काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)को थप एक हजार पाँच सय किलो घिउ र याक चिज संयुक्त अरब इमिरेट्स (युएई)को दुबई पुगेको छ। यसअघि परीक्षणका रूपमा पुगेको एक हजार पाँच सय किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि दसैँ र तिहारलाई लक्षित गरेर याक चिजसहित पुनः घिउ पठाइएको हो।
रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध–निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार नेपालबाट पठाइएका उत्पादन दुबईमा रहेको मातृभूमि जनरल ट्रेडिङ एलएलसीको सोनापुर, मुराक्काबात र सालाह अल दिन मेट्रो स्टेसन गरी तीन स्थानबाट बिक्री–वितरण हुँदै आएका छन्।
यो कम्पनीले दुई वर्षदेखि विभिन्न नेपाली रैथाने उत्पादन विदेशी बजारमा पुर्याउँदै आएको छ। ‘विगतमा गएको घिउले राम्रो बजार लियो। माग बढेपछि अहिले १५० केजी याक चिज, पेडा र घिउ थपेका छौँ,’ घिमिरेले भने, ‘हामीले नेपाली उत्पादनलाई विदेशमा रहेका नेपालीसँगै अन्य उपभोक्तामाझ पुर्याएर बजार विस्तार गर्ने उद्देश्यले काम गरिरहेका छौँ। दुबईलाई प्रवेशद्वार बनाएर भविष्यमा युएईबाहेक पश्चिम एसियाका अन्य बजारमा समेत नेपाली दुग्धजन्य उत्पादन विस्तार गर्ने हाम्रो लक्ष्य छ।’
डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार संस्थानले आफ्ना उत्पादनको अन्तर्राष्ट्रिय बजारमा सम्भावना परीक्षण गर्दै निर्यात विस्तार गर्ने योजना बनाएको छ। विदेश पठाइएका उत्पादनबाट प्राप्त हुने बजार प्रतिक्रिया र मागका आधारमा आगामी रणनीति तय गरिने उनले बताए।
‘यसअघि सीमित परिमाणमा पठाइएका उत्पादनलाई परीक्षणका रूपमा हेरिएकोमा पछिल्लोपटक घिउको परिमाण उल्लेख्य रूपमा बढाइएको छ। यसले हाम्रो उत्पादनलाई नियमित रूपमा विदेशी बजारमा लैजाने सम्भावनासमेत बढाएको छ,’ उनले भने, ‘निर्यातलाई निरन्तरता दिने उद्देश्यसहित हामीले दुध संकलन र उत्पादन विस्तारमा जोड दिइएका छौँ।’
डिडिसीले यसअघि जापानलगायतका देशमा घिउ निर्यात गरे पनि निरन्तरता पाएको थिएन। डिडिसीले विदेशी बजारलाई लक्षित गर्दै प्याकेजिङमा समेत परिवर्तन गरेको छ। दुबई पुगेको घिउ सिसाको भाँडामा प्याकेजिङ गरिएको छ भने लेबलमा नेपाली, अंग्रेजीसँगै अरबी भाषासमेत प्रयोग गरिएको छ। दुबईका उपभोक्तालाई उत्पादनसम्बन्धी जानकारी सहज रूपमा बुझाउन र स्थानीय बजारअनुकूल बनाउन अरबी भाषामा समेत लेबलिङ गरिएको हो।