धनीलाई थाहै नदिई एक रोपनी जग्गा बिक्री : वडाध्यक्ष र १० कर्मचारीसहित१६ जनाविरुद्ध मुद्दा दायर

सोमबार, २६ असोज, २०८३
प्रिन्ट संस्करण
धनीलाई थाहै नदिई एक रोपनी जग्गा बिक्री  : वडाध्यक्ष र १० कर्मचारीसहित१६ जनाविरुद्ध मुद्दा दायर

धु्रवनारायण मानन्धर वडाध्यक्ष

वडा, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयका कर्मचारीकै मिलेमतोमा काठमाडौंको ताहाचलस्थित एक रोपनी जग्गा धनीलाई थाहै नदिई बिक्री भएको छ । यो घटनामा प्रहरीले वडाध्यक्ष र कर्मचारीसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

नक्कली जग्गाधनी खडा गरी सक्कल धनीकै नाममा राष्ट्रिय परिचयपत्रसमेत बनाएर यसरी जग्गा घोटाला भएको हो । अमेरिका बस्ने सुमित अडुकिया अग्रवालको जग्गा बिचौलिया समूहले बिक्री गरेको हो । यसरी झुक्किएर जग्गा किन्ने दीपककुमार अग्रवालले उजुरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विस्तृत अनुसन्धान गरेको हो । 

जग्गा बिक्री घटनामा काठमाडौं महानगरपालिका– १३ का वडाध्यक्ष धु्रवनारायण मानन्धरलाई पक्राउ गरी मुद्दा दायर गरिएको छ । कलंकी मालपोतका अधिकृत टीकाबहादुर कुँवर क्षेत्री, भूमि प्रशासन कार्यालय कलंकीका भूमि प्रशासन अधिकृत रोशन केसी, भूमि प्रशासन कार्यालय चितवनका नासु ईश्वरबन्धु गौतम, मालपोत कलंकीका तत्कालीन खरिदार हाल सिन्धुपाल्चोक जिल्ला प्रशासनका कार्यरत पूजा लामिछानेविरुद्ध मुद्दा दायर भएको छ । 

त्यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंका नासु रामराज पोखरेल, ज्यालादारी कर्मचारी राधिका ढुंगेल, काठमाडौं महानगरपालिका १३ नम्बर वडाका अधिृकत पदमबहादुर थापा, भूमि प्रशासन कार्यालय कलंकीका नासु चूडामणि पराजुली, रुद्रबहादुर वली र दीपकराज नेपालविरुद्ध मुद्दा दायर भएको हो । 

त्यस्तै, बिचौलिया राजन सिंघानिया, वकिलबहादुर चौधरी, मुस्ताफा आलम, मीनबहादुर रोका र राजाराम थापाविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध ठगी, लिखत किर्ते र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण कसुरअनुसार शुक्रबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो । 

जग्गा घोटाला प्रकरणका नाइके राजन सिंघानिया भएको र उनी फरार रहेको प्रहरीले जनाएको छ । सिआइबीका प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार सिंघानिया जग्गाधनी सुमितकी आमालाई बिल तिर्नेलगायत काममा सहयोग गर्ने व्यक्ति हुन् । ‘उनले सुमितको घरबाट नागरिकता चोरेर त्यसैको आधारमा नक्कली राष्ट्रिय परिचयपत्र बनाएको देखिन्छ,’ उनले भने, ‘यसमा कर्मचारीहरूको पनि मिलेमतो देखिछ ।’ 

अग्रवालको उजुरीअनुसार आफ्ना छिमेकी वकिल चौधरी र मीनबहादुर रोकाले जग्गा खरिदका लागि भारतीय नागरिक मुस्ताफा आलमसँग भेटाइदिएका थिए । आलमका साथी बताउने अमित अग्रवाल (वास्तविक नाम राजन सिंघानिया)ले आफ्नो दाइ सुमित अडुकिया अमेरिका बस्ने र उनको जग्गा बिक्री गर्न लागेको भन्दै सबै कागजपत्र देखाए ।

उनीहरूबिच नौ करोड ८० लाखमा जग्गा खरिद–बिक्री गर्ने तय भयो । सोहीअनुसार उनीहरूले एक व्यक्तिलाई सुमित अडुकियाका रूपमा प्रस्तुत गरी सेटिङ मिलाएर उनको नाममा राष्ट्रिय परियचपत्र बनाए । वडा कार्यालयबाट सिफारिस बनाउनेदेखि मालपोतबाट पास गराउने काम भयो । २७ माघ ०८२ मा जग्गा कलंकी मालपोतबाट पास भएको थियो ।

जग्गा पास भएको लामो समयसम्म वास्तविक जग्गाधनी तथा जग्गा खरिद गर्ने दुवैले थाहा पाएका थिएनन् । जग्गा खरिदकर्ता अग्रवालले सो जग्गा बिक्रीका लागि पहल थालेपछि मात्र त्यसपछि बाहिर आएको हो ।

उनले जग्गा बिक्रीका लागि सुमेश गर्गसँग कुरा गरे । गर्ग जग्गा हेर्न जाँदा त्यो जग्गा आफ्ना साथी सुरेश अडुकियाको भएको थाहा पाए । अमेरिकामा रहेका अडुकियालाई जग्गा बिक्री गरेको बारे जिज्ञासा राख्दा बिक्री नै नगरेको बताएपछि ठगीको विवरण बाहिर आएको हो । 

विगतमा पनि जग्ग धनीलाई थाहै नदिई जग्गा बिक्री हुने गरेका थिए । यसपटक भने सेटिङका आधारमा राष्ट्रिय परिचयपत्रसमेत बनाएर काम भएको छ । यसका लागि वडादेखि मालपोत कार्यालयसम्म सेटिङ भएको प्रहरीको दाबी छ । प्रहरीले वडाध्यक्ष मानन्धर तथा कलंकी मालपोतका कर्मचारीलाई पक्राउ गरी अनुसन्धान गरेकोमा उनीहरूलाई हाजिरी जमानीमा छाडेर मुद्दा दायर गरेको हो । 

सुझावित समाचार