- भारतमा स्ट्यान्ड–अप कमेडियनलाई थुन्ने प्रहरीदेखि ‘मिम्स’मा आक्रोशित हुने राजनीतिज्ञसम्म मजाक गर्ने स्वतन्त्रताप्रति असहज देखिन्छन्
लगभग दुई दशकअघि, म एक अखबारको ‘फिचर शाखा’ हेर्थें । चेन्नईको एक रेस्टुरेन्टका चार प्रतिनिधिले एक दिन मलाई भेट्न बोलाए । प्रतिनिधिमण्डलमा रेस्टुरेन्टका मालिक, प्रबन्धक र सेफ पनि थिए । अखबारमा खानासम्बन्धी लेख्ने पत्रकारको अत्यन्तै नकारात्मक समीक्षाबाट उनीहरू अत्यन्त दुःखी भएकाले त्यसबारे गुनासो राख्न बोलाएका रहेछन् । खाना र रेस्टुरेन्टबारे लेख्ने अखबारकी पत्रकार तीक्ष्ण दिमाग भएकी युवती थिइन्, जो शब्दलाई असाधारण महारथसाथ प्रयोग गर्थिन् ।
उनीहरूका कुरा सुन्दै जाँदा, यो स्पष्ट भयो कि उनीहरूलाई समीक्षाप्रति भन्दा पनि त्यसको प्रस्तुति मन परेको रहेनछ । मलाई अझै स्मरण छ कि उनीहरूको आपत्ति समीक्षाको एक लाइनमा थियो, जहाँ मासुको परिकारबारे लेखिएको थियो कि– ‘त्यो लामो समय घाममा सुकाइएको हवाई चप्पलजस्तो थियो ।’ मैले उनीहरूलाई पत्रकारिताका सन्दर्भमा रूपक र अतिशयोक्तिपूर्ण प्रस्तुति आमअभ्यास भएको भनेर बुझाउने प्रयास गरेँ । तर, मेरो प्रयासले पनि तिनको रिस कम भएन । रेस्टुरेन्टकी एक महिलाले भनेको मलाई अझै याद छ, ‘यदि पत्रकारलाई हाम्रो खाना आवश्यकभन्दा धेरै पाकेर र रबरजस्तो भएको लागेको भए पनि ठिक छ, तर त्यसलाई त्यसरी पुरानो चप्पलसँग तुलना गर्नुपर्थ्यो र ?’
दिल्लीको जन्तरमन्तरमा केहीअघि ‘कक्रोच जनता पार्टी (सिजेपी)’को नेतृत्वमा युवा प्रदर्शन भइरहँदा मलाई अचानक यही पुरानो घटना याद आयो । प्रदर्शनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहमाथि प्यारोडी, व्यंग्य गरिए । उनीहरूबारे धेरै रमाइला मिम्स इन्टरनेटमा सेयर भए । यसले भाजपा नेतृत्वलाई विगतमा तिनले भोगेको प्रत्यक्ष र तिखो राजनीतिक आक्रमण वा सबैभन्दा अश्लील गालीभन्दा बढी चोट पुर्याएको हुनुपर्छ । त्यसैले, त मोदीले आन्दोलनपछि यसबाट मर्माहत भएको भन्दै आफू र आफ्नी आमालाई प्रत्यक्ष दुर्व्यवहार गर्ने ‘अनजान’ विद्यार्थीलाई माफी दिएको बताए ।
हामी भारतीय मजाकप्रति अत्यन्तै संवेदनशील छौँ । भारतीयलाई बरु शत्रुले उपहास गरून्, स्वीकार हुन्छ, घृणा वा गम्भीर आलोचना गरून्, बरु त्यो सह्य हुन्छ । तर, मजाकको पात्र बनाइयो भने हामीलाई मरेतुल्य हुन्छ । यसैले त भारतमा कैयौँ ‘स्ट्यान्ड–अप’ कमेडियनहरू प्रहरी उजुरी, अदालती मुद्दा र आमक्रोधको निसाना बन्ने गरेका छन् ।
पश्चिमी देशमा वाक्–स्वतन्त्रताअन्तर्गत अरू कसैको मजाक गर्ने र व्यंग्य गर्ने स्वतन्त्रतालाई बलियो संरक्षण दिइएको हुन्छ, भलै मजाक गर्दा कसैलाई नराम्रो नै किन नलागोस् । पश्चिममा यो विचार कम्तीमा जोन स्टुअर्ट मिल (जे.एस. मिल)सम्म जोडिन्छ । उनको एक चर्चित भनाइ छ, जसअनुसार हाम्रो कार्य वा शब्दले प्रत्यक्ष रूपमा कसैलाई हानि पुर्याउने वा हानि पुर्याउने खतरा नभएसम्म बोल्ने स्वतन्त्रता प्रतिबन्धित हुनुहुँदैन । सरल भाषामा स्टुअर्टले संकेत गरेको हानिलाई शारीरिक हानिको अर्थमा बुझ्ने गरिन्छ । तथापि, कहिलेकाहीँ विदेशमा पनि व्यंग्यका लागि ठुलो मूल्य चुकाएको देखिन्छ । फ्रान्समा पैगम्बर मोहम्मदमाथि गरिएको एक व्यंग्यात्मक कार्टुन प्रकाशित भएपछि हंगामा भएको थियो ।
भारतमा भने ‘हेटस्पिच’बारे हुने बहसमा प्रायः मानसिक नोक्सानीविरुद्ध पनि कानुनी सुरक्षा हुनुपर्ने बहस हुने गरेको छ । तर, हेटस्पिचलाई परिभाषित गर्न एकदम कठिन हुन्छ । त्यसैले, भारतमा कसैलाई बोलीका आधारमा अपमानित गरेकै भरमा सजाय हुने व्यवस्था छ । भारतको तथाकथित मानहानिसँग जोडिएको कानुन ‘आइपिसीको धारा १५३ए र २९५ए’ (जुन अहिले फौजदारी प्रक्रिया संहिताको धारा १९६ र २९९मा बदलिएको छ) को दुरुपयोग हुने गरेको छ । यो प्रयोग प्रायः हास्यव्यंग्य गर्ने स्ट्यान्ड–अप कमेडियनमाथि प्रयोग भइरहेको छ । विशेषतः उनीहरूले कार्यक्रमका दौरान भनेका कुनै कुराले विभिन्न समूहबिच शत्रुता जगाएको वा धार्मिक भावनामा चोट पुर्याएको भन्दै यसका आधारमा मुद्दा चलाइन्छ ।
जुन दरमा कमेडियनहरू कारबाहीमा परिरहेका छन्, त्यसका आधारमा भारत एक चोटग्रस्त भावना भएको गणराज्य बनिरहने जोखिम छ । तर, पछिल्लो समयमा जन्तरमन्तरको आन्दोलनमा देखिएको आन्दोलन विगतको विरोध प्रदर्शनको तुलनामा बढी खुला र कुनै स्वतन्त्र उत्सवजस्तै देखियो । के यस आन्दोलनमा देखिएजस्तै हास्यव्यंग्य अब इन्टरनेटको साँघुरो कुनाबाट राजनीतिक जीवनको मुख्यधारामा पनि विस्तार होला ? व्यक्तिगत रूपमा मलाई त्यसको सम्भावना बढी भएको लाग्छ ।
राहुल गान्धीले सम्भवतः सिजेपीकै व्यंग्यबाट सिकेर एक कार्यक्रममा अर्का कांग्रेसी नेतालाई अँगालो हालेर मोदीको विदेश नीतिमाथि व्यंग्य गरेका हुन सक्छन् । फेरि राजनीतिमा हास्यव्यंग्यको शक्ति राहुललाई जति अरू कसलाई थाहा होला ? सन् २०१४ को आमचुनावको सेरेफेरोमा विपक्षीले राहुलमा राजनीतिक समझ र गम्भीरता कमी रहेको भनेर जनाउन दिएको ‘पप्पु’ उपनामले उनीविरुद्ध लेखिएका सबै सम्पादकीयले भन्दा बढी राजनीतिक क्षति पुर्याएको कसैले नकार्दैनन् ।
हास्यव्यंग्यले भारतीय राजनीतिमा थोरै भए पनि हल्कापन ल्याउन सक्छ । भारतीय राजनीतिज्ञले आफू र आफूले आदर्श मान्ने गरेका व्यक्तिप्रति गरिएका व्यङ्गलाई सहज लिएर हाँस्न सिक्नुपर्छ । यदि व्यंग्यले देखावटीपनलाई उजागर गर्छ वा पाखण्डमाथि प्रकाश पार्छ भने यो फाइदाजनक कुरा हो । त्यसैले, व्यंग्य विरोधको कारण हुनुपर्ने केही कारण छैन ।
(लेखक क्रेआ विश्वविद्यालयका दर्शनशास्त्रका प्राध्यापक हुन्)
द प्रिन्टबाट