जुम्लामा प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियाेगिता सुरु

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

जुम्ला/ १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता जुम्लामा सुरु भएको छ। कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लाका खेलाडीको सहभागितामा सोमबारदेखि छनोट प्रतियोगिता सुरु भएको हो। १८ वर्षमाथिका महिला तथा पुरुष खेलाडी सहभागी प्रतियोगिताको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले एक समारोहबिच उद्घाटन गरे।

प्रतियोगितामा दैलेख, सुर्खेत, रुकुमपश्चिम, सल्यान, जुम्ला, कालीकोट, जाजरकोट र मुगुका खेलाडी सहभागी भएका छन्। साबिक कर्णालीका डोल्पा र हुम्लाका खेलाडी भने प्रतियोगितामा सहभागी छैनन्। जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार प्रतियोगितामा तेक्वान्दो छनोटका प्राविधिक टोली तथा कर्णाली प्रदेश तेक्वान्दो समितिका पदाधिकारीको सहभागिता छ।

छनोट प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराइनेछ। जुम्लामा आयोजित प्रतियोगितामा स्थानीय खेलाडीले सानदार प्रदर्शन गरेको प्रशिक्षक लालबहादुर रोकायाले बताए। उनका अनुसार प्रतियोगिताले जुम्लाका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।

प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय प्रतियोगितामा पनि राम्रो नतिजा ल्याउने विश्वास आचार्यले व्यक्त गरे। त्यस्तै, कर्णाली खेलकुद परिषद्का सदस्य तथा जुम्ला र कालिकोटका खेल संयोजक पंखबहादुर मल्लले तेक्वान्दो विधामा कर्णाली प्रदेशबाट उत्कृष्ट खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने बताए।

असोज २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो प्रतिभा, क्षमता र खेल कौशल प्रदर्शन गर्ने न्यौपानेको भनाइ छ।

सुझावित समाचार