विराटनगर । भिजिट भिसामा नेपाल आएर कानुनविपरीत धर्म प्रचारमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले २४ दक्षिणी कोरियाली नागरिकलाई नियन्त्रणमा लिएको छ।
मोरङको सुन्दरहरैँचा नगरपालिका– ७, मालती मार्गस्थित क्रिश्चियन शैक्षिक संस्था ‘नेपाल न्यु कोभेनन्ट कलेज’को धार्मिक प्रशिक्षण कार्यक्रममा सहभागी भएपछि उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिएर मोरङ प्रहरीले अध्यागमनमा बुझाउन काठमाडौं पठाएको हो।
मोरङका एसपी कवित कटुवालका अनुसार टुरिस्ट भिसामा १२ दिन बस्ने गरी मोरङको सुन्दरहरैंचा आइपुगेका उनीहरू क्रिश्चियन लगानी भएको उक्त कलेजको धार्मिक कार्यक्रममा सहभागी भएको पाइएको छ। उनले भने, ‘उनीहरू आगामी अक्टोबर १२ सम्म मोरङमै बस्ने कार्यतालिका थियो, तर हामीले कानुनविपरीत गतिविधि भइरहेको सूचना पाएपछि नियन्त्रणमा लिएर शुक्रबार साँझै अध्यागमनमा बुझाउन काठमाडाैं पठाएका हौँ।’
मोरङका सहायक सिडिओ सरोज कोइरालाका अनुसार पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकहरू कुनै पनि किसिमको धार्मिक शिक्षा, तालिम वा प्रचारप्रसारमा संलग्न हुन नपाउने कानुन छ। तर, पर्यटक भिसामा आएका विदेशी नागरिकहरू कानुनविपरीत धर्मको प्रचारप्रसारमा संलग्न भएको सूचना आएपछि प्रशासनको निर्देशनमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रशासनले दुई दिनसम्म उनीहरूको गतिविधि सूक्ष्म रूपले निगरानी गरेको थियो। निगरानीका क्रममा उनीहरू अवैध गतिविधिमा संलग्न भएको पाइएको कोइरालाले जानकारी दिए। ‘अध्यागमन नियमावली २०५१ को नियम २० को उपनियम (२) बमोजिम पर्यटक भिसाको दुरुपयोग गरेको देखिएकाले थप अनुसन्धान र कानुनी कारबाहीका लागि शुक्रबार साँझ साढे ६ बजेको जहाजबाट काठमाडौं पठाएका छौं,’ उनले भने।
पछिल्लो एक महिनाभित्र मोरङ प्रशासनले पर्यटक भिसामा आएर विराटनगरमा व्यापारमा संलग्न दुई चिनियाँ नागरिकलाई पनि नियन्त्रणमा लिएर अध्यागमनमा बुझाएको थियो।