कास्की/ जिल्लामा सञ्चालनमा रहेका धेरै विद्यालय बसहरू ठिक अवस्थामा नरहेको भेटिएको छ। ट्राफिक व्यवस्थापन तथा सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय कास्कीले गरेको छड्के चेकजाँचका क्रममा विद्यालयका बसहरूको सामान्य अवस्थासमेत ठिक नभएको भेटिएको हो।
कास्कीका ८५ वटा विद्यालयका बसको अवस्था चेकजाँच गर्दा अवस्था ठिक भएको एउटा बस पनि नभेटिएको जिल्ला ट्राफिक कार्यालयका सूचना अधिकारी वरिष्ठ सइ एकनाथ पाठकले जानकारी दिए। उनका अनुसार चेकजाँचका क्रममा ८५ बसमध्ये २८ वटा बसलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको र अन्य ५७ वटा बसलाई सम्झाइबुझाइ छाडिएको छ।
चेकजाँचका क्रममा बसको यान्त्रिक अवस्था, सिट क्षमता र विद्यार्थी संख्या, मादक पदार्थ सेवन गरे-नगरेको, आवश्यक कागजात साथमा लिए-नलिएको, बिमा गरे-नगरेको, प्रदूषणलगायतको अवस्था ठिक रहे-नरहेको हेरिएको पाठकले बताए।
चेकजाँचमा सवारीसाधन ‘कन्डिसन’मा नभएका, ब्लुबुक नवीकरण नगरेका, सिटको अवस्था राम्रो नभएका, बिमा नवीकरण नगरेका, प्रदूषण चेकजाँच फेल भएका, कागजपत्रहरु साथमा नलिएका, झ्यालढोकाको अवस्था ठिक नभएका, झ्यालढोका टुटेफुटेको अवस्थामा रहेका र सवारी जाँचपास नगरेका भेटिएको पाठकले जानकारी दिए।
चालकहरूले कहिलेकाहीँ मादक पदार्थ सेवन गरेर बस चलाउने र बसको सामान्य अवस्था समेत ठिक नहुनु हदैसम्मको लापरबाही रहेको उनले बताए। विद्यालयका मात्र नभएर यात्रु बोक्ने सार्वजनिक, निजी तथा सरकारीसँगै अन्य सवारीसाधनको चेकजाँचलाई समेत कडा पारिएको उनले बताए।