ढोरपाटनको भुजीखोलामा आएको बाढी र पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २१ पुगेको छ । गत भदाै १७ गते राति पहिरोसँगै आएको बाढीमा परेका १७ जना अझै बेपत्ता भएका छन् ।
बेपत्ता भएकाहरूको खोजीकार्य जारी छ । बुधबार मात्रै एक महिला र एक पुरुषको शव बडिगाड गाउँपालिका- ६ स्थित बडिगाड खोलामा फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । दुवै शवको सनाखत हुन सकेको छैन । शवलाई बुर्तिवाङस्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

बाढीले क्षतविक्षत पारेको भुजीखोला बस्ती । तस्बिर : नारायण रिजाल /नयाँ पत्रिका
मंगलबार पनि दुईजना महिलाको बडिगाड खोलामा शव फेला परेको थियो । बडिगाड गाउँपालिका ६ र ७ नम्बर वडाको बडिगाड खोला किनारमा २५ वर्षीया कुमारी विक र २५ वर्षीया चनी विकको शव फेला परेकाे प्रहरी निरीक्षक भण्डरीले बताए ।
१९ जनाको शव पहिचानपश्चात् परिवारलाई जिम्मा लगाएर अन्त्येष्टि गरिसकिएको छ । अधिकांश शव बाढीले बगाएको गाउँभन्दा धेरै तल क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आफन्त र प्रहरीले बेपत्ताको खोजी कार्यलाई तीव्र बनाएका छन् ।
भुजीखोलामा आएको बाढीले ढोरपाटनका ८० घर बगाएको थियो । बाढीले भुजीखोलामा पर्ने ११ वटा विद्युत्गृह र नहर बगाउँदा ढोरपाटनका तीनवटा वडा अन्धकार बनेका छन् । बाढीले बुर्तिबाङ–ढोरपाटन सडकसमेत बगाएर यातायात अवरूद्ध हुँदा राहत वितरणमा कठिनाइ भएकाे छ ।
यस्तै बाढीले ढोरपाटन–९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको चारकोठे भवन, सरस्वती प्राविको दुईकोठे भवन, भुजीखोला लघु जलविद्युत् आयोजनाका पाँचवटा शाखामध्ये चारवटा भवन, सडकछेउमा पार्किङ गरेर राखेको जिपसमेत बगाएको प्रहरीले जनाएको छ ।