राष्ट्रिय पौडी प्रतियोगितामा कीर्तिमानको ओइरो

बुधबार, २८ असोज, २०८३
प्रिन्ट संस्करण
  • १४औँ एनएस पौडीमा एरभिन श्रेष्ठले सर्वाधिक ६, अभिभ प्रधानले चार तथा जेडेन श्रेष्ठले तीन राष्ट्रिय कीर्तिमान राखे

काठमाडाैं/१४औँ एनएसए कप पौडी प्रतियोगितामा विभिन्न इभेन्टमा राष्ट्रिय कीर्तिमान बनेका छन् । पुरुष सय मिटर बटरफ्लाईमा नेपाल पुलिसका एरभिन श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान राखेका छन् । उनले सौरेनबहादुर सिंहको नाममा रहेको ५८.६४ सेकेन्डको तोड्दै ५७.५१ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यसैगरी, पुरुष चार सय मिटर फ्रिस्टाइलमा जेम्सका कल्किन श्रेष्ठले चार मिनेट १३.२७ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।

सो स्पर्धाको पुरानो राष्ट्रिय कीर्तिमान उनकै नाममा थियो । त्यसवेला श्रेष्ठले दूरी चार मिनेट १४.२४ सेकेन्डमा पूरा गरेका थिए । पुरुष सय मिटर ब्रेस्ट स्ट्रोकमा आइरन फिन स्पोर्टस्का जेडेन श्रेष्ठले एक मिनेट ४.५५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान राखेका छन् । ५० मिटर फ्रिस्टाइलमा एरभिनले २३.८० सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाए । यस स्पर्धामा पुरानो कीर्तिमान अलेक्जेन्डर शाहको नाममा रहेको २३.९० सेकेन्ड थियो ।

नेपाल पौडी संघको आयोजनामा चलेको प्रतियोगिता सातदोबाटोस्थित पौडी पोखरीमा भएको हो । बेइजिङमा डिसेम्बर पहिलो साता हुने सर्ट कोर्स विश्व च्याम्पियनसिपको छनोटका लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । १४औँ संस्करणमा ३६ टोलीका १५१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय कीर्तिमान बनाएका अघिकांश खेलाडीहरूले अक्टोबरमा जापानले आयोजना गरेको २०औँ एसियन खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए । उनीहरूले एसियाडमा गतिलो प्रदर्शन गर्न सकेनन् ।

नागोया र आइचीमा भएको एसियाडमा सबै नेपाली खेलाडीहरू हिट चरणबाटै बाहिरिएका थिए । खेलाडीले राष्ट्रिय कीर्तिमान भने स्थापित गर्न सफल भए ।

महिला दुई सय मिटर फ्रिस्टाइल स्पर्धामा डुवाना हिट चरणबाटै बाहिरिइन् । उनी आफ्नो हिटमा छैटौँ भएकी थिइन् । उनले निर्धारित दूरी पार गर्न दुई मिनेट १५.४० सेकेन्ड समय खर्चिन् ।

यसैगरी, नेपाल पुलिस क्लबमा प्रतिनिधित्व गरेका एरभिनले पुरुष सय मिटर बटरफ्लाईमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

निसर्गले जित्यो उपाधि
प्रतियोगितामा निसर्ग वाटिका स्कुल पहिलो भयो । प्रतियोगिताको मंगलबार अन्तिम दिन उपाधि जित्ने क्रममा निसर्गले सवांधिक एक हजार ३६३ अंक बटुल्यो ।

उपविजेता बनेको एपिएफले ६१३ अंक पायो । ६०६ अंकका साथ जेम्स तेस्रो भएको छ । सातवटा स्वर्ण पदक जितेकी नेपाल आर्मी क्लबकी डुवाना लामा महिलातर्फ उत्कृष्ट खेलाडी बनिन् ।

नेपाल पुलिसका एरभिनले उत्कृष्ट खेलाडीको उपाधि जिते । उनले प्रतियोगिता चार स्वर्ण र दुई रजत जितेका थिए । प्रतियोगितामा कुल १७ राष्ट्रिय कीर्तिमान कायम भएको आयोजक पौडी संघले जनाएको छ । एरभिनले ६ राष्ट्रिय कीर्तिमान राखे । यसैगरी, अभिभ प्रधानले चार तथा जेडेन श्रेष्ठले तीन राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहतालगायतले पुरस्कृत गरेका छन् । 
 

सुझावित समाचार