७ असोजदेखि फ्लाई दुबईले पोखरा–दुबई, दुबई–पोखरा उडान भर्ने

उडानलाई लक्षित गर्दै व्यवसायीले गरे १० देखि २५ प्रतिशतसम्म छुटका प्याकेज घोषणा

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ७ असोज अर्थात् २३ सेप्टेम्बरदेखि सुरु गर्ने उडानलाई लक्षित गर्दै पोखराका पर्यटन व्यवसायीका संघ–संस्थाहरूले १० देखि २५ प्रतिशतसम्म छुट दिने गरी प्याकेज घोषणा गरेका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्रीले उडानलाई दिगो बनाउन के–कसरी अघि बढ्ने भन्ने सम्बन्धमा सरोकारवाला एवं पर्यटन व्यवसायीसँग आयोजना गरेको छलफल कार्यक्रममा फ्लाई दुबईको उडानमार्फत पोखरा आउने सबै यात्रु एवं पर्यटकलाई सो छुट प्रदान गरिने घोषणा गरिएको हो।

होटेल संघले उडानमार्फत पोखरा आउनेहरूलाई होटेलहरूको मेनुमा २५ प्रतिशतसम्म छुट दिने अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। आवश्यक परे संघले पहिलो उडानमार्फत पोखरा आउने सबैलाई एक रातका लागि बस्ने र खाने व्यवस्थासमेत मिलाउन सक्ने सुवेदीले बताए।

रेवान पोखराले १५ देखि २० प्रतिशत छुट दिने अध्यक्ष वसन्त गौतमले जानकारी दिए। बेगनास होटेल तथा रेस्टुरेन्टमा २५ प्रतिशत छुट दिने गरी व्यवस्था मिलाएको होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष सूर्यबहादुर लामिछानेले जानकारी दिए। लामिछानेका अनुसार एकजनालाई पाँच दिनसम्म छुट दिने गरी व्यवस्था मिलाइएको छ।

टान गण्डकीले पदयात्राको फुल प्याकेजमा १५ देखि २० प्रतिशतसम्म छुट दिने अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए। यसका साथै पहिलो उडानमा आउनेहरूलाई तालपारिसँगै काडे–अस्ट्रेलियन क्याम्प–धम्पुस हुँदै एकदिने पदयात्राका लागि आवश्यक गाडीसहित अन्य व्यवस्था गर्ने उनले बताए। अल्टाइटले १० प्रतिशत तथा नाट्टा गण्डकीले समेत टुर प्याकेजमा छुटको व्यवस्था गर्ने अध्यक्ष संगीता पौडेलले जानकारी दिइन्।

यसका अलावा व्यवसायीहरूले आफ्ना होटेलमा व्यक्तिगत छुटसमेत दिने भएका छन्। गण्डकी प्रदेश सभा सदस्यसमेत रहेका होटेल गुडविलका सञ्चालक गणेशबहादुर गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष एवं होटेल रानीवन अर्किडका सञ्चालक हरि भुजेल र नाट्टा गण्डकीका अध्यक्ष संगीता पौडेलको होटेल टीका रिसोर्टले दुई कोठा तीन महिनाका लागि निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन्।

दैनिक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भर्ने गरी सुरुमा एक महिना पोखरा–दुबई, दुबई–पोखरा उडान भर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट गत जेठ अन्तिम साता अनुमति पाएको कम्पनीले ६ महिनासम्मको उडान तालिका सार्वजनिक गरिसकेको छ। उडान सुरु गर्ने मिति नजिकिएसँगै उडानलाई नियमितसँगै दिगो रूपमा लैजानका लागि व्यवसायीहरूले अर्को सूचना नभएसम्मका लागि भन्दै छुटका प्याकेज घोषणा गरेका हुन्।

उडानका लागि सुरुवाती चरणदेखि लागेका पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले धेरैपटकको छलफल र धेरै जनाको पहलपछि उडान सुरु हुन लागेकाले अब सबै मिलेर उडानलाई नियमितसँगै दिगो रूपमा लैजानका लागि आ–आफ्नो स्थानबाट पहल आवश्यक रहेको बताए। व्यवसायीहरूले घोषणा गरेको छुट प्याकेज लिनका लागि उडानको बोर्डिङ पास आवश्यक पर्ने र सोही पासका आधारमा छुट लिन सक्ने उनले बताए।

उडानले पोखरा मात्र नभएर गण्डकी प्रदेश र आसपासका जिल्लाहरूलाई समेत चलायमान बनाउने उनले बताए। दुबईबाट विश्वका दुई सय ५० देशमा उडान हुने भएकाले उडानलाई अवसरका रूपमा लिन आवश्यक रहेको उनले बताए। पहिलो उडानमार्फत फ्लाई दुबईका सिइओ, डेपुटी सिइओसँगै युएईकी राजदूतसमेत पोखरा आउने उनले जानकारी दिए।

उडानलाई लिएर डिजिटल माध्यमबाट प्रवर्द्धनको काम भइरहेको भन्दै ७ असोजको उडानलाई लक्षित गर्दै गण्डकी प्रदेश र छिमेकी जिल्लाहरूमा नेपाल टेलिकम र एनसेलको मोबाइलमा रिङटोनमा ‘उडान सञ्चालन हुँदै छ’ भन्ने सन्देश राख्न सके गाउँ–गाउँमा प्रचार हुने उनले बताए। मधेश प्रदेशका केही जिल्लामा गएर उडानको प्रचार गर्न आवश्यक रहेको उनले बताए।

हालको बुकिङ हेर्दा पोखराबाट जाने ९० प्रतिशत र दुबईबाट आउने ९५ प्रतिशत टिकट बुक भइसकेको उनको भनाइ छ।

पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले उडानलाई सफल र दिगो बनाउन निजी क्षेत्र तयार रहेको बताइन्। निजी क्षेत्रले आफूले गर्नुपर्ने काम गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो। यो उडान आर्थिकसँगै रोजगारी र अन्य धेरै अवसरसँग जोडिएकाले सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्न उनले आग्रह गरिन्।

छलफलमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उडानलाई व्यवस्थित बनाउन सरोकारवाला सबै निकाय तथा संघ–संस्था समेटेर प्रदेश सरकारले एक समिति बनाउने जानकारी दिए। पहिलो चरणमा आउँदो ६ महिनाका लागि उडान तालिका फ्लाई दुबईले निकालिसकेकाले त्यसलाई सफल बनाउन सरोकारवाला सबै निकाय मिलेर अघि बढ्न आवश्यक रहेको उनले बताए।

यसका लागि सरकारी तवरबाट गर्नुपर्ने काम प्रदेश सरकार र व्यवसायीहरूले गर्नुपर्ने काम व्यवसायीहरू मिलेर गर्ने गरी अघि बढ्न आवश्यक रहेको उनले बताए। ‘हामीले हाल अरू कुनै कुरा भन्दा पनि ६ महिनाको दैनिक तालिकालाई शतप्रतिशत बनाउने गरी अघि बढ्नुपर्छ,’ मुख्यमन्त्रीले आग्रह गर्दै यसका लागि सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अघि बढ्न आवश्यक रहेको बताए।

दुबईजस्तो अन्तर्राष्ट्रिय सञ्जालमा जोडिनु पोखराका लागि ऐतिहासिकसँगै महत्वपूर्ण उपलब्धि र अवसर भएको उनले बताए। उडानका कारण मध्यपूर्वका देशसँगै विश्वका अन्य देशबाट सिधै पर्यटकहरू पोखरा आउने भएकाले पोखरा आउने पर्यटकको संख्या वृद्धि भएसँगै आर्थिक क्षेत्र चलायमान बन्ने, रोजगारीका अवसरहरू सिर्जना हुने भएकाले यसलाई दिगो बनाउन सबैको साथ–सहयोग आवश्यक रहेको मुख्यमन्त्रीको भनाइ थियो।

सुझावित समाचार