आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अन्तिम सिजनका लागि ओमानमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले बुधबार एक मात्र अभ्यास खेलमा दुई विकेटको जित निकालेको छ । नेपालले ओमानको क्रिकेट एकेडेमी टर्फ २ मा ओमानकै ‘ए’ टोलीविरुद्ध प्रतिस्पर्धा गरेको थियो । सुरुवाती ब्याटिङ गरेको ओमान १६० रनमा अलआउट भयो । नेपालले १६१ रनको लक्ष्य पायो । तर, लक्ष्य कम हुँदा बढाएर २४० रन पछ्याउने गरी खेल्ने निर्णय गरिएको थियो ।
ओमान ‘ए’सँग औपचारिक खेल नभएकाले नेपाली टोलीले थप रन बनाएको हो । यस किसिमको अभ्यास खेलमा जित–हारले अर्थ राख्दैन । बढी लक्ष्य पाउँदा विश्वकप लिग २ को तयारीमा रहेको नेपाली ब्याट्सम्यानले क्रिजमा बढी समय बिताउने अवसर पाए । यस किसिमको प्रयोगमा ब्याट्सम्यान र बलरले नयाँ पिचबारे जानकारी लिन अवसर पाउँछन् । यस्तै, अभ्यासका कारण नेपालले २४० रनको नयाँ लक्ष्य पाएको हो ।
नेपालले ४८.४ ओभरमा आठ विकेट गुमाएर जित निकाल्यो । नेपालका लागि ईशान पाण्डेले सर्वाधिक ७२ रन बनाए । आसिफ शेखले ३७ रनको योगदान दिए । देव खनाल ३४ रनमा अविजित रहे । अलराउन्डर गुल्सन झाले ३० रन जोडे । टस हारेर ब्याटिङको निम्तो पाएको ओमान ‘ए’ले ३९.५ ओभरमा अलआउट हुँदै १६० रन बनाएको थियो । ओमानका लागि कप्तान हम्माद मिर्जाले सर्वाधिक ५४ रन बनाए । जिक्रिया इस्लामले ३५ तथा सञ्जु सजीवले ३४ रन बनाए ।
नेपालका लागि नन्दन यादवले पाँच ओभरमा १७ रन दिएर तीन विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट हात पारे । गुल्सन, ललित राजवंशी र साहब आलमले एक–एक विकेट लिए । ओमानमा आगामी सातादेखि नेपाल, ओमान र क्यानडा सम्मिलित लिग २ अन्तर्गतको एकदिवसीय सिरिज हुँदै छ । आसिफले ३४ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए । पूर्वकप्तान रोहित पौडेलले १० रन बनाए ।