राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा गरेका थिए । तर, अर्जेन्टिनी फुटबल महासंघले मेसीको बिदाइ सामान्य नभएर भव्य बनाउने जनायो ।
यसपछि दक्षिण अफ्रिकी प्रतिद्वन्द्वी बेनिनसँगको मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । यस खेललाई ‘लास्ट ट्यांगो’ नाम दिइएको छ । जसको अर्थ अन्तिमपटक मैदानमा हो । आधिकारिक रूपमा मेसी २०८औँ अन्तर्राष्ट्रिय खेलबाट बिदा भए । खेल समाप्तिसँगै ८५ हजार घरेलु दर्शकसामु मेसी भावुक बने । साथीहरूको साथमा उनले रंगशालाको एक चक्कर लगाएर समर्थकबाट बिदा लिए । खेलका लागि भनेर एडिडासले मेसीको ब्रान्ड लोगोअंकित विशेष जर्सी तयार पारेको थियो । खेल सकिएपछि म्याच रेफ्रीले मेसीलाई रातो र पहेँलो कार्ड हस्तान्तरण गरेर विशेष सम्मान दिएका थिए । यसैगरी रंगशालाबाहिर ठुलो स्क्रिनमा मेसीको खेल यात्रा झल्काउने भिडियो प्रदर्शन गरिएको थियो । प्रतिस्पर्धामा मेसीले दुई असिस्ट गरे । उनले अर्जेन्टिनी समर्थकलाई वर्षौँसम्म साथ दिएकामा धन्यवाद दिँदै राष्ट्रिय टोलीबाट टाढा हुनु ‘गहिरो पीडादायी’ हुने बताएका छन् ।
सन् २०२२ को विश्वकप जितेपछि मेसीले अर्जेन्टिनाको घरेलु मैदान मोनुमेन्टलमा समर्थकमाझ फर्किएको क्षणलाई आफ्नो करिअरकै सबैभन्दा सुन्दरमध्ये एक मानेका छन् । ‘मोनुमेन्टलमा विश्व च्याम्पियन बनेपछि फर्केर खेल्दा मैले आफ्नो करिअरको एउटा उत्कृष्ट क्षण अनुभव गरेँ । त्यो मेरो जीवनमा भएको सबैभन्दा सुन्दर कुरा थियो,’ उनले भने । त्यही रंगशालामा राष्ट्रिय टोलीसँग बिदाइ लिँदा भने उनी भावुक बनेका थिए ।
विश्वकप जित्दाको क्षण
मेसीले सन् २०२२ को विश्वकपलाई आफ्नो करिअरको विशेष क्षणका रूपमा सम्झिएका थिए । सन् २०२२ मा अर्जेन्टिनाले विश्वकप हात पारेको थियो । मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई ३२ वर्षपछि विश्वकप उपाधि दिलाएका थिए । कतारमा विश्वकप ट्रफी उचाल्नुअघि अर्जेन्टिनाले अन्तिमपटक डिएगो म्याराडोनाको नेतृत्वमा सन् १९८६ मा ट्रफी हात पारेको थियो । मेसीले ठुलो सपनाका रूपमा विश्वकप च्याम्पियन खेलाडी देखेको जनाए । ‘चार वर्षअघिको विश्वकप जित्नु करिअरकै बृहत् सफलताका रूपमा लिएको छु,’ उनले भने, ‘कतारको भूमिमा हामीले आफ्नो सपना पूरा गरौँ । यसमा सबै अर्जेन्टिनी जनता र समर्थकले पुनः एकपटक विश्वच्याम्पियनको लक्ष्य पूरा गरेका थिए ।’
उनले दुई महिनाअघि भएको विश्वकपमा धेरै समस्या भोगेको जनाए । ‘फेरि च्याम्पियन हुने लक्ष्यका साथ अमेरिकामा गयौँ । त्यो लक्ष्य पूरा नहुँदा दुःखी भएँ ।’ यद्यपि, विश्वकप यात्रामा कठिन परिस्थितिमा पनि खेलाडीहरूले अर्जेन्टिनाका लागि शतप्रतिशत योगदान दिएको उनको भनाइ छ । ‘हरेक साथीले यो जर्सीका लागि सबै कुरा दिएका छन्,’ उनले भने, ‘‘मैले जति पनि सहकर्मीसँग खेलेँ, उनीहरूले सधैँ यो जर्सीका लागि आफ्नो सबै कुरा दिएका छन् ।’ विश्वकपमा कठिन समूहमा रहँदा पनि पार गरेको क्षण उनले सम्झिए । ‘त्यसवेला हामी असाधारण समूह थियौँ, तर सबै चुनौती पार गरी फाइनलसम्मको यात्रा सम्भव भयो,’ उनले भने ।
रंगशालामा सम्झिए बुबा
बिदाइ कार्यक्रम र आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलका कारण मेसी सुरुमै भावुक भइसकेका थिए । त्यसमाथि पनि बुबाको सम्झनाले उनलाई थप पीडादायी बनायो । सम्बोधनका क्रममा उनले दिवंगत बुबा जर्ज मेसीलाई सम्झिए । गत अगस्टमा बुबाको निधन भएपछि राष्ट्रिय टोलीसँगको अन्तिम खेलमा उनले आफ्नो करिअरका विभिन्न उतारचढाव सम्झिएका थिए । ‘आज कठिन भइरहेको छ । यति धेरै भावना छन्,’ उनले भने, ‘सबैभन्दा पहिले बुबाबारे सोच्छु ।’ अन्तर्राष्ट्रिय करिअरको सबैभन्दा महŒवपूर्ण पक्षका रूपमा उनले बुबासँगको सहकार्यलाई मानेका छन् ।
‘यहाँसम्मको यात्रामा बुबाको योगदान धेरै छ,’ अन्तिम खेल बुबालाई समर्पित गर्दै मेसीले भने, ‘आफ्नो सबैभन्दा खराब समयमा पनि बुबाको साथ पाएको थिएँ । उहाँले मलाई संघर्ष गर्न, लड्न र आफ्नो सबै कुरा दिन कहिल्यै छाड्नुभएन ।’
१० नम्बर जर्सीको चर्चा
राष्ट्रिय टोलीबाट आधिकारिक रूपमा अन्तिम खेल खेलेपछि अब मेसीले प्रयोग गर्दै आएको १० नम्बरको जर्सी आगामी दिनमा कसले लगाउने भन्ने प्रश्न छ । यसमा निको पाजको नाम अगाडि छ ।
स्पेनिस पत्रिका एएसले पाजलाई मेसीको सम्भावित उत्तराधिकारीकै रूपमा राखेको छ । बोलिभियाविरुद्धको खेलमा गोल र असिस्टका क्रममा पाजले मेसीकै झल्को दिएका थिए । एक सर्वेक्षणमा पाजलाई १० नम्बरको जर्सी दिनुपर्ने पक्षमा ५१.४१ प्रतिशत मत परेको छ । जसमा एन्जो फर्नान्डेज १५.०३, एलेक्सिस म्याक एलिस्टर ७.५१, फ्रान्को मास्टान्तुओनोले २.९३ र थियागो अल्माडाले २.५८ प्रतिशत मत पाएका छन् । पाजको समर्थनमा गोलरक्षक एमिलियानो मार्टिनेज छन् ।
मेसीको अनुपस्थितिमा पाजले नै १० नम्बरको जर्सी लगाएका थिए । इटालियन क्लब कोमोका लागि १० नम्बर लगाउने २२ वर्षीय पाज अहिले अर्जेन्टिनाको नयाँ पुस्ताको चम्किला खेलाडी हुन् । एक समय मेसीको १० नम्बरलाई सधैँका लागि रिटायर गर्ने भनिएको थियो । तर, फिफाका प्रतियोगितामा टोलीले १ देखि २६ नम्बरसम्मका जर्सी प्रयोग गर्नुपर्ने नियम बनाएको छ । यसकारण अर्जेन्टिनाले आधिकारिक प्रतियोगितामा १० नम्बर खाली राख्न सक्दैन ।
निलो जर्सीबाट जीवनभर खेल्ने चाहना
मेसीले बिदाइ कार्यक्रममा आफू जीवनभरि अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेलिरहन चाहेको समेत बताए ।
‘म जीवनभर खेलिरहन चाहन्छु, किनकि अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि खेल्नु तपाईंलाई हुन सक्ने सबैभन्दा सुन्दर पक्ष हो,’ उनले भने । ब्युनस आयसस्थित मोनुमेन्टल रंगशालामा उनले हजारौँ समर्थकलाई विशेष सम्बोधन गरेका थिए । ‘२० वर्षभन्दा बढी समय यो जर्सी लगाउन पाउनु मेरा लागि गर्वको विषय हो,’ उनले भने, ‘खेलजीवनमा भोगेका सबैभन्दा खराब क्षणमा पनि मैले कहिल्यै संघर्ष गर्न छाडिनँ र कहिल्यै पछि हटिनँ । अब यहाँ आउन नपाउनु पीडादायी हुनेछ ।’ उनले अर्जेन्टिनाका विभिन्न सहरमा समर्थकले दिएको साथ पनि सम्झिए । ‘देशभर यात्रा गर्ने भाग्यमानी भएँ । म जहाँ गएँ, तपाईंहरूले रंगशाला भरिदिनुभयो र हामीसँगै रहनुभयो,’ भावुक हुँदै उनले भने, ‘यो सम्मानका लागि सधैँ आभारी रहनेछु ।’