लहान । सिराहाको लहान नगरपालिका– २३, तिलेबोना गाउँनजिक पर्ने बलान खोलामा पौडी खेल्ने क्रममा बिहीबार दिउँसोदेखि डुबेर बेपत्ता भएका बालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बिहीबार दिउँसो करिब ३ बजेतिर गाउनजिकै पर्ने खोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका स्थानीय रामउदगार महतोका छोरा करिब आठ वर्षीय अभिनन्दन महतोको खोजीका लागि शुक्रबार बिहान सबेरैदेखि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी ३५ जना सरक्षाकर्मी खटिएका छन् ।
सप्तरीतर्फबाट बलान नदीको पानी सिराहाको तिलोबेनातिर नदीको भित्तामा ठोक्किँदा पानी घुमेर करिब १८ फिटसम्म गहिरो भएकाले खोज्न समस्या भइरहेको इलाका प्रहरी कार्यालय महेशबारीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक सिकिन्द्र साहले जानकारी दिए ।
‘बेपत्ता बालकको खोजीका लागि स्थानीय बासिन्दाले माछा मार्न प्रयोग गर्ने महाजाल, सशस्त्र प्रहरीको रबरको डुंगामार्फत बिहीबार साँझसम्म खोजी गर्यौँ, तर भेटिएन,’ उनले भने, ‘सशस्त्र प्रहरीको गोताखोर टोली आउँदै छ, अब त्यही टोलीमार्फत खोजी हुन्छ ।’ प्रहरीका अनुसार बिहीबार दिउँसो जोगेन्द्र महतोका छोरा करिब १२ वर्षीय राजु महतो, अभिनन्दनसहित उमेश महतोका छोरा करिब १० वर्षीय अमर महतो बलान खोलामा पौडी खेल्ने क्रममा राजुको डुबेर मृत्यु भएको थियो भने अभिनन्दन अझै बेपत्ता छन् ।
बालक खोलामा डुबेको सूचना पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजतलास गर्ने क्रममा अपराह्न करिब ४ बजेतिर राजुको शव भेटिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा शव पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।