काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ मा करण केसीको विस्फोटक ब्याटिङमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ। अल अमिरात मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६३ रनको योगफल बनाएको हो।
नेपालका पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन जोडे। ५० बल सामना गरेका उनले तीन छक्का प्रहार गरे। करण केसीले मात्र १६ बलमा ४० रनको योगदान गरे। एक छक्का र चार चौका प्रहार गरेका उनी रनआउट भए।
५९ बल सामना गरेका ओपनर अर्जुन कुमालले चार चौकाको मद्दतमा ४० रन बनाउँदा डा. ईशान पाण्डे र बसिर अहमदले समान ३७ रन जोडे। दीपेन्द्रसिंह ऐरी २२, सन्दीप जोरा १० र आशिफ शेख चार रन बनाएर पेभेलियन फर्किँदा नन्दन यादवले नटआउट सात रन जोडे।
ओमानका लागि शाह फैसल, सकिल अहमद र करन सोनावलेले समान दुई विकेट निकाल्दा हसनैन शाहले एक विकेट हात पारे।