प्रादेशिक अस्पताल गाईघाटमा बेथिति : चिकित्सक बिदामा बसेपछि टिकट काटेका ४८ बिरामी उपचार नै नगरी फर्के

शुक्रबार, ३० असोज, २०८३
प्रिन्ट संस्करण

उदयपुर/ प्रादेशिक अस्पताल गाईघाटमा चिकित्सक नभेटिएपछि उपचारका लागि पुगेका चार दर्जनभन्दा बढी बिरामी उपचार नगराई घर फर्कन बाध्य भएका छन् । बिहानै ५० रुपैयाँ तिरेर ओपिडीको पुर्जा काटेका बिरामी घण्टौँ लाइनमा बसेपछि चिकित्सक बिदामा रहेको जवाफ पाएर फर्किएका हुन् ।

छालासम्बन्धी समस्या लिएर अस्पताल पुगेका त्रियुगा नगरपालिका– १२ का गोपालकृष्ण तिम्सिना पनि उपचार नपाई फर्किए । बिहान ८ बजे अस्पताल पुगेर एक नम्बर ओपिडीको पुर्जा काटेका उनी साढे १० बजेतिर पालो आएपछि चिकित्सक भेट्न कक्षमा पुगेका थिए । तर, त्यहाँ चिकित्सक नभएको भन्दै बाहिरको क्लिनिकमा जान सुझाइएपछि उनी घर फर्किको बताए । 

‘डाक्टर नै थिएनन् भने ५० रुपैयाँको पुर्जा किन काट्न लगाइयो ? काउन्टरबाटै चिकित्सक हुनुहुन्न भनेर जानकारी दिएको भए बिरामीको समय र पैसा दुवै जोगिन्थ्यो,’ तिम्सिनाले भने । उनले आफूले अस्पताल परिसरमै बसेर हेरिरहँदा झन्डै चार दर्जन बिरामीलाई निजी क्लिनिकमा जान सुझाव दिएको पाएको बताए । 

तिम्सिनाजस्तै हजुरआमाको घाँटीको समस्या लिएर पुगेका उदयपुरगढी गाउँपालिकाका रेसबहादुर पुलामी मगरलाई पनि निजी क्लिनिकमा जान सुरक्षा गार्डले सुझाव दिएपछि फर्केको बताए । उनले भने, ‘पुर्जा काटेर लाइनमा बसेका थियौँ । तर, घाँटीको उपचार गाईघाटको क्लिनिकमा हुन्छ । ढोकमा बस्ने मानिसले भनेपछि हजुरआमा लिएर फर्केँ । अनि नाक, कान र घाँटीको उपचार हुने ठाँउमा उपचार गरेर घर आएँ ।’

बिहीबार मात्र प्रादेशिक जिल्ला अस्पताल गाईघाटमा उपचारका लागि पुगेका बिरामीले चिकित्सक उपलब्ध नभएको जानकारी सुरुमै नदिँदा अनावश्यक सास्ती व्यहोर्नुपरेको गुनासो गरेका छन् । पुर्जा काटेर लामो समय लाइनमा बसेपछि मात्र चिकित्सक बिदामा रहेको जानकारी पाएको र बाहिरको क्लिनिकमा जान सुझाइएको दुःखेसो तिम्सिनाले सामाजिक सञ्जाल फेसबुकमै लेखेका छन् । 

अस्पतालको एक नम्बर ओपिडीमा एमडिजिपी चिकित्सक डा. रन्दीप राउतले बिरामी जाँच गर्दै आएका थिए । उनी बिहीबार बिदामा रहेकाले नियमित सेवा प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ । प्रादेशिक जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सन्तोष राईले चिकित्सक बिदामा हुँदा समस्या भएको बताए । उनले भने, ‘हामीसँग छात्रवृत्तिका चिकित्सकको भरमा चलाउनुपरेको छ । नाक, कान, घाँटी, छाला रोग विशेषज्ञ दरबन्दीमा भए पनि उपलब्ध छैनन् । त्यसकारण समस्या हुने गरेको छ ।’

राईका अनुसार डा. राउतको स्थानमा मेडिकल अधिकृत खटाइएको थियो । ‘पुर्जा वितरण गर्ने कर्मचारीलाई चिकित्सक भए–नभएको, सेवा भएको नभएको जानकारी नहुँदा समस्या भएको पनि बताए । उनले भने, ‘पुर्जा काट्ने काउन्टरका कर्मचारीलाई चिकित्सकको उपलब्धताबारे जानकारी दिने व्यवस्था मिलाउँछौँ । आगामी दिनमा यस्तो समस्या दोहोरिन नदिन सचेत भएर अघि बढ्छौँ ।’

चिकित्सक बिदामा बस्नु नियमित प्रक्रिया भए पनि त्यसको जानकारी बिरामीलाई समयमै दिनु अस्पताल प्रशासनको जिम्मेवारी हो । चिकित्सक उपलब्ध नभएको अवस्थामा वैकल्पिक उपचारको व्यवस्था र सेवाबारे स्पष्ट जानकारी नदिँदा बिरामीले समय र पैसा खर्च गरेर पनि उपचार नपाउने अवस्था छ ।

यसअघि जिल्ला अस्पतालले गत आर्थिक वर्षमा इन्डोस्कोपी मेसिन र जेनेरेटर खरिदका लागि कोशी प्रदेश सरकारले विनियोजन गरेको रकमसमेत खर्च नगरी फ्रिज गराएको थियो । हालसम्म प्रादेशिक जिल्ला अस्पताल गाईघाटमा इन्डोस्कोपी सेवा छैन भने, जेनेटर नहुँदा विद्युत् कटौती भएको समयमा अन्धकार हुने गरेको छ । 

सुझावित समाचार