अमेरिकी सेनालाई अरब सागरबाट धपाइनेछ : खामेनी

आइतबार, २५ असोज, २०८३
प्रिन्ट संस्करण

तेहरान/ इरानका सर्वोच्च नेता मोजताबा खामेनीले इरानी सेनाले ‘शत्रु’लाई दक्षिणी इरानको जलक्षेत्रबाट धपाएर अरब सागरसम्म पुर्याएको दाबी गरेका छन् । इरानको सशस्त्र बलका प्रवक्ता मोहम्मद अक्रामिनियाले इरान अमेरिकासँगको मुठभेडका लागि तयार रहेको बताइरहेका वेला खामेनीको दाबी आएको हो । अमेरिकी सेनालाई अरब सागरबाट पनि धकेल्ने उनले दाबी गरे ।

इरान–इराक युद्ध तथा सन् २०२४ मा इजरायलद्वारा हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्या भएको वार्षिकीको अवसरमा जारी सन्देशमा खामेनीले भने, ‘हाम्रा वीर लडाकु र हर्मुज जलसन्धिको सुरक्षा गर्नेबाट पीडादायी प्रहार खेपेपछि उनीहरू अरब सागरभन्दा अगाडि बढ्ने आँट गर्दैनन् ।’ उनले अगाडि थपे, ‘उनीहरूले आफैँलाई मात्र हानि पुर्याएका छन् । र, त्यो समय नजिकिँदै छ, जब उनीहरू अरब सागरबाट पनि पछाडि हट्नुपर्ने अवस्था आउँछ ।’

इरानी सञ्चारमाध्यमले मोजताबा खामेनीको एउटा लिखित सन्देश प्रकाशित गरे, जसमा भनिएको थियो, ‘कसै–कसैले हामीलाई विश्वको चौथो महाशक्तिका रूपमा हेर्छन् ।’ यो सन्देश मोजताबा खामेनीको एक्स  ह्यान्डल र टेलिग्राम च्यानलमा पनि विभिन्न पोस्टमार्फत साझा गरिएको थियो । यसअघि ट्रम्पले युद्ध अन्त्य गर्ने, होर्मुज जलसन्धि पुनः सञ्चालनमा ल्याउने र आणविक वार्ता पुनः सुरु गर्ने विषयमा इरानले अघि सारेको सातदिने कार्ययोजनाको प्रस्तावलाई ठाडै अस्वीकार गरेका थिए । 

सुझावित समाचार