पोखरास्थित आधुनिक डिपोबाट ‘फ्लाई दुबई’मा ५५४० लिटर हवाई इन्धन रिफ्युलिङ

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आयल निगमले निर्माण गरेको आधुनिक डिपोबाट पहिलोपटक अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन ‘रिफ्युलिङ’ भएको छ। निगमका उपनिर्देशक रामहरि निरौलाका अनुसार बुधबार साँझ पोखरा विमानस्थलमा अवतरण भएको फ्लाई दुबईमा पाँच हजार ५४० लिटर इन्धन हालिएको हो।

‘पोखरामा अन्तर्राष्ट्रिय उडान भर्ने विमानलाई लक्षित गरी आयल निगमले आधुनिक डिपो बनाएको छ। सोही डिपोबाट पहिलोपटक अन्तर्राष्ट्रिय विमान कम्पनीका रूपमा फ्लाई दुबईमा बुधबार साँझ ५ हजार ५४० लिटर हवाई इन्धन भरिएको छ,’ पोखरामै रहेका उपनिर्देशक निरौलाले टेलिफोनमा भने।

उनका अनुसार फ्लाई दुबईले थोरै यात्रु लिएर आएका कारण पोखरामा पर्याप्त इन्धन हालेको छैन। किनभने अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरूले एकपटकमा कम्तीमा ३० हजार लिटर तेल भर्ने गरेका छन्।

निरौलाका अनुसार पोखरा विमानस्थलमा आन्तरिक उडान भर्ने विमानहरूलाई पनि नियमित रूपमा नयाँ डिपोबाटै इन्धन सेवा उपलब्ध गराइएको छ। विमानस्थल परिसरभित्रै निर्माण भएको डिपो सुरक्षा र सेवाका दृष्टिकोणले नेपालमा रहेका अन्य हवाई डिपोभन्दा उत्कृष्ट रहेको निरौलाले बताए।

सुझावित समाचार