धनुषामा ११ वर्षीया बालिका बलात्कारको मुद्दा मिलाउने चलखेल, चार दिनपछि अभियुक्त पक्राउ

बिहिबार, २५ भदौ, २०७७
डिजिटल संस्करण

धनुषामा १४ वर्षीया दलित बालिकालाई जबर्जस्ती करणी गर्ने ५६ वर्षीय वृद्ध पक्राउ परेका छन् । उजुरी परेको चार दिनपछि प्रहरीले लक्ष्मीनिया गाउँपालिका– २, सिनुरजोडाका बुधन भनिने बद्रीनाथ साहलाई बुधबार बेलुकी पक्राउ गरेको हो । 

उनले ती बालिकालाई चकलेटको प्रलोभन देखाई आफ्नो पसलमा बोलाएर भदौ २० गते बेलुका करिब ७ बजे जबर्जस्ती करणी गरेका थिए । प्रहरीका अनुसार साहले पसलमा रहेको चाउचाउका कार्टुन स्टोरमा पुऱ्याउन लगाई सटर लगाएर पछिपछि गई बन्द कोठामा बालिकामाथि जबर्जस्ती गरेको खुलेको छ । इलाका प्रहरीले उजुरी नलिएपछि परिवारले जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दिएका थिए । 

पीडितकी आमाले थाहा पाएपछि २१ भदौमै नजिकै रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी गरेकी थिइन् । तर, प्रहरी, स्थानीय जनप्रतिनिधि र छिमेकीले पैसामा मिल्न दबाब दिएका उनले गुनासो गरिन् । ‘दलित भनेर हाम्रो इज्जतमाथि खेल्ने कोसिस भयो, इलाका प्रहरीले पनि उजुरी लिएन, उल्टै गाउँमै मिल्नु भनेर दबाब दिए, २५ हजार रुपैयाँको प्रलोभन देखाए,’ नयाँ पत्रिकासँग उनले भनिन् ।

बलात्कारजस्तो जघन्य अपराध हुँदासमेत जनप्रतिनिधि, गाउँले र स्थानीय प्रहरीसमेत मिलेर गाउँमै मिलाउन खोजेको पाएपछि बिहीबार आफूहरूले प्रहरीलाई दबाब दिएको धनुषाका दलित अधिकारकर्मी चन्देश्वर दासले बताए । 

बिहीबार बेलुकी सादा पोसाकमा खटिएको प्रहरीले महोत्तरीको मठिहानीमा लुकिछिपि बसिरहेका साहलाई पक्राउ गरी धनुषा लगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए । 
 

सुझावित समाचार