- ओमानलाई ११३ रनको फराकिलो अन्तरले हराएको नेपालले सातौँ स्थानको क्यानडालाई राख्यो तीन अंकले पछि
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले मंगलबार आइसिसी विश्वकप लिग दुईअन्तर्गत १३४औँ खेलमा ओमानलाई ११३ रनको फराकिलोअन्तरले हराएको छ । सन् २०२७ को विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोट आधारसमेत रहेको लिग दुईमा नेपालले आफ्नो अन्तिम सिरिज खेलिरहेको छ । ओमानमा चलिरहेको सिरिजमा नेपालले लगातार दुई जित निकाली महŒवपूर्ण चार अंक जोडेको छ । अल इमिरेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो ।
प्रत्युत्तरमा ओमान ४० ओभरमा १५० रनमा समेटिँदा नेपाल ११३ रनले विजयी भयो । जितसँगै नेपालले छैटौँ स्थान बलियो बनाएको छ । नेपालले ३४ खेलमा २८ अंक जोडेको छ । नेपालले सिरिजमा १३ जित र १९ हारको सामना गरेको छ । सातौँ स्थानमा रहेको क्यानडाले ३४ खेलबाट २५ अंक जोडेको छ । क्यानडा चालू सिरिजमा नेपालसँगै पराजित भएको थियो । नेपालले क्यानडामाथि चार अंकको अग्रता बनाएको छ । यद्यपि, क्यानडाले ओमानसँग प्रतिस्पर्धा गर्न बाँकी छ । यस खेलमा जित निकाल्दा क्यानडाले नेपालसँग अंक दूरी घटाउनेछ । ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको ओमानले आफ्नो ३०औँ खेलमा हार सामना गर्दा ३३ अंकमै सीमित भएको छ । ओमान शीर्ष चारभित्र छ ।
ओमानविरुद्ध चम्किए बलर
घरेलु मैदानमा २६४ रनको लक्ष्य पछ्याएको ओमानले नेपाली फास्टबल र स्पिनरहरूको सामना गर्न सकेन । बसिर अकमाद र रोहित पौडेलबाहेक अन्य सबै बलरले विकेट लिन सफल भए । फास्टबलर नन्दन यादव र कप्तान सन्दीप लामिछानेले कसिलो बलिङ गर्दा ओमान खेलमा फर्कन सकेन । यी दुवै बलरले समग्रमा ६ विकेट लिए । नन्दनले ६ ओभरमा एक मेडन राखी १२ रन खर्चेर तीन विकेट लिए । सन्दीपले नौ ओभरमा २८ रन खर्चेर तीन विकेट हात पारे । फास्टबलर करण केसीले ६ ओभरमा आठ रन दिएर एक विकेट लिए ।
यसैगरी, ललित राजवंशीले नौ ओभरमा २८ रन दिँदै दुई विकेट लिन सफल रहे । दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । फितलो ब्याटिङ प्रदर्शन गरेको ओमान इनिङ्सको एक समयमा ६१–६ को नाजुक अवस्थामा पुगेको थियो । त्यसवेला ११.५ ओभर ब्याटिङ चलिरहेको थियो । विनायकले जय ओडेरासँग सातौँ विकेटका लागि ८३ रनको साझेदारी गर्दै घरेलु टोलीलाई जितको आशा दिलाए । ओडेरा आउट हुँदा ओमानले ३१.४ ओभरमा १२४ रन जोडेको थियो । ओडेराले २५ रन बनाउन ५७ बलमा दुई चौका प्रहार गरे । ओमानको इनिङ्समा एक मात्र अर्धशतकीय इनिङ्स खेलेका विनायकले ८३ बल सामना गरी ७७ रन बनाए । उनी २८.१ ओभरमा नन्दनले आउट गरे । विनायकले ६ चौका र एक छक्का प्रहार गरे । ओपनर जतिन्दर सिंहले ३५ बलमा १८ रन बनाए । ओमानको ब्याटिङमा आठ ब्याट्सम्यानले दोहोरो अंकमा रनै बनाएनन् । ओपनर हसैन उल र जकिरा इस्लाम डकआउट भए । ओमानले अन्तिम चार विकेट २२ रनभित्र गुमाएको थियो ।
बलियो देखिएको नेपालको मध्यक्रम
पहिलो ब्याटिङ गरेको नेपालले ओपनिङ गतिलो पाउन सकेन । तर, मध्यक्रम र पुछारका ब्याट्सम्यानबिच साझेदारी हुँदा नेपालले ओमानलाई चुनौती लक्ष्य दिन सफल भयो ।
ओपनर आसिफ सेखले चार रन मात्र बनाएर आउट भए । अर्का ओपनर अर्जुन कुमालले ५९ बलमा चार चौकाको सहयोगमा ४० रनको योगदान दिए ।
त्यसपछि ईशान पाण्डे, पूर्वकप्तान रोहितकुमार पौडेल, बसिर अहमाद, दीपेन्द्रसिंह ऐरी र करण केसीले आक्रामक रूपमा ब्याटिङ गर्दै ओमानका बलरमाथि दबाब दिए । नेपालको ब्याटिङमा रोहित र बसिरबिच चौथो विकेटका लागि १०४ बलमा ८६ रनको साझेदारी भएको थियो । रोहित र दीपेन्द्रसिंहबिच पाँचौँ विकेटका लागि २० बलमा २२ रनको साझेदरी सम्भव भयो । यसैगरी, दीपेन्द्रसिंहले सन्दीप जोरासँग छैटौँ विकेटका लागि १८ बलमा २२ रन बनाए ।
करणले नन्दनसँग नवौँ विकेटका लागि २३ बलमा ४७ रनको साझेदारी गर्दै नेपाललाई २५० रनमाथि योगफल कटाउन सफल भए । नेपालको ब्याटिङमा पुनः एकपटक रोहितले प्रेरणादायी इनिङ्स खेले । उनले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गरी ६१ रनको महŒवपूर्ण योगदान दिए । बसिरले ५० बलमा ३७ रन र दीपेन्द्रसिंहले १७ बलमा २२ रन बनाए । करणले १६ बलमा चार छक्का र एक चौकाको सहयोगमा ४० रन बनाए । करणले ४९औँ ओभरमा हस्नेन शाहविरुद्ध तीन छक्का प्रहार गरेका थिए । उनले अन्तिम ओभरमा पनि एक छक्का प्रहार गरे ।
नेपालको पाँचौँ ठुलो जित
नेपालले ओमानमाथि निकालेको जितअन्तर पाँचौँ ठुलो हो । यसै वर्ष आयोजित विश्वकप लिग २ मा नेपालले युएईलाई १७७ रनको फराकिलोअन्तरले हराएको थियो । सन् २०२१ मा पिएनजीलाई १५१ रनले हराएको नेपालले सन् २०१९ मा युएईमाथि १४५ रनको जित निकालेको थियो । सन् २०२६ मै नेपालले अमेरिकालाई विश्वकप लिग दुईमा १२२ रनले निराश बनाएको थियो । नेपालले ओमानविरुद्ध मंगलबार जित निकाल्दा विस्फोटक ब्याटिङ गरेका करणले पनि एकदिवसीय करिअरमा चौथो ठुलो स्कोर गरे । उनले २०२५ मा स्कटल्यान्डविरुद्ध ६५ रनको सर्वाधिक स्कोर गरेका थिए । 