- खेल चलिरहँदा उपद्रो मच्चाएका १० मध्ये पाँचजनाले अपमानजनक ढंगले नारा लगाएको, दुईजनाले सार्वजनिक नियम तोडेको र एकजनाले मैदानभित्र वस्तु फ्याँकेको प्रहरीको आरोप
इंग्लिस प्रिमियर लिगमा गत आइतबार लिभरपुलले आफ्नो घरेलु मैदान एन्ड फिल्डमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गरेको थियो । म्यानचेस्टर भने प्रिमियर लिगमा विभिन्न ११४ वटा आरोपमा दोषी ठहरिएपछि पहिलो खेल खेल्दै थियो । म्यानचेस्टरले प्रिमियर लिगलाई खराब इतिहास बनाएको भनी लिभरपुलका समर्थकहरूले उपद्रो मच्चाएका थिए । उनीहरूले खेलको सुरुदेखि नै पाहुना टोलीका खेलाडीहरूप्रति इंगित हुँदै नाराबाजी गरेका थिए ।
दर्शकदीर्घामा लिभरपुलका घरेलु दर्शकले जति पनि उपद्रो मच्चाए पनि म्यानचेस्टरले खेल सानदार रूपमा ३–० ले बाजी मार्यो । लिभरपुललाई यो नतिजा चित्त बुझेको थिएन । अझ दर्शकले यसलाई पचाउनै सकेनन् । जसका कारण उनीहरूले खेल सकिएपछि मैदानमा बोतल, कागज र अन्य सामग्री फ्याँकेर अवरोध सिर्जना गरेका थिए । सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिन निकै प्रयास गर्नुपरेको थियो । यस प्रयासमा एक प्रहरी घाइते भएका थिए । सुरक्षाकर्मीले घटनास्थलबाट १० जना पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये पाँच जनामाथि फुटबलसँग सम्बन्धित विगतका दुःखद घटनाको अपमानजनक ढंगले नारा लगाएको आरोप छ ।
मर्सिसाइड प्रहरीले पक्राउ परेका एक दर्शकले दुईपटक प्रहरी अधिकारीमाथि आक्रमण गरेका थिए । आक्रामणको क्रममा प्रहरी अधिकारीको अनुहारमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । अन्य पक्राउ परेकामध्ये एकजनामाथि मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोप छ । प्रहरीले दुईजनामाथि सार्वजनिक उपद्रो मच्चाएको तथा एकजनामाथि मैदानभित्र वस्तु फ्याँकेको आरोप लगाएको छ । प्रहरी अधिकारी लियान होबिनले ज्यान जाने गरी भएको घटना र पाहुना टोलीविरुद्ध नारा लगाउनु फुटबलमा स्वीकार्य नहुने जनाएकी छिन् । लिभरपुलका समर्थकले ‘धोकेबाज सिटी’ भन्ने सन्देश भएका स्कार्फ प्रदर्शन गरेका थिए । प्रहरीका अनुसार खेल हेर्न उपस्थित करिब ६० हजार दर्शक एन्डफिल्डमा थिए ।
शीर्ष स्थानमा तीन अंकको अग्रता
प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको थियो । सिटीले ६ खेलको समाप्तिसम्म अपराजित यात्रा कायम राखी सर्वाधिक १८ अंक बटुलेको छ । साबिक विजेता आर्सनलले समान खेलबाट १५ अंक जोडेको छ । बाइटनले ६ खेलमा चार जित, समान एकबराबर र हार निकाली १३ अंक बटुलेको छ । यसैगरी, ब्रेनफोर्ड १० अंकका साथ चौथो स्थानमा छ । एभर्टनले पनि १० अंक जोडेको छ । गोलअन्तरमा एभर्टन पाँचौँ स्थानमा छ ।
उपाधि दाबेदार टोलीहरूले यसपटक उत्कृष्ट सुरुवात गर्न सकेनन् । चेल्सीले ६ खेलमा तीन जित, एकबराबर । दुई हार सामना गरी नौ अंक जोडेको छ । चेल्सी अहिले छैटौँ स्थानमा छ । सिटीसँग पराजित लिभरपुल नवौँ स्थानमा सीमित भएको छ । म्यानचेस्टर युनाइटेडले सिजनमा कमजोर सुरुवात गर्यो । युनाइटेड लिगको १३औँ स्थानमा छ । युनाइटेडले ६ खेलमा केवल एक जित हात पारेको छ ।
म्यानचेस्टरविरुद्ध ११४ वटा आरोप
गत महिनामा म्यानचेस्टर सिटी विभिन्न आरोपमा दोषी ठहरिएको थियो । सिटीले विभिन्न सिजनमा आर्थिक हिसाबकिताब प्रस्ट नगरेको र खेलाडी अनुबन्ध तथा बिक्री पारदर्शी नदेखाएकोजस्ता आरोप लागेको छ । प्रारम्भिक अनुसन्धानमा सिटी दोषी ठहरिएको थियो । अब अन्तिम निर्णय आउँदा सिटी प्रिमियर लिग खेल्नबाट वञ्चित हुन सक्छ । साथसाथै, ‘बी’ डिभिजनमा घटुवा वा कीर्तिमानी अंक कटौतीसम्मको सम्भावना रहेको छ ।
यद्यपि, सिटीले आफूमाथि लगाइएको आरोप झुटो भनी स्वतन्त्र आयोगको निर्णयविरुद्ध अपिल गरेको छ । सन् २००९–०१० र २०१७–०१८ को सिजनमा सिटीले इंग्लिस प्रिमियर लिगमा आर्थिक घोटाला गरेको आरोप छ । यसैगरी २०१३, ०१८, ०२१ को सिजनमा सिटी उपविजेता हुँदा सम्झौताविपरीत कार्य गरेको जनाइएको छ । सिटीका मालिका अबुधाबीका धनाढ्य हुन् । उनले अहिलेसम्म आफ्नो क्लबमाथि लगाइएको आरोपबारे केही पनि प्रतिक्रिया दिएका छैनन् । बेलायती एजेन्सीहरूका अनुसार सिटी आरोपबाट मुक्त हुन सक्ने अवस्था छैन ।