- लियोनल मेसी बुधबार अन्तिमपटक राष्ट्रिय टोलीबाट ब्युनस एरिस रंगशालामा उत्रँदा ८५ हजार १८ दर्शकले ऐतिहासिक क्षणको प्रत्यक्ष साक्षी बन्ने अवसर पाउनेछन् । टेलिभिजन र डिजिटल माध्यमबाट संसारभरका करोडौँ दर्शक यसमा जोडिनेछन् ।
विश्व फुटबलका आइकोनिक फुटबलर लियोनल मेसी बुधबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अन्तिमपटक जर्सीमा देखिँदै छन् । मेसीले २१ वर्षको राष्ट्रिय टोलीको यात्राका रूपमा करिअरकै अन्तिम खेल खेल्दै छन् । अर्जेन्टिनाले घरेलु मैदानमा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले राष्ट्रिय जर्सीमा अन्तिम उपस्थिति जनाउनेछन् । ब्युनस एरिसस्थित मोनुमेन्टल रंगशालामा बुधबार दक्षिण अफ्रिकी टोलीविरुद्ध हुनेछ । मेसीको अन्तिम खेल भएकाले टिकट बिक्री दुई घण्टामै सकिएको थियो । उनले एक महिनाअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका थिए । अर्जेन्टिना फुटबल संघले मेसीको सम्मानमा बिदाइ खेल आयोजना गरेको हो ।
यस खेललाई ‘लास्ट ट्यांगो’ नाम दिएको छ । रंगशालामा उपस्थित हुने ८५ हजार १८ जना दर्शकले ऐतिहासिक क्षणको प्रत्यक्ष साक्षी बन्ने अवसर पाउनेछन् । टेलिभिजन र डिजिटल माध्यमबाट संसारभरका करोडौँ दर्शक यसमा जोडिनेछन् । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले मेसीको बिदाइ क्षण सबै भावुक हुने जनाएका छन् । ‘मलाई लाग्छ मेसीसहित हामी सबैका लागि यो निकै भावुक क्षण हुनेछ । यो एक अविस्मरणीय दिन बन्नेछ,’ प्रशिक्षक स्कालोनीले भने, ‘मोन्युमेन्टलजस्ता पाँचवटा रंगशाला हुन्थे भने पनि ती सबै दर्शकले भरिने थिए ।’
मेसीको अन्तिम खेलसँगै फुटबलमा एउटा युगको अन्त्य हुने स्कालोनीले बताए । ‘मेसीले अतुलनीय केही छाडेर जाँदै छन् । मेरो नजरमा यो एउटा फुटबलको युग समाप्ति हो,’ उनले भने, ‘सम्भवतः अब फुटबल इतिहासमा उनीजस्तो खेलाडी पाउन मुस्किल पर्छ ।’ मेसीको प्रशंसा गर्दै स्कालोनीले भने, ‘हामी खेलिरहनुपर्छ, तर उनी मैदानमा हुँदा प्राप्त हुने अनुभूति विशेष छ । मेसीले जे गर्छन्, त्यो अरू कसैले गरेको देखेको छैन । हामीले त्यही कुरालाई मिस गर्नेछौँ ।’
स्कालोनीले मेसीलाई अर्जेन्टिनी टोलीका लागि उत्कृष्ट उदाहरणका रूपमा समेत प्रस्तुत गरे । उनका अनुसार मेसी प्रशिक्षणको क्रममा सबैभन्दा पहिला आउने खेल सकेपछि अन्तिम खेलाडीका रूपमा निस्कन्थे । ‘उनी कसरी आफ्नो ख्याल राख्छन् । सबै किसिमका खेललाई कसरी लिन्छन् भन्नेबाट हामीले सिक्नुपर्छ,’ स्कोलानीले भने, ‘उनी कस्तो व्यक्ति हुन् भन्ने देखिन्छ । उनी एक असाधारण उदाहरण हुन् ।’
सन् २००५ मा अर्जेन्टिनाबाट डेब्यु
मेसीले सन् २००५ मा अर्जेन्टिनी राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय करिअरमा उनले अर्जेन्टिनाबाट २०७ खेल खेलेका छन् । उनले १२५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् २०१६ देखि ०२६ सम्म राष्ट्रिय टोलीको नेतृत्व गर्दै मेसीले निलो र सेतो धर्का भएको अर्जेन्टिनी जर्सीको विश्व फुटबलमा एक उचाईमा पुर्याएका थिए ।
उनले ६८ असिस्ट गरिसकेका छन् । राष्ट्रिय टोलीबाट सन्न्यास लिए पनि मेसीको क्लब करिअर चलिरहनेछ । उनी एमएलएस क्लब इन्टर मियामीबाट खेलिरहेका छन् । इंग्लिस फुटबलर डेभिड बेकह्यामको लगानीमा रहेको मियामीमा मेसीको आगमनपछि क्लबले उपाधि जित्न थालेको हो । मेसीको मियामीमा आएपछि त्यहाँ फुटबल कल्चरको विकास भएको मानिन्छ ।
व्यक्तिगत उपलब्धिमा उनले कीर्तिमानी रूपमा आठपटक ‘बालोन डी’अर जितेका छन् । उनी दुईपटक फिफा विश्वकपका सर्वोत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ हात पारेका थिए । यसबाहेक उनले ६ पटक युरोपियन ‘गोल्डेनबुट’, दुईपटक कोपा अमेरिकाको सर्वोत्कृष्ट खेलाडी र पाँचपटक आइएफएफ विश्वको उत्कृष्ट ‘प्लेमेकर’जस्ता उपाधि हात पारेका छन् ।
विश्वकप र कोपा अमेरिका च्याम्पियन खेलाडी
सन् २०१४ देखि ०१५ सम्म अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय फुटबल उपाधि दिलाउन नसक्दा मेसी विक्षिप्त बनेका थिए । सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपको फाइनलमा जर्मनीबाट १–० ले पराजित हुँदा उनी निकै भावुक बनेका थिए । त्यसको लगत्तै कोपा अमेरिकासमेत गुमाउँदा उनले फुटबल छाड्ने मनसाय बनाए । तत्कालै मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट अप्रत्याशित रूपमा सन्न्यास लिए । त्यसवेला उनको सन्न्यास घोषणाले सबै स्तब्ध बने ।
तर, अर्जेन्टिनी समर्थकको आग्रहमा उनले सन्न्यास फिर्ता लिए । सन्न्यास फिर्ता लिएको एक दशकभित्रमा मेसीले अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सफलता दिलाए । अर्जेन्टिनाले सन् २०२१ र २०२४ को कोपा अमेरिका जित्दा उनी कप्तान थिए । मेसीको करिअरमा सबैभन्दा ठुलो सफलता भनेको विश्वकप उपाधि हो । सन् २०२२ मा कतारले आयोजना गरेको विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सलाई टाइब्रकेरमा हराउँदै मेसीले अर्जेन्टिनालाई सन् १९८६ पछि विश्वकप उपाधि दिलाए ।
टोलीलाई संगठित रूपमा अगाडि बढाएका उनले अर्जेन्टिनालाई दुई महिनाअघि अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको उपविजेता बनाए । लगातार दोस्रोपटक अर्जेन्टिनालाई फाइनल पुर्याएका मेसीले उपाधि दिलाउन नसक्दा माफी मागेका थिए ।
विश्वकप सकिएको केही सातापछि उनका बुबाको निधन भयो । उनका बुबा एजेन्टका रूपमा थिए । फुटबलमा हुने हरेक गतिविधिमा उनले आफ्ना बुबासँगै छलफल गर्थे । बुबाको निधनले मेसीले राष्ट्रिय टोलीको यात्रा अगाडि बढाउन नसक्ने जनाउँदै सन्न्यास घोषणा गरे ।
आर्थिक अभावमा हुर्केका मेसी
११ वर्षको उमेरमा मेसीको जीवनमा एउटा ठुलो चुनौती आयो । उनमा ‘ग्रोथ हर्मोन डेफिसेन्सी’ नामक रोग देखियो । यो उपचार अत्यन्त महँगो थियो । परिवारले खर्च धान्न नसकेपछि सन् २००० मा स्पेनिस क्लब बार्सिलोनाले उपचारको सम्पूर्ण जिम्मा लिएको थियो ।
बार्सिलोनाले बालक मेसीलाई आफ्नो चर्चित ‘ला मासिया’ एकेडेमीमा भिœयाएको थियो । त्यही निर्णय नै रोसारियोका ती साना बालक ‘महान् मेसी’ बन्ने यात्राको प्रस्थानविन्दु बन्यो । बार्सिलोनाबाट उदाएका मेसीले किशोर अवस्थामै आफ्नो अद्भूत खेल कौशलले सिंगो युरोपलाई चकित पारेका थिए । मेसीले आफ्नो समग्र खेल जीवनमा ४७ वटा प्रमुख उपाधि जितेका छन् । ओलम्पिक स्वर्ण, यू–२० विश्वकप, युइएफए च्याम्पियन्स लिग, स्पेनिस ला लिगा, फिफा क्लब विश्वकप, युइएफए सुपर कप, कोपा डेल रे, फ्रेन्च लिग वान र मेजर सकर लिग (एमएसएल)लगायतमा उपाधि हासिल गरेका छन् ।