मकवानपुर/ बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ प्रतिस्पर्धा गरेका ८९ उम्मेदवारमध्ये तेस्रो स्थानमा रहँदै उनी केन्द्रीय कार्यसमितिमा पुगेका हुन् ।
कांग्रेस मकवानपुरको सभापति, बागमती प्रदेश सभापति, प्रदेश संसदीय दलको नेता र मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका बानियाँले निर्वाचित भएपछि पार्टीलाई थप बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । महाधिवेशन प्रतिनिधिले दिएको मतलाई उनले आफ्नो राजनीतिक जीवनको पुँजी र सबैलाई एकताबद्ध बनाउने जिम्मेवारीका रूपमा लिएको बताएका छन् ।
‘ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई आगामी दिनमा अझ बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न यहाँहरूले प्रदान गर्नुभएको अमूल्य अभिभारा सदा निर्वाह गर्ने प्रतिबद्धता र संकल्प व्यक्त गर्दछु,’ बानियाँले भनेका छन् ।
उनले महाधिवेशनमा प्राप्त विश्वासलाई व्यक्तिगत सफलतासँगै पार्टी निर्माणको अभिमतका रूपमा व्याख्या गरेका छन् । ‘सबैलाई गोलबद्ध गर्दै अझ बलियो नेपाली कांग्रेस निर्माण गर्न महाधिवेशन प्रतिनिधिहरूबाट व्यक्त ऐतिहासिक अभिमत हो भन्ने मैले महसुस गरेको छु,’ उनले भनेका छन् ।
राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका निर्णायक बनाउन पार्टीभित्र रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै बानियाँले कांग्रेसलाई न्यायमुखी, आयमुखी, गरिबमुखी, विकासमुखी, गाउँमुखी र जनमुखी बनाउन अहोरात्र क्रियाशील रहने प्रण गरेका छन् ।
विद्यार्थी राजनीतिबाट जिल्ला र प्रदेशको नेतृत्वसम्म
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीका बानियाँ २०४४ सालदेखि राजनीतिमा सक्रिय छन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल हुँदै पार्टी राजनीतिमा अघि बढेका उनी महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यपछि २०७३ सालमा कांग्रेस मकवानपुरको सभापति बनेका थिए ।
२०७८ मंसिरमा भएको कांग्रेसको पहिलो बागमती प्रदेश अधिवेशनबाट उनी प्रदेश सभापतिमा निर्वाचित भए । संगठन सञ्चालनसँगै बानियाँले उम्मेदवार छनोटमा कार्यकर्ताको सहभागिता बढाउने विषय उठाउँदै आएका थिए । २०८१ चैतमा ललितपुरमा आयोजित प्रशिक्षणमा उनले टिकट वितरणमा कार्यकर्ताको अधिकतम सहभागिता सुनिश्चित हुने गरी पार्टी विधान संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
संसदीय राजनीतिमा बानियाँ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर–१ बाट निर्वाचित भएका थिए । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका बानियाँ त्यसपछि उनी २०७४ र २०७९ को निर्वाचनमा मकवानपुर–२ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भए ।
२०७४ मा कांग्रेसको प्रदेश संसदीय दलको नेता बनेका बानियाँ २०८२ साउन २० गते बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २०८३ भदौ १ गतेसम्म प्रदेश सरकारको नेतृत्व गरे । बानियाँ नेतृत्वको सरकारले प्रशासनिक खर्च घटाउने उद्देश्यसहित मन्त्रालय संख्या १४ बाट आठमा झारेको थियो ।
विपन्न परिवारका विद्यार्थीलाई चिकित्सा र इन्जिनियरिङलगायत प्राविधिक उच्च शिक्षामा पहुँच पुर्याउने कार्यक्रम पनि उनको नेतृत्वको सरकारले अघि बढाएको थियो । बानियाँको पालाबाट बागमती प्रदेशमा कार्यविधि बनाएरै विपन्न तथा दलित परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिन थालिएको छ ।
आर्थिक अवस्थाका कारण प्राविधिक शिक्षा पढ्न नसक्ने विद्यार्थीको अभिभावक प्रदेश सरकार बन्ने उद्देश्य रहेको उनको भनाइ थियो । प्रदेश सरकारको नेतृत्व गर्दा अघि सारेका गरिबमुखी, आयमुखी र न्यायमुखीलगायतका प्राथमिकतालाई बानियाँले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टी रूपान्तरणको प्रतिबद्धतासँग जोडेका छन् । महाधिवेशनको अभिमतलाई सधैँ हृदयमा राखेर कांग्रेसलाई जनताका आवश्यकता र अपेक्षासँग जोड्न क्रियाशील रहने उनको संकल्प छ ।