- खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै क्रिकेट र फुटलबका गरी २७ वटा रंगशाला र कभर्डहल बनाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बिच सम्झौता
सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर २७ वटा खेलमैदान तथा कभर्डहल निर्माण गर्ने भएको छ । निमार्ण कार्य अगाडि बढाउन शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भइसकेको जानकारी दिएका छन् ।
सिंहदरबारमा सोमबार आयोजित मन्त्रिपरिषद्को नियमित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले परियोजनाले मुलुकको खेलकुद क्षेत्रमा ठुलो परिवर्तन ल्याउने बताए । ‘प्रारम्भिक चरणमा देशभरका विभिन्न स्थानमा छनोट गरिएका समग्रमा २७ वटा रंगशालाका साथै कभर्डहल निर्माण गरिनेछ,’ उनले भने । पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बिच भएको यस समझदारीले लामो समयदेखि थन्किएका खेलकुद आयोजनालाई गति दिने अपेक्षा गरिएको उनले जनाए ।
मन्त्री पोखरेलले देशभरका सबै रंगशालाको स्तरोन्नति एकैपटक गर्न बजेट तथा प्राविधिक सीमितता रहे पनि २७ वटा महŒवपूर्ण आयोजनाबाट थालनी गर्नु सकारात्मक भएको उल्लेख गरे । ‘पूर्वाधार विकास मन्त्रालय र परिषद्बिच हालै एमओयू भएको छ । त्यसअन्तर्गत देशभर २७ वटा क्रिकेट तथा फुटबल मैदान र कभर्डहल निर्माण गर्ने योजना अघि बढाइएको छ,’ उनले भने, ‘देशभरका सबै खेल पूर्वाधार एकैपटक निर्माण गर्न सम्भव नभए पनि २७ वटा आयोजनाबाट सुरु गर्ने लक्ष्य छ ।’