एक थान ग्यास सिलिन्डर लिन नागरिकता अनिवार्य

काठमाडौंमा आज सात स्थानबाट ग्यास वितरण हुने, शनिबार पाँच ठाउँबाट करिब ६ हजार सिलिन्डर ग्यास बिक्री

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण
एक थान ग्यास सिलिन्डर लिन नागरिकता अनिवार्य

ग्यासका लागि बबरमहलमा लाइन लागेका उपभोक्ता । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

  • लाइनमा बसेका उपभोक्तालाई नागरिकता देखाएर मात्रै ग्यास लिनुपर्ने बाध्यता, सिलिन्डर ट्र्याकिङका लागि नागरिकता मागिएको निगमको तर्क

आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक थान ग्यास सिलिन्डरका लागि उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेका छन् । डिलरमार्फत ग्यास बिक्री गर्दासमेत आपूर्ति असहज भएपछि आयल निगम र प्रशासनको समन्वयमा शनिबार पाँच स्थानबाट ग्यास बिक्री भएको थियो भने आइतबार ग्यास बिक्रीका लागि सात स्थान तोकिएको छ । त्यहाँ पुगेर ग्यास लिन नागरिकता लिएर जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । तर, नागरिकता देखाएर पनि ग्यास लिन भने  सहज छैन । बिहानैदेखि लाइनमा बसेका उपभोक्ता चर्को घाम र धर्के पानीको सामना गर्न बाध्य छन् ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले एक थान ग्यासका लागि नागरिकता देखाउनुपर्ने व्यवस्था गलत भएको बताए । ‘नागरिकता देखाएर ग्यास पाउनुपर्ने अवस्था सिर्जना हुनुहुन्थेन,’ उनले भने, ‘सरकारले व्यवस्थापकीय अक्षमता ढाकछोप गर्न नागरिकलाई विभिन्न बहानामा दुःख दिइरहेको छ ।’ आयल निगमले भने ग्यास सिलिन्डरको ट्र्याकिङ गर्न संसदीय समितिबाट निर्देशन प्राप्त भएकाले कार्यान्वयन गर्न थालिएको दाबी गरेको छ । ‘उपभोक्ताको नागरिकता लिनुको उद्देश्य सम्बन्धित उद्योगले डिजिटल अभिलेख गर्नका लागि हो,’ आयल निगमका प्रवक्ता मनोज ठाकुरले भने, ‘संसदीय समितिको निर्देशनपछि हामीले सिलिन्डर म्यापिङको काम पनि अघि बढाइसकेका छौँ । सोही प्रयोजनका लागि नागरिकता वा राष्ट्रिय परिचयपत्र माग गरिएको हो ।’

उनले देशभरका डिलरहरूलाई पनि सिलिन्डर लैजाने उपभोक्ताको डिजिटल म्यापिङका लागि आवश्यक विवरण संकलन गर्नका लागि चाँडै निर्देशन जारी हुने बताए । उनले उपभोक्ताको घरनजिकै रहेको डिलरबाट ग्यास आपूर्ति सहज नहुँदा सरकारले हस्तक्षेप गरी वितरण गर्नुपरेको बताए ।

आज आइतबार पनि काठमाडौंका सात स्थानबाट आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयनमा ग्यास वितरण हुने भएको छ । शनिबार दिनभर करिब ६ हजार सिलिन्डर वितरण गरेको र आपूर्ति सहज गर्न मद्दत मिलेको निष्कर्ष निकाल्दै आइतबार सार्वजनिक बिदा भएकाले ग्यास वितरणलाई निरन्तरता दिने निर्णय भएको निगमले जनाएको छ ।

शनिबार ग्यास बिक्री गरेको टेकु र कीर्तिपुरसहित अन्य पाँच स्थानबाट आइतबार ग्यास बिक्री हुने भएको छ । निगमका अनुसार बुढानीलकण्ठको पशुसेवा शाखा कार्यालय, न्युरोडको जुडो हलपरिसर, तारकेश्वर नगरपालिका कार्यालय, चन्द्रागिरि नगरपालिका कार्यालय र ठिमीको राष्ट्रिय क्षयरोग केन्द्रपरिसरबाट ग्यास वितरण हुने भएको छ ।

सिराहामा ग्यासको कालोबजारी

  • प्रतिसिलिन्डर २१ सय रुपैयाँ लिएर रातको समयमा मात्रै विक्रेताले ग्यास दिन थालेको स्थानीयको गुनासो 

लहान/ सिराहाका ग्यास विक्रेताले कालोबजारी गर्न थालेका छन् । तोकिएको मूल्य प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमा ग्यास लिन जाने उपभोक्तालाई रित्तै फर्काइदिने र रातको समयमा बढी मूल्य लिएर उपभोक्तको घरसम्म ग्यास पुर्याउने धन्दामा विक्रेता लागेको स्थानीयको गुनासो छ । विक्रेताले प्रतिसिलिन्डर २१ सय रुपैयाँसम्म लिएर ग्यास बेचिरहेको स्थानीयको गुनासो छ ।

‘रिजालको’ ब्रान्डको ग्यास बिक्री–वितरण गर्दै आएका सिराहाको गोलबजार– ४ का परमेश्वर महतोको पसलमा बिहीबार दिउँसो झारिएको ग्यास वितरण नगरी रातको समयमा बढी मूल्य तिरेकालाई घर–घरमा पुर्याइएको स्थानीयको गुनासो छ । स्थानीयले गोलबजारस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिँदासमेत सुनुवाइ नभएपछि जनप्रतिनिधि र स्थानीय प्रहरीले शुक्रबार दिउँसो पसल खोलाएर ग्यास वितरण गराएको नुरजहाँ खातुनले जानकारी दिइन् । प्रशासनको सहयोग लिएर सरकारी मूल्यमा ग्यास वितरण भइरहेको स्थानीय जहाँगिर आलमले बताए । 

See More On

सुझावित समाचार