एडिसिसी अम्याच्योर वर्ल्ड च्याम्पियनसिप २०२६ मा नेपाली युवा खेलाडी आशिष थापाले तेस्रो स्थान हासिल गरेका छन् । सेप्टेम्बरको दोस्रो साता पोल्यान्डको क्राकोवस्थित ताउरोन एरेनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बेल्जियमनिवासी थापाले ९१ केजी इन्टरमिडिएट अम्याच्योर वर्ल्ड विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गरेका हुन्।
थापाले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पोल्यान्डका खेलाडीलाई पराजित गरेका थिए। सन् २०२२ देखि ब्रसेल्समा प्रशिक्षण तथा प्रतिस्पर्धा सुरु गरेका थापाले छोटो समयमै निरन्तर मेहनत, प्रशिक्षण र अनुभवका माध्यमबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल भएका हुन्।
छोटो समयमै अन्तर्राष्ट्रियस्तरमा सफलता हात पार्न सफल थापाले विश्वभरका अम्याच्योर ग्र्याप्लिङ खेलाडीमाझ आफूलाई नयाँ तथा उदीयमान खेलाडीका रूपमा स्थापित गरेका छन्।
मार्सल आर्ट तथा कम्ब्याट सिपको संयोजनमा आधारित यस प्रतियोगितामा रेस्लिङ तथा ग्र्याप्लिङसँगै प्रतिद्वन्द्वीलाई नियन्त्रणमा लिने, लक गर्ने र सबमिसन गराउने प्राविधिक सिपलाई विशेष महत्व दिइन्छ। निरन्तर अभ्यास र प्रशिक्षणमार्फत आफ्नो दक्षता अभिवृद्धि गर्दै आएका थापाले पोल्यान्डमा भएको प्रतियोगितामा उत्कृष्ट क्षमता प्रस्तुत गर्दै विश्वस्तरमा तेस्रो स्थान हासिल गर्न सफल भएका हुन्।
