राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आगामी १६ देखि २७ मंसिरसम्म कर्णाली प्रदेशमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ । राष्ट्रिय प्रतियोगिताका लागि खेलस्थल तथा व्यवस्थापनको तयारी अघि बढाइएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आइतबार प्रतियोगिता आयोजनास्थलको निरीक्षण र मूल आयोजक समितिसँग छलफल गरेका छन् ।
मन्त्री पोखरेलको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीलगायत सम्बन्धित निकायका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता थियो । वीरेन्द्रनगरमा बसेको मूल आयोजक समितिको बैठकले प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता गराउने निर्णय गरेको छ । बैठकले दसौँ राष्ट्रिय खेलकुदमा ३२ खेल विधामा प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।
तीमध्ये २० खेल सुर्खेतमा हुनेछ । यसैगरी, अन्य १२ खेल विभिन्न जिल्लामा हुनेछन् । आठ खेल सुर्खेतबाहिर हुनेछ । चार खेल सुर्खेतसहित अन्य स्थानमा पनि सञ्चालन हुनेछन् । बैठकले प्रतियोगिता सञ्चालनका लागि प्राप्त बजेट तथा खर्च नम्र्सअनुसार खर्च गर्ने निर्णय ग¥यो । साथै प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनको आवश्यक कार्य अघि बढाउने निर्णय भएको मन्त्री पोखरेलले बताए । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ बमोजिम विषयगत उपसमिति गठन गर्ने निर्णय भएको छ । दसौँ राष्ट्रिय खेलकुदमा ६ हजार पाँच सय खेलाडी तथा अफिसियल गरी नौ हजारको सहभागिता रहनेछ ।
‘निर्धारित समयमै प्रतियोगिता हुन्छ’
०७९ कात्तिकमा कर्णालीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको झन्डा बोकेको थियो । नियमअनुसार प्रत्येक दुई वर्षमा हुनुपर्ने प्रतियोगिता चार वर्षमा पनि हुन सकेन । पटक–पटक मिति सरिरहँदा यसपालि पनि शंका छ । तर, मन्त्री पोखरेलले घोषित मितिमै सफलतापूर्वक प्रतियोगिता आयोजना हुने दाबी गरे । ‘पटक–पटक मिति सरेकाले शंका गर्नु स्वाभाविक हो, तर यसपालि प्रतियोगिता निर्धारित समयमै हुन्छ,’ उनले भने ।
बजेट ४४ करोड ८० लाख रुपैयाँ
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले राष्ट्रिय खेलकुदका लागि ४४ करोड ८० लाख बजेट विनियोजन भएको जानकारी दिए । तर, मेहताले प्रतियोगिता आयोजना गर्न प्राप्त बजेट अपुग भएको जनाए । उनले प्रतियोगिता आयोजनाका लागि ७१ करोड बजेटमा सहमति भएको बताए । उनले कर्णालीमै हुने पारा राष्ट्रिय खेलकुदका लागि तीन करोड ५० लाख बजेट विनियोजन भएको जानकारी दिए । प्रतियोगिता आगामी १५ पुसदेखि सुरु हुनेछ ।
कुन खेल कहाँ ?
सुर्खेत : एथलेटिक्स, कुस्ती, ब्याडमिन्टन, कबड्डी, बक्सिङ, कराँते, बास्केटबल, फुल कन्ट्याक्ट कराँते, क्रिकेट, फुटबल, ह्यान्डबल, हक्की, इ–स्पोर्टस्, स्क्वास, रग्बी, साइकलिङ, तेक्वान्दो, भलिबल, उसु र सेपाकताक्रो
दैलेख : आइटिएफ तेक्वान्दो, बुद्धिचाल
सल्यान : टेबुलटेनिस
पश्चिम रुकुम : खो–खो
नेपालगन्ज : सुटिङ, पौडी, टेनिस,
जुम्ला : आर्चरी
सुर्खेत, कालीकोट : शारीरिक सुगठन
सुर्खेत, जाजरकोट : जुडो
सुर्खेत, दैलेख : जिम्न्यास्टिक
नेपालगन्ज, सुर्खेत : भारोत्तोलन