जुम्ला । दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लामा आयोजित कर्णाली प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ। हुम्ला र डोल्पाबाहेक आठ जिल्लाको सहभागिता रहेको प्रदेशस्तरीय छनोट प्रतियोगिता बुधबार सम्पन्न भएको हो।
तीन दिनसम्म सञ्चालन भएको छनोट प्रतियोगिताबाट कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएको खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले बताए। उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ।
जुम्ला, कालीकोट, मुगु, दैलेख, सुर्खेत, जाजरकोट, सल्यान र रुकुम पश्चिमबाट कुल ९३ जना खेलाडी सहभागी भएका थिए। विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराउँदा २१ जना खेलाडी प्रथम हुँदै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका हुन्।
पुरुषतर्फ रुकुम पश्चिमका लालबहादुर परियार, कमल खड्का, खड्क विक र रमेश गुरुङ, कालीकोटका विराज बम, सुर्खेतका जीवन सार्की, सल्यानका योगेन्द्र शाह र लीलधर नेपाली तथा जुम्लाका नरेन्द्र रावत छनोट भएका छन्।
त्यस्तै, महिलातर्फ जुम्लाकी निशा बुढा, सरला खत्री र ज्ञानिता कुलाल तथा सुर्खेतकी दिप्ती नेपाली, देवीसरा सुनार र विविका बस्नेत छनोट भएका छन्। साथै पूजा गाहा, मोनिमा दर्लामी र पूजा खत्रीलगायत खेलाडी पनि राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्। पुम्सेतर्फ महिला तथा पुरुष खेलाडीसमेत छनोट भएका छन्।
छनोट भएका खेलाडीलाई दसैँलगत्तै प्रदेश सरकारले बन्द प्रशिक्षणमा सहभागी गराउनेछ। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले उत्कृष्ट २१ जना तेक्वान्दो खेलाडीले दसाैँ राष्ट्रिय प्रतियोगितामा प्रदेशको नाम राख्ने गरी खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
खेलकुद विकास समितिको कार्यालय जुम्लाका प्रमुख कविदत्त न्यौपानेले सीमित स्रोतसाधनबिच सबैको साथ र सहयोगले जुम्लामा प्रदेशस्तरीय छनोट प्रतियोगिता भव्य रूपमा सफल भएको भन्दै धन्यवाद दिए। छनोट प्रतियोगितामा कर्णाली प्रदेश तेक्वान्दो संघका अन्तर्राष्ट्रिय रेफ्री भीमलाल विक, प्रदेश अध्यक्ष, कोषाध्यक्ष, सदस्य तथा प्रदेशका प्रशिक्षकलगायतको सहभागिता रहेको थियो।