कास्की/ मोटरसाइकलको ठक्करबाट बिहीबार पोखरामा चालक र एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने मोटरसाइकल चालक १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई पोखरा–१७ विरौटा बस्ने ४५ वर्षीय पैदलयात्री कृष्ण कुमाल रहेका कास्की प्रहरीले जानकारी दिएको छ।
बालोदय चोकस्थित सिद्धार्थ राजमार्ग (पोखरा–बुटवल सडकखण्ड)मा विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक र पैदलयात्री घाइते भएका थिए। घाइते दुवैजनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।