किन्सासा/ ‘डेमोक्रेटिक रिपब्लिक अफ कंगोे (डिआरसी)’मा देखिएको इबोलाको प्रकोप देशको पूर्वी क्षेत्रको अर्को स्वास्थ्य क्षेत्र (हेल्थ जोन)मा पनि फैलिएको छ । उता छिमेकी केन्यामा बाहिरबाट आएको संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएपछि सीमापारि रोग सर्ने जोखिम उजागर भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अक्टोबर ८ मा जारी गरेको अद्यावधिक विवरणअनुसार, ‘नर्थ किभु’ प्रान्तको अलिम्बोन्गो स्वास्थ्य क्षेत्रमा पहिलोपटक संक्रमितको पहिचान भएको छ । अक्टोबर ६ सम्ममा त्यहाँ दुईजनाको मृत्युसहित चारजनामा संक्रमण पुष्टि भइसकेको थियो ।
यो प्रकोप इबोला भाइरसको एक प्रकार ‘बुन्डिबुग्यो भाइरस’का कारण फैलिएको हो । डब्लुएचओका अनुसार, डिआरसीका सात प्रान्तहरूमा रहेका ६४ स्वास्थ्य क्षेत्रहरूमा संक्रमण देखिएको छ । कुल संक्रमितको संख्याका आधारमा इतुरी प्रान्त सबैभन्दा बढी प्रभावित देखिएको छ भने नर्थ किभुमा नयाँ पुष्टि भएका संक्रमितहरूको संख्या बढ्दो क्रममा छ ।
अक्टोबर ६ सम्ममा, डब्लुएचओले डिआरसीमा ८,७२८ जनामा संक्रमण पुष्टि भएको र ४,२०५ जनाको मृत्यु भएको तथ्यांक संकलन गरेको थियो । साथै, २,२६९ जना संक्रमित भने निको भएका घर फर्किएको संस्थाले जनाएको छ । हालसम्म यस रोगबाट हुने मृत्युदर (केस फ्याटालिटी रेसियो) ४८.२ प्रतिशत रहेको देखिन्छ ।
डब्लुएचओका अनुसार, केन्याले अक्टोबर ६ मा बुन्डिबुग्यो भाइरसको संक्रमण देशबाहिरबाट आएको पहिलो संक्रमितको पहिचान गरेको छ । डिआरसीमा बस्दै आएका केन्याली नागरिक रहेका ती बिरामी उतै बिरामी परेको केन्याको स्वास्थ्य अधिकारीले जनाएका छन् । ती व्यक्तिले युगान्डा हुँदै केन्यामा फर्किने क्रममा बिरामी भएकाले विभिन्न स्वास्थ्य संस्थाहरूमा उपचार गराएको बताइएको छ ।
ती बिरामी सडकमार्ग हुँदै युगान्डाको कम्पाला पुगेका थिए । त्यसपछि हवाईमार्गबाट अक्टोबर ३ मा नैरोबी आइपुगेका थिए । अस्पतालमा आइसोलेसनमा राखिएका ती बिरामीमा भाइरसको संक्रमण पुष्टि भएको थियो । उनलाई विभिन्न सहायक उपचार (सपोर्टिभ ट्रिटमेन्ट) दिइए तापनि अक्टोबर ५ मा उनको मृत्यु भएको डब्लुएचओले जनाएको छ ।
केन्याली अधिकारीहरूले संक्रमण पुष्टि भएका व्यक्तिको परिवारका सदस्य र उनको उपचारमा संलग्न स्वास्थ्यकर्मी गरी कुल २८ जना उनको सम्पर्कमा आएको व्यक्तिको पहिचान गरेका छन् । डब्लुएचओले अहिले नैरोबीको उडानका क्रममा उनीसँगै जहाजमा रहेका यात्रु र चालक दलका सदस्यहरूको खोजी गर्ने प्रयास भइरहेको जानकारी दिएको छ ।
यो घटना बाहिरिएसँगै ती व्यक्ति गएको हुन सक्ने सबै ठाउँमा उनको सम्भावित सम्पर्कमा आएका व्यक्तिहरूको खोजी (कन्ट्याक्ट ट्रेसिङ) र निगरानी बढाउनेलगायतका जनस्वास्थ्यसम्बन्धी उपायहरू अपनाउन थालिएको छ । यसमा केन्या र युगान्डाका अधिकारी सक्रिय रहेको बताइएको छ ।
देशबाहिरबाट भित्रिएको पछिल्लो संक्रमणको घटनाले निगरानी र छिमेकी देशहरूबिचको समन्वयको महत्वलाई थप उजागर गरेको छ । संक्रमणको जोखिममा परेका व्यक्तिहरूको पहिचान गर्नु र उनीहरूमा लक्षणहरू देखिए/नदेखिएको निगरानी गर्नु संक्रमणको शीघ्र पहिचान र थप प्रसार रोक्नका लागि अत्यन्त महत्वपूर्ण हुन्छ ।
बेनी क्षेत्रका एक सामुदायिक नेता अल्बर्टो लुसेन्गेले बताएअनुसार इतुरी प्रान्तमा संक्रमणलाई सुरुमै रोक्न नसक्नु, त्यसपछि बेनी र बुटेम्बोमा नयाँ घटनाहरू देखिनु र प्रतिकार्यमा खटिएका कर्मचारीहरूमाथि आक्रमण हुनुले जनमानसमा चिन्ता बढाएको छ ।
अविश्वासका कारण स्थानीय बासिन्दाहरू लक्षणबारे जानकारी दिन वा स्वास्थ्यकर्मीहरूसँग सहकार्य गर्न निरुत्साहित हुन सक्ने लुसेन्गेले चेतावनी दिए । अधिकारीहरूले स्थानीय समुदायबाट बलियो समर्थन हासिल नगर्न नसके नर्थ किभु क्षेत्र प्रकोपको मुख्य केन्द्र बन्न सक्ने उनले चिन्ता व्यक्त गरे ।
सम्पर्क पहिचान (कन्ट्याक्ट ट्रेसिङ) प्रक्रियाले स्वास्थ्य अधिकारीहरूलाई संक्रमणको जोखिममा परेका व्यक्तिहरू पत्ता लगाउन, उनीहरूमा लक्षणहरूको निगरानी गर्न र संक्रमणको शीघ्र पहिचान गर्न मद्दत गर्छ । तर, अविश्वासले सम्भावित सम्पर्कमा आएका व्यक्ति ‘फलो–अप’मा नआइदिँदा संक्रमणको शृंखला पहिचान गर्न र त्यसलाई तोड्न कठिनाइ उत्पन्न गर्न सक्छ । स्वास्थ्यकर्मीबिच कायम अविश्वासबिच अफ्रिकाको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ले समुदायकेन्द्रित प्रतिकार्यको आह्वान गरेको छ ।