- प्रतिवेदनले भन्छ : पदक वितरणमा कार्यविधि र मापदण्ड पालना नगरिएको, मिलेमतो, वितरण प्रक्रिया नियमसंगत नभएको, लापरबाही गरिएको, सेटिङ मिलाएर आफूअनुकूल पदक वितरण भएको देखिन्छ
छानबिन समितिले गण्डकी प्रदेश खेलकुद परिषद्ले वितरण गरेको गण्डकी प्रदेश खेलकुद पदकमा त्रुटि र लापरवबाही भएको निष्कर्ष निकालेको छ । मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोकत्वमा गत २५ साउनमा तीन सदस्य छानबिन समितिले सोमबार बुझाएको प्रतिवेदनमा पदक वितरणमा त्रुटि र लापरबाही भएको उल्लेख छ । ‘परिषद्ले वितरण गरेको गण्डकी प्रदेश खेलकुद पदकमा त्रुटि र लापरबाही भेटिएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।
यसैबिच गण्डकी प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्यहरू भेनिस थापा र कञ्चन थापाले पदक वितरण र सिफारिस कार्यान्वयन भएको निर्णयमा आफूहरूको संलग्नता नभएको दाबीसहित विज्ञप्ति जारी गरेका छन् । ‘पदक वितरणको निर्णय र सिफारिसमा कुनै संलग्नता छैन,’ विज्ञप्तिमा भनिएको छ । यद्यपि, छानबिन समितिका अनुसार दुवै सदस्यहरूले निर्णयमा हस्ताक्षर गरेका छन् । तर, उनीहरूले यसलाई आफ्नो कुनै संलग्न भएको जनाए ।
छानबिन समितिले थापाद्वयसँग समान एकपटक मैखिक र लिखित गरी दुईपटक बयान लिएको थियो । निर्णयमा हस्ताक्षर गरेका थापाद्वयलाई समेत छानबिन समितिले दोषी देखाइएको छ । परिषद्का सदस्यसचिवको अध्यक्षतामा रहने ६ सदस्य कार्यकारी समितिमा थापाद्वय सदस्य हुन् । छानबिन समितिले दोषी देखाएपछि थापाद्वय बुधबार आफुहरूको पदक वितरणमा कुनै संलग्नता नरहेको भनी विज्ञप्ति जारी गरे । उनीहरूले ४३ दिनपछि आफ्नो भनाइ सार्वजनिक गरेका हुन् ।
पदक वितरण भएको दोस्रो दिनपछि नै विवाद सुरु भएको थियो । समितिमा रहेका व्यक्तिले नै आफ्नो नाम सिफारिस गरी पदक थापेपछि चौतर्फी विवाद र आलोचना भएको थियो । छानबिन समितिले आफ्नो प्रतिवेदनमा पदक वितरणमा कार्यविधि र मापदण्ड पालना नगरिएको उल्लेख गरेको छ । ‘मिलेमतो, वितरण प्रक्रिया नियमसंगत नभएको, मनपरि लापरवाही गरिएको, सेटिङ मिलाएर आफूअनुकूल पदक वितरण भएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
३० असारमा पदक वितरण
सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०८१ जारी गरेको छ । सोही कार्यविधिमा पदक सिफारिस समितिको व्यवस्था गरेको छ । सिफारिस समितिले गरेको निर्णय सदस्यसचिव अध्यक्ष रहने कार्यकारी समितिले अनुमोदन गर्ने व्यवस्था रहेको छ । सिफारिस समितिले गरेको सिफारिस २४ असारमा बसेको कार्यकारी समितिले अनुमोदन गरेको थियो । त्यसपछि एक कार्यक्रमबिच ३० असारमा पदक वितरण गरिएको थियो । पदक पाउनेहरूको नाम अनुमोदन गर्ने बैठकमा भेनिस र कञ्चन दुवै उपस्थित भएर हस्ताक्षर गरेका थिए । १४ साउनमा मन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बोर्ड बैठकले समेत यसलाई अनुमोदन गरेको थियो । १४ साउनको बोर्ड बैठकमा कञ्चन उपस्थित र भेनिस अनुपस्थित रहे ।
भेनिस र कञ्चनले आफूहरू बैठकमा उपस्थित मात्र भएको, तर निर्णयमा भने कुनै सहभागिता नरहेको बताउँदै सदस्यसचिव श्रीधर शर्माले पदक पाउनेहरूको नाम थपेको आरोप लगाएका छन् । ‘बैठकमा उपस्थित मात्र भएको थिएँ, तर सदस्यसचिवले पदक पाउनेहरूको नाम पछि थपे,’ थापाले भने । सदस्यसचिव शर्माले प्रदेश खेलकुद विकास ऐनमा कार्यकारी समितिको बैठकको निर्णय अध्यक्षता गर्नेले र परिषद्को बोर्ड बैठकको निर्णय अध्यक्षता गर्ने मन्त्रीले प्रमाणित गर्ने व्यवस्था रहेको बताए ।
यस्तो थियो विवाद
पदक वितरणका लागि बनाएको कार्यविधिविपरीत परिषद्का सदस्यसचिव शर्माले मनपरि र सेटिङ गरेर पदक वितरण गरपछि विवाद भएको हो । कार्यविधिले पदक वितरणका लागि पाँच सदस्यीय समितिको मात्र व्यवस्था गरे पनि उनले कार्यविधिभन्दा बाहिर गएर स्वार्थ बाझिने र आफ्नो उद्देश्यअनुसार काम गर्न सहज बनाउनका लागि समितिको हरेक बैठकमा आमन्त्रित सदस्यको रूपमा सहभागी हुने गरी तीनजनालाई आमन्त्रित सदस्यका रूपमा राखे ।
पदकका लागि पेस भएको निवेदनको मूल्यांकन तथा पदक वितरणको व्यवस्था मिलाउने भन्दै पाँच सदस्यीय अर्को उपसमिति गठन पनि गरिएको थियो । पदकका लागि दाबी गर्न निकालिने सार्वजनिक सूचना, पर्याप्त आवेदन नपरेको, पदक सञ्चालक समितिको निर्णय, पदकका लागि पेस भएको निवेदनको मूल्यांकन तथा पदक वितरणको व्यवस्था मिलाउने समिति, छनोट प्रक्रिया, आफैँ समितिमा बसेर आफू स्वयंले पदक लिने र आफू अध्यक्ष रहेको खेल संघलाई पुरस्कार दिइएको जस्ता विषयका कारण पदक वितरणपछि चरम विवादमा परेको हो ।