राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले रसुवा, नुवाकोटलगायतका जिल्लामा आएको बाढीपहिरोमा परेकाहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापना र पुनर्निर्माणमा समन्वय गर्न अपिल गरेका छन्। मंगलबारको बैठकमा विशेष सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीयताको मर्म र संविधानको परिकल्पनाअनुरूप समन्वय गर्न आग्रह गरेका हुन्।
‘संघीयताको मर्म र संविधानले परिकल्पना गरेको सहकार्य र समन्वयको भावनाअनुरूप संघ, प्रदेश र स्थानीय तहका सरकारले यस विपतकाे अवस्थामा आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै एकीकृत र समन्वयात्मक रूपमा कार्य गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु,’ दाहालले भने।
अध्यक्ष दाहालले नेपाल जलवायु परिवर्तनका प्रतिकूल प्रभाव भोग्ने देशहरूको अग्रपंक्तिमा रहेको उल्लेख गर्दै विपतबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे। मंगलबारसम्म ११ हजार ८१४ जनाको उद्धार भएको र तीन हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको तथ्यांक उल्लेख गर्दै उनले खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए।
सम्बोधनका क्रममा दाहालले विपतकाे घडीमा ज्यानको बाजी लगाएर उद्धारमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, स्वयंसेवक तथा सहयोग गर्ने मित्रराष्ट्रहरूप्रति आभार प्रकट गरे। उनले घाइतेहरूको निःशुल्क उपचार, सम्पर्कविहीनको खोजी, सुरक्षित स्थानमा स्थानान्तरण र राहत वितरणलाई पारदर्शी एवं आवश्यकताका आधारमा तुरुन्त प्रभावितसम्म पुर्याउन आग्रह गरे।
विपतका कारण पूर्वाधारमा गम्भीर क्षति पुगेकाले क्षतिको वस्तुगत मूल्यांकन गरी ‘पोस्ट डिजास्टर निड्स एसेसमेन्ट’मार्फत पुनर्निर्माणको स्पष्ट कार्ययोजना बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड थियो। उनले राष्ट्रिय संकटको यस घडीमा राजनीतिक दलहरूलाई पार्टीगत हितभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गरी अघि बढ्नसमेत आग्रह गरे।