धनगढी । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चाडपर्वलाई लक्षित गरी नागरिकलाई सहुलियत दिन यहाँ सुरु गरेका सुपथ मूल्य पसलहरूमा उपभोक्ताको भिड लाग्न थालेको छ। दाल, चामल, गहुँ, नुन, चिनी, तेललगायत खाद्यवस्तु सहुलियत मूल्यमा खरिद गर्न सुपथ मूल्य पसलहरूमा उपभोक्ताको भिड लाग्ने गरेको हो।
साल्ट ट्रेडिङको धनगढीस्थित प्रदेश कार्यालयमा सुरु गरिएको सुपथ मूल्य पसल नखुल्दै बिहानैबाट उपभोक्ताको लाइन सुरु भइसक्छ। साल्ट ट्रेडिङको प्रादेशिक कार्यालयका प्रमुख तेजबहादुर कुँवरका अनुसार हिजोआज दैनिक दुई सयजनाभन्दा बढी ग्राहक खाद्यान्न खरिदका लागि आउने गरेका छन्। धनगढीको सुपथ मूल्य पसलबाट मात्र केही दिनयता दैनिक चार–पाँच लाख रुपैयाँ मूल्यको खाद्यान्न बिक्री भइरहेको उनले जानकारी दिए।
‘दसैँ लागेसँगै ग्राहकको संख्या बढ्दो छ। धनगढीमा बिहान पसल नखुल्दै ग्राहकको लाइन लागेको हुन्छ,’ कुँवरले भने, ‘अन्य ठाउँका सुपथ मूल्य पसलमा पनि हिजोआज ग्राहकको भिड छ।’ सुदूरपश्चिममा साल्ट ट्रेडिङका सुपथ मूल्य पसलको संख्या कम रहेकाले धेरै नागरिकको पहुँचमा भने छैन। प्रादेशिक कार्यालयका अनुसार प्रदेशभरि कार्यालय र बिक्री केन्द्र रहेका सातवटा ठाउँमा सुपथ मूल्य पसल यही १ असोजदेखि सञ्चालनमा छन्।
सुपथ मूल्य पसलहरूबाट साल्ट ट्रेडिङले बजार मूल्यभन्दा चिनी प्रतिकिलो पाँच रुपैयाँ, नुन प्रतिकिलो दुई रुपैयाँ, चामल, तेल, मास, मसुरो, अरहरलगायत दाल तथा चिउरा प्रतिकिलो सात रुपैयाँ छुटमा बिक्री गरिरहेको छ। कैलालीको धनगढी, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन भइरहेका प्रादेशिक कार्यालयका प्रमुख कुँवरले जानकारी दिए।
सरकारकै अर्को संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि सुदूरपश्चिममा सुपथ मूल्य पसलमार्फत सहुलियत मूल्यमा खाद्यान्नहरू बिक्री गरिरहेको छ। खाद्यले भने चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ३२ ठाउँमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले सुपथ मूल्य पसलहरूमा खाद्य वस्तु किन्न आउने ग्राहकको संख्या उत्साहजनक रहेको बताए। एउटा सुपथ मूल्यमा दैनिक औसतमा २०–२५ क्विन्टल खाद्यान्न बिक्री भइरहेको उनले जानकारी दिए। प्रादेशिक कार्यालय प्रमुख थापाका अनुसार ३२ वटा सुपथ मूल्य पसलबाट हिजोआज दैनिक करिब ४० लाख मूल्यबराबरको खाद्यान्न बिक्री भइरहेको छ।
खाद्यका सुपथ मूल्य पसलमा मोटो चामल, मसिनो चामल, बासमती चामल र गहुँ बिक्री हुने गरेको छ। यी खाद्यवस्तुमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिने गरिएको खाद्यले जनाएको छ। ‘पहाडी जिल्लाका सुपथ मूल्य पसलमा पनि उपभोक्ताको भिडभाड नै हुन्छ,’ थापाले भने, ‘कुनै पसलमा दैनिक ४० क्विन्टल खाद्यान्न पनि बिक्री भएको छ।’ खाद्यले यहाँका विभिन्न जिल्लामा रहेका आफ्ना कार्यालय, डिपो र बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।