१२औँ नेपालगन्ज म्याराथन १२ मंसिरमा

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

नेपालगन्ज/ १२औँ संस्करणको नेपालगन्ज म्याराथन आगामी १२ मंसिरमा हुने भएको छ । यसपटक म्याराथनमा १२ विधामा दौड समावेश गरिएको आयोजकले जनाएको छ । स्थानीय बिपीचोकबाट सुरु हुने म्याराथनमा ४२ किलोमिटर पुरुष खुला, २१ किलोमिटर महिला खुला, १० किलोमिटर पुरुष खुला र १० किलोमिटर महिला खुला इभेन्ट समावेश छन् ।

यसैगरी, पाँच किलोमिटर पुरुष खुला, पाँच किलोमिटर महिला खुला, पाँच किलोमिटर स्कुलस्तरीय छात्रछात्रा दौड, तीन किलोमिटर कर्पोरेट रन, तीन किलोमिटर किड्स रन, तीन किलोमिटर ह्विलचियर रन, दुई किलोमिटर फेमिली रन र तीन किलोमिटर रन फर अल छन् ।

४२ किलोमिटरको पुरुष खुला म्याराथनमा महिलाले पनि आफ्नो व्यक्तिगत समयका लागि दौडिन चाहेमा विद्युतीय चिप उपलब्ध गराइनेछ । महिलाका लागि निर्धारित २१ किलोमिटर हाफ म्याराथनमा समयसुधारका लागि दौडिन चाहने पुरुष धावकलाई पनि विद्युतीय चिप प्रदान गरिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । ४२ किलोमिटरतर्फ विभिन्न उमेर समूहमा समेत वरीयताक्रम निकालिने उनले बताए ।

एबोट विश्व म्याराथन मेजरसँगको सहकार्यमा उमेर समूहका धावकलाई विश्वव्यापी वरीयतामा समावेश गर्ने व्यवस्था रहेको छ ।  नेपालगन्ज म्याराथनले गत जुनमा नर्वेको ट्रम्सोमा विश्वभरका रेसमध्ये एम्स सोसल अवार्ड प्राप्त गरेको थियो । म्याराथन सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको छ ।

सुझावित समाचार