धनगढी/ धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी १०औँ संस्करणको एसपिए लिटल फ्लावर प्राइड लिगअन्तर्गत सोमबार भएका खेलमा अनिरुद्र जिडी ग्रुप धनगढी, घोडाघोडी सामुदायिक मावि र ऐश्वर्य विद्या निकेतन धनगढी विजयी भएका छन्।
पहिलो खेलमा अनिरुद्रले भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टरलाई आठ विकेटले पराजित गरेको छ। भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टरले दिएको ३५ रनको झिनो लक्ष्य अनिरुद्र जिडी ग्रुपले ६.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। उसका लागि वसन्तसिंह कार्कीले अविजित ३० रनको पारी खेले। भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टरका लागि दीपक रेग्मीले २ विकेट लिन सफल भए।
टस जितेर पहिला ब्याटिङ गरेको भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टरले १२.४ ओभरमा सबै विकेट गुमाउँदै ३४ रन मात्र बनाउन सक्यो। उसका लागि दीपक रेग्मीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। अनिरुद्रका महेन्द्र ठगुन्नाले ३, मदन शाह र आयुश खड्काले २-२ तथा कप्तान सिफ्टेन अन्सारी, वसन्त भट्ट र सुरेन्द्र पन्तले १-१ विकेट लिए । महेन्द्र खेलको म्यान अफ द म्याच चुनिए ।
निकै प्रतिस्पार्धात्मक रहेको दोस्रो खेलमा घोडाघोडी सामुदायिक माविले राइजिङ हिरोजलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । घोडाघाडीले पहिलो खेलमा धनगढी योद्धासलाई १० रनले पराजित गरेको थियो । राइजिङ हिरोजले दिएको १५५ रनको विशाल लक्ष्य घोडाघोडीले १३.१ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो।
घोडाघोडीका लागि अर्बिन घर्तीले अर्धशतकीय पारी खेल्दै टोलीलाइर्ए सहज जिततर्फ उन्मुख गरे । २० बलको सामना गरेका उनले ३ चौका र ७ छक्का हिर्काउँदै ६० रन बनाए । स्वरुप चौधरीले २६ रन र किरन धामीले १९ रन बनाए । राइजिङका धीरज साउद र निर्मल शाहले ३-३ र पारस धामीले १ विकेट लिएका थिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राइजिङले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । राइजिङका तर्कराज भट्टले ४७ रनको महत्वपूर्ण पारी खेले । त्यस्तै धिरज साउद ८ बलमा २६ रनको आक्रामक ब्याटिङ गर्दै रनआउट भए भने पारस धामीले २१ रनको पारी खेले ।
घोडाघोडी सामुदायिक माविका लागि सुजन गौतमले २ तथा कप्तान हरिष बस्नेत, अर्विन घर्ती र नवीन न्यौपानेले १-१ विकेट लिए । खेलमा उत्कृष्ट अलराउड प्रर्दशन गरेका अर्बिन म्यान अफ द म्याच चुनिए । तेस्रो खेलमा गजराज हार्डवेयरको टोली निर्धारित समयसम्म मैदानमा उपस्थित नभएपछि धनगढीको ऐश्वर्य विद्या निकेतन वाकओभर पाएर विजयी भएको छ।
प्रतियोगिताको विजेता टोलीले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता यही २२ असोजसम्म सञ्चालन हुनेछ ।