बाढी प्रभावितलाई ६ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने

बिहिबार, २९ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं/ राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. घर्मराज उप्रेतीले भोटेकोशी बाढी प्रभावितलाई ६ महिनाभित्र अस्थायी संरचना (आवास) मा स्थानान्तरण गरिने बताएका छन् ।

गत १० भदौको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, गोरखा र धादिङका पाँच हजार ११६ पीडित रहेको प्रारम्भिक तथ्यांकका आधारमा उनीहरूको स्थायी बसोबासको प्रबन्ध गर्नुपूर्व अस्थायी संरचना निर्माण गरी बसोबासको प्रबन्ध गरिने उनले बताए ।

नेपाल वातावरण पत्रकार समूहले बुधबार ललितपुरमा आयोजना गरेको ‘भोटेकोशी बाढी : पुनर्स्थापनाको सवाल’ विषयक हाकाहाकी बहसमा उप्रेतीले बाढी प्रभावितलाई तीन वर्षभित्रै स्थायी संरचना बनाएर हस्तारन्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।

‘स्थायी संरचना नबनुन्जेल प्रभावित अस्थायी संरचनामा रहनुहुन्छ । ती संरचना निर्माणका लागि तयारी गरिरहेका छौँ । राम्रो संरचना बनाउने भन्दा पनि सुरक्षित संरचनाका लागि कार्य गरिहेका छौँ,’ उनले भने ।

सरकारले बाढीले प्रभावित क्षेत्रमा सम्भावित जोखिमलाई मध्यनगर गरी बस्ती नबसाउने नीति लिएको जनाएको छ । प्रभावितहरूको पुनर्स्थापनाका लागि जग्गाको लेखाजोखाको काम नापी विभागबाट भइरहेको जनाइएको छ । प्राधिकरणसहित विभिन्न २४ वटा निकायसँगको समन्वयमा पुनर्स्थापनाबारे गृहकार्य अघि बढेको उप्रेतीले बताए ।

सुझावित समाचार