राष्ट्रिय गौरवका आयोजनाको लज्जास्पद प्रगति

२४ मध्ये १० आयोजनाको प्रगति २० प्रतिशतभन्दा कम, वर्षभरिमा एक प्रतिशत पनि हुन सकेन काम

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

राष्ट्रिय गौरवका आयोजनाको प्रगति हेर्दा गौरव होइन, लज्जाबोध हुने स्थिति छ । हाल राष्ट्रिय गौरवका रूपमा २४ वटा विभिन्न क्षेत्रका आयोजना सूचीकृत छन् । अधिकांश गौरवका आयोजना दुई दशकअघि सुरु भएर अहिलेसम्म सकिएका छैनन् । प्रतिवर्ष औसत २.९६ प्रतिशत मात्रै निर्माण प्रगति भइरहेको छ, जुन अत्यन्तै सुस्त हो ।

आयोजना छनोट गर्दा स्पष्ट र वस्तुनिष्ठ मापदण्ड नबनाइएकाले लामो समयसम्म अलपत्र पर्ने गरेको अर्थशास्त्री प्राडा पुष्करराज बज्राचार्यले बताए । उनका अनुसार राजनीतिक रूपमा ठुला र चर्चित आयोजनालाई राष्ट्रिय गौरवको नाम दिने प्रवृत्ति देखिए पनि त्यसको प्राथमिकता, स्रोत सुनिश्चितता र समयमै सम्पन्न गर्ने प्रतिबद्धता कमजोर छ ।

बज्राचार्यले सुरुमा नै स्पष्ट मापदण्ड बनाएर कुन आयोजना किन राष्ट्रिय गौरवमा पर्न योग्य हो भन्ने निर्धारण गर्नुपर्ने बताए । ‘पहिला क्राइटेरिया राखौँ । त्यो क्राइटेरियाअनुसार को पर्छ, को पर्दैन, किन पर्छ, किन पर्दैन भन्ने स्पष्ट हुनुपर्छ,’ उनले भने, ‘धेरैजसो राजनीतिक रूपमा ठुला आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा राखिएको देखिन्छ । बढी प्रभाव र असर पार्ने आयोजना त स्पष्ट मापदण्ड बनाउँदा स्वतः छनोट हुनुपर्छ ।’

राष्ट्रिय गौरवका आयोजनालाई राजनीतिक घोषणाभन्दा माथि उठाएर स्पष्ट मापदण्ड, स्रोत सुनिश्चितता, समयसीमा, नियमित मूल्यांकन र संघीय संरचनाअनुसारको स्पष्ट जिम्मेवारीसँग जोड्नुपर्नेमा बज्राचार्यले जोड दिएका छन् । राष्ट्रिय योजना आयोगका अनुसार माथिल्लो तामाकोशी, पोखरा विमानस्थल र भैरहवा विमानस्थल भने सकिएका छन् । अन्य २४ आयोजनामध्ये गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र पश्चिम सेती जलविद्युत् आयोजना सुरु भएका छैनन् । बुढीगण्डकी जलविद्युत् आयोजनामा भने ४२ अर्ब सकिए पनि बल्ल १६.५५ प्रतिशत सकिएको छ । यो आयोजना कुन मोडालिटीमा बन्ने भनेर बारम्बार परिवर्तन हुँदा पनि निर्माणले गति लिन सकेको छैन । अमेरिकी अनुदानमा सञ्चालित एमसिसी परियोजना पनि आव ०७४/७५ बाट सुरु भएको हो । हालसम्म १८.२४ प्रतिशत मात्रै काम सकिएको छ ।

पश्चिम सेती २०२५ सालमा निर्माण गर्न स्वीकृति भए पनि अहिलेसम्म सुरु भएको छैन । राष्ट्रिय चुरे संरक्षण आयोजना ०७१/७२ बाट सुरु भएको र हालसम्म ६.७ प्रतिशत मात्रै प्रगति छ ।  पुष्पलाल मध्यपहडी राजमार्ग आव ०६४/६५, हुलाकी राजमार्ग ०६६/६७, कालीगण्डकी करिडोर ०६५/६६, कर्णाली करिडोर ०६९/७०, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग ०६६/६७, फास्ट ट्र्याक ०७३/७४ बाट निर्माण सुरु भए पनि अहिलेसम्म पूरा भएका छैनन् । 

२१ गौरवका आयोजना लामो समयदेखि निर्माणाधीन, तीनवटा सुरु नै भएका छैनन्
गौरवका आयोजनाको प्रगति देखेर ग्लानि हुने उदाहरण हो, बबई सिँचाइ आयोजना । यो आयोजना आर्थिक वर्ष ०४५/४६ देखि निर्माण सुरु भए पनि बल्ल ८१.९७ प्रतिशत मात्रै सकिएको छ । यो परियोजनामा हालसम्म १८ अर्ब २१ करोड रुपैयाँ खर्च भएको छ । राष्ट्रिय योजना आयोगले आव ०८२/८३ सम्मको प्रगति विवरण सार्वजकि गर्दा महाकाली सिँचाइ आयोजना आव ०६३/६४ मा सुरु भए पनि हालसम्म ३१ प्रतिशत मात्रै सकिएको तथ्यांक छ । यो आयोजनामा १० अर्ब ७१ करोड रुपैयाँ खर्च भइसकेको छ । आव ०६१/६२ मा सुरु भएर बल्ल ५१ प्रतिशत सकिएको छ सिक्टा सिँचाइ । यो आयोजनामा २४ अर्ब ३३ करोड रुपयाँ खर्च भइसकेको छ । २०२५ मा सुरु गर्ने निर्णय भएको पश्चिम सेतीमा काम नै थालिएको छैन । उपत्यकाभित्र खानेपानी आपूर्ति गर्न ०५५/५६ देखि सुरु भएको मेलम्ची खानेपानी आयोजना भने करिब सकिन लागेको छ । गत आवसम्म ९९.७४ प्रतिशत काम सकिएको छ र यो आयोजनामा ३१ अर्ब १४ करोड रुपैयाँ खर्च भएको छ । ०६४/६५ देखि सुरु भएर हालसम्म ८४.६८ प्रतिशत प्रगति सकिएको पुष्पलाल मध्यपहाडी राजमार्गमा ७३ अर्ब ५८ करोड खर्च भइसकेको छ ।

यसबाहेक रानीजमरा–कुलरिया सिँचाइ आयोजना बन्न थालेको पनि १३ वर्ष भयो । आव ०६६/६७ मा सुरु भएको आयोजना बल्ल ७४.८ प्रतिशत सकिएको छ । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना पनि ०६८/६९ देखि बन्न थाले पनि ६७ प्रतिशत मात्रै सकिएको छ । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सुरु भएको सात वर्षमा ३७.८१ प्रतिशत सकिएको छ । 

स्रोत नहेर्ने, तर राजनीतिक स्वामित्व खोज्ने प्रवृत्तिले गौरवका आयोजना अत्यन्त दुरवस्थामा पुगेका हुन् : प्राडा पुष्करराज बज्राचार्य, अर्थशास्त्री
म योजना आयोगको सदस्य आजभन्दा १५–१६ वर्षअगाडि हुँदा पनि यी कुरा आएका थिए । त्यसवेला मैले के भनेको थिएँ भने पहिला क्राइटेरिया राखौँ । अनि त्यो क्राइटेरियाअनुसार को पर्छ, को पर्दैन र किन पर्छ–पर्दैन भन्ने तय गरौँ । किनभने, सबैले अहिलेको समय त्यो आधारमा गरेनन् । धेरैजसो राजनीतिक रूपमा नाम ठुला भएका आयोजना परेका छन्, त्यसमा कुनै शंका नै भएन । बढी इम्प्लिकेसन र बढी इम्प्याक्ट हुने आयोजना त क्राइटेरियामा स्वतः आउँथे । अधिकांश आयोजना राजनीतिक रूपमा नामकरण गरिएका छन् । तिनीहरूलाई छोड्दै नछोड्ने अथवा बढी रिसोर्स खोज्ने, अनि गर्न सक्छ–सक्दैन भन्ने मतलब नहुने टेन्डेन्सी (प्रवृत्ति) भएको छ । रिसोर्स खोज्ने र त्यसलाई माथि राखिराख्ने प्रवृत्ति भयो । जुन पार्टीको सरकार बन्छ, तिनीहरूले ल्याएका आयोजनामा राजनीतिक ‘ओनरसिप’ मात्र हुने भयो । त्यो अगाडि बढ्नैपर्छ भन्ने राजनीतिक प्रतिबद्धता त भयो, तर परिवर्तन भइरहेको परिस्थितिमा कुन बढी आवश्यक हो र त्यसलाई के गर्ने भन्ने विचार गरिएन । 

सुझावित समाचार