भियतनाममा जारी तेस्रो पिकलबल विश्वकप, २०२६ मा नेपालका दावासोनाम शेर्पाले कांस्य पदक जितेका छन् । शेर्पाले पुरुषतर्फ नेपाललाई विश्वकपमा पहिलो पदक दिलाएका हुन् ।
सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग प्रतिस्पर्धा गरेका दावाले तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिलका खेलाडीलाई २१–१२, २१–१२ को सोझो सेटमा पराजित गरेका हुन् । मंगोलियाले स्वर्ण र जापानले रजत पदक जितेका छन् ।
३० अगस्टमा सुरु भएको पिकलबल विश्वकपमा नेपालसहित ६४ देशका खेलाडीको सहभागिता छ । प्रतियोगिता ६ सेप्टेम्बरसम्म चल्नेछ । शेर्पा पूर्वराष्ट्रिय टेनिस खेलाडीका साथै व्यावसायिक गल्फ खेलाडीसमेत हुन् ।
टेनिसबाट हासिल गरेको खेल प्रविधि, कोर्टमा प्रतिस्पर्धा गर्ने अनुभव र बल नियन्त्रणसम्बन्धी सिपलाई पिकलबलमा समेत प्रयोग गरेको उनले बताएका छन् । दावाले आफ्नो व्यक्तिगत सफलता मात्र नभई नेपाली पिकलबल र समग्र नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।