दोलखाकी ७५ वर्षीया लालमाया विश्वकर्माको कुनै समय छोराछोरी र श्रीमान्सहित भरिभराउ रहेको घर अहिले सुनसान छ । गत वर्ष श्रीमान्को निधन भएपछि उनी झन् एक्लिएकी छिन् । लालमायाका ६ जना छोराछोरी थिए । दुई छोराको मृत्यु भइसक्यो । बाँकी दुई छोरा–बुहारी काठमाडौंमा बस्छन् । उनी कहिलेकाहीँ काठमाडौं आउँछिन् । बाँकी समय गाउँमै एक्लै बिताउँछिन् । पहिलेजस्तो परिवार एकै ठाउँमा बस्ने चलन हराउँदै गएको उनी बताउँछिन् । ‘पहिला चाडपर्वमा सबै भेला हुन्थ्यौँ, घर नै रमाइलो हुन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले त वर्षमा एकपटक भेट भयो भने धेरै ठान्नुपर्छ ।’
ललितपुरमा बस्दै आएकी पाल्पाकी ७५ वर्षीया कर्णकुमारी पौडेललाई सहर सधैँ विरानो लागिरहन्छ । गाउँमा हुँदा उनी घरको सबै काम आफ्नै इच्छाअनुसार गर्थिन् । तर, छोराछोरीसँग बस्न सहर आएपछि उनको दैनिकी पूर्ण रूपमा फेरिएको छ । घरका सदस्य बिहानै आ–आफ्नो काममा निस्किएपछि उनी र उनका श्रीमान् दिनभरि घरमै एक्लै बस्न बाध्य हुन्छन् । उनी भन्छिन्, ‘यहाँ कोही चिनेजानेको छैन । दिनभरि एक्लै बस्नुपर्छ । त्यसैले, सहर आफ्नो जस्तै लाग्दैन ।’
संखुवासभा चन्दपुर खाँदबारीका ८३ वर्षीय रामकृष्ण थापा चार वर्षयता काठमाडौं बस्छन् । उनी केही समय विराटनगरमा पनि बसे । जीवनका धेरै दशक गाउँमा बिताएका उनी सहरको भिडमा पनि आफूलाई एक्लो महसुस गर्छन् । उनका दुवै छोरा–बुहारी रोजगारीका लागि विदेशमा बस्छन् । भौतिक सुविधा बढे पनि परिवार टाढिँदा उनलाई नरमाइलो लाग्छ । उनलाई सहरले सुविधा त दियो, तर आत्मीयता दिएन । आत्मीयता गाउँमै छुट्यो । ‘गाउँमा अभाव धेरै थियो, तर सम्बन्ध टाढा थिएन । दुःखसुखमा छिमेकी र आफन्त साथमा हुन्थे । अहिले सहरमा सुविधा बढे पनि मानिसहरू एक–अर्काबाट टाढा छन्,’ उनी भन्छन् ।
परिवार संकुचनको ठुलो मार वृद्धवृद्धा र बालबालिकामा परिरहेको छ । संस्कार–संस्कृतिको पाठशाला मानिने हजुरबा–हजुरआमाको काखबाट टाढा पुगेका बालबालिका परम्परागत ज्ञान, संस्कार र विवेकबाट वञ्चित छन् । अधिकांश परिवारका बालबालिकाले आफ्ना हजुरबा–हजुरआमालाई भेट्न एक वर्ष कुर्नुपर्छ । भेट हुँदा पनि आत्मीय गफ हुँदैन ।
७२ वर्षीय नरेन्द्रप्रसाद पराजुली तीन वर्षअघि विराटनगर छाडेर छोराबुहारीसँग बस्न काठमाडौं आए । उमेर ढल्कँदै जाँदा सुविधा त बढ्यो, तर उनले सबैभन्दा बढी गुमाए आफ्नोपन र पुराना सम्बन्ध । ‘विराटनगरमा बिहान घरबाहिर निस्कँदा साथीभाइ, छिमेकी र आफन्तसँग सहज भेटघाट हुन्थ्यो । सुखदुःख साटिन्थ्यो । काठमाडौंमा त्यस्तो आत्मीय सम्बन्ध भेट्न गाह्रो छ,’ उनी भन्छन्, ‘यहाँ सबै आ–आफ्नै जीवनमा व्यस्त छन् । छिमेकी भए पनि चिनजान कम छ, दाजुभाइ र आफन्त पनि टाढाटाढा भए ।’
६९ वर्षीय नुरराम पौडेल चार दशकअघि सिन्धुपाल्चोकबाट छोराछोरीको पढाइका लागि काठमाडौं आए । गाउँमा विद्यालयको पहुँच नभएकाले परिवारसहित राजधानी नै बस्न थाले । काठमाडौंमा चार छोराछोरीलाई पढाए । पत्नीको चार वर्षअघि निधन भएपछि उनी अहिले छोरा–बुहारीसँग बस्छन् । उनीसँग चार नातिनातिना छन् । छोराबुहारी दिउँसो व्यस्त हुन्छन् । नातानातिनी मोबाइलमा रमाउने भएकाले आफूसँग संवाद घट्दै गएको उनको अनुभव छ । भन्छन्, ‘पहिला सानो हुँदा हामीसँग बस्थे, अहिले मोबाइल हेर्छन् । पैसा चाहियो भने मात्रै कुरा गर्न आउँछन् ।’
भत्किँदै संयुक्त परिवार
नेपाली समाज धेरै लामो समयदेखि संयुक्त परिवारमा चल्यो । संयुक्त परिवारमा तीन पुस्तादेखि कतैकतै चार पुस्तासम्म बस्थे । समय फेरियो । सहरीकरण र रोजगारीका लागि टाढा जानुपर्नेलगायत कारणले संयुक्त परिवार भत्किन थाल्यो । त्यसपछि परिवारभित्र अन्तरपुस्ताको बिचमा भेटघाट पातलियो । युवा, केटाकेटी र वृद्धवृद्धाको अलग–अलग संसार निर्माण भयो । यसबारे पुस्ताबिचको आत्मीय सम्बन्ध मात्र होइन, ज्ञान, अनुभव र संस्कारको पुस्तान्तरणसमेत कमजोर बन्दै गएको विज्ञहरूको भनाइ छ ।
गाउँको खुला वातावरण, छिमेकीसँगको आत्मीयता, चौतारीका गफ र पुराना दाैँतरीसँगको भेटघाट उनीहरूको दैनिक जीवनको अभिन्न हिस्सा थियो । सहरमा यी सबैको अभावले उनीहरूलाई घेरिरहन्छ । त्यसैले धेरै वृद्धवृद्धा केही दिनमै गाउँ फर्किन चाहन्छन् । उनीहरूका लागि सहर सुविधा सम्पन्न भए पनि आत्मीयताविहीन ठाउँ बन्न पुग्छ ।
समाजमा पारिवारिक संरचना तीव्र परिवर्तन भइरहेको छ । संयुक्त परिवार अहिले बिस्तारै एकल परिवारमा रूपान्तरण भइरहेको छ । समाजशास्त्री प्रकाश राईका अनुसार यो परिवर्तन केवल सहरको समस्या मात्र होइन, समग्र नेपाली समाजले भोगिरहेको सामाजिक रूपान्तरणको परिणाम हो । राई भन्छन्, ‘करिब पाँच दशकअघिसम्म नेपाली समाजमा संयुक्त परिवार सामान्य जीवनशैली थियो । हजुरबा–हजुरआमा, बाबुआमा, दाजुभाइ, बुहारी र नातिनातिनासम्म एउटै छानामुनि बस्ने चलन थियो । तर, अहिले त्यस्तो परिवार अपवादजस्तै बनेको छ । सहरमा त संयुक्त परिवार भेट्नै कठिन छ । गाउँमा पनि लोप हुँदै गइरहेको छ ।’ अहिले सबैभन्दा धेरै आमा, बाबु र छोराछोरीमा सीमित ‘न्युक्लियर फ्यामिली’ बनिरहेको उनी बताउँछन् ।
तीनदेखि चार पुस्तासम्म सँगै बस्ने संयुक्त परिवार टुट्दै गएर अहिले एकल परिवार बनेको छ । एकल परिवार बन्दा गाउँमा वृद्धवृद्धा एक्लिएका छन् । सन्तान खोज्दै सहर पसेका वृद्धवृद्धा पनि एक्लोपनका सिकार भएका छन् । छोराछोरी आफ्नै र आफ्ना छोराछोरीको भविष्यको चिन्तामा पर्दा बुढा बाबुआमा एक्लिएका छन् । जसका कारण धेरै वृद्धवृद्धा वृद्धाश्रममा पुगेका पनि छन् ।
मानिस सामाजिक–पारिवारिकभन्दा ‘पैसामुखी’ बन्दा ‘व्यक्तिवादी’ प्रवृत्ति हाबी हुँदै गएको मानवशास्त्रीहरूको मत छ । यसलाई समाज, अर्थतन्त्र, संस्कृति र राजनीतिमा एकैपटक भइरहेको तीव्र परिवर्तनको परिणाम मान्छन्, मानवशास्त्री डा. डम्बर चेमजोङ । ‘अहिले नेपाली समाज संक्रमणको यस्तो चरणमा छ, जहाँ पुराना सामाजिक मूल्य–मान्यता कमजोर बन्दै गएका छन् । यसैको कारण संयुक्त परिवार टुट्दै गएका छन् । एकल परिवार बन्दै गएका छन्,’ उनी भन्छन्, ‘यसको मुख्य कारणमध्ये सहरीकरण र बसाइँसराइ पनि हो । हाम्रो आफ्नै सामाजिक मूल्य छन् । हामी जुन मूल्यमा बाँचेका छौँ, त्यो मूल्य क्रमशः च्युत हुँदै गइरहेको छ ।’
पारिवारिक संरचनामा आएको यो परिवर्तनको मुख्य कारण आर्थिक र राजनीतिक संरचनामा आएको बदलाव मानिन्छ । समाजशास्त्री प्रकाश राईका अनुसार मानिसहरूको जीवनशैली पनि उपभोक्तामुखी बन्दै गएको छ । ‘नेपाल क्रमशः बजारमुखी र पुँजीवादी अर्थतन्त्रतर्फ अघि बढिरहेको छ । बजारले नयाँ–नयाँ वस्तु, सुविधा र आकांक्षा सिर्जना गरिरहेको छ,’ उनी भन्छन्, ‘मानिसको चाहना र उपभोग गर्ने प्रवृत्ति बढेसँगै संयुक्त परिवारमा ती सबै आवश्यकता पूरा गर्न कठिन भएको छ । यही कारण धेरै परिवार छुट्एिर अलग बस्न थालेका छन् ।’
राईका अनुसार रोजगारीको स्वरूपमा आएको परिवर्तनले पनि परिवार विखण्डनलाई तीव्र बनाएको छ । ‘पहिले मानिस आफ्नै गाउँमा कृषि वा स्थानीय उत्पादनमा आधारित जीवन बिताउँथे । अहिले अधिकांश मानिस श्रम बजारमा निर्भर छन् । जागिर, व्यवसाय वा रोजगारीका लागि उनीहरू एक ठाउँबाट अर्काे ठाउँ सर्न बाध्य छन्,’ उनी भन्छन्, ‘श्रम बजारले मानिसलाई निरन्तर गतिशील हुन बाध्य बनाउँछ । यस्तो अवस्थामा संयुक्त परिवारमा बसेर जीवन सञ्चालन गर्न सम्भव हुँदैन । यही कारण धेरै परिवार अनिवार्य रूपमा टुक्रिएका छन् ।’
खस्कियो सम्बन्धको दूरी
समाजशास्त्री प्रकाश राई भन्छन्, ‘ज्ञान पुस्तान्तरण हरायो, पारिवारिक आत्मीयता घट्यो, व्यक्तिवादी, पैसामुखि प्रवृत्ति मौलायो । यसले अन्ततः मानवीय संवेदनालाई तीव्र ह्रास गरायो । बजार अर्थतन्त्रले ‘पहिला म’, ‘मेरो आवश्यकता’ र ‘मेरो भविष्य’ भन्ने मनोविज्ञान बलियो बनाउँछ । यसले पारिवारिक एकता कमजोर बनाउँछ ।’ राईका अनुसार एउटै घरमा बस्दा पनि अहिले धेरै वृद्धवृद्धा सामाजिक रूपमा एक्लिएका छन् । उनी भन्छन्, ‘छोराछोरी र नातिनातिनासँग भौतिक रूपमा सँगै भए पनि भावनात्मक सम्बन्ध कमजोर हुँदै गएको छ ।
नयाँ पुस्ता डिजिटल संसारमा व्यस्त छ भने वृद्ध पुस्ता संवाद र आत्मीयताको खोजीमा छ । यही कारण पुस्ताबिच संवाद घटेको छ र ‘जेनेरेसन ग्याप’ झन् गहिरिँदै गएको छ । उनका अनुसार सामाजिक सम्बन्ध कमजोर बन्दै जानु आजको नेपाली समाजका लागि गम्भीर चुनौती हो । ‘परिवारभित्रको विश्वास, सहकार्य र आत्मीयता कमजोर बन्दा त्यसको प्रभाव समाजमा पनि पर्छ र समुदायबिचको सम्बन्ध पनि खुकुलो बन्छ,’ उनी भन्छन् ।
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेपाली समाज अहिले गहिरो सांस्कृतिक संक्रमणको चरणबाट गुज्रिरहेको छ । गाउँबाट सहर र सहरबाट विदेश बसाइँ सर्ने क्रम तीव्र बन्दै जाँदा संयुक्त परिवार विघटन भएको र त्यसको सबैभन्दा ठुलो असर बालबालिका तथा वृद्धवृद्धामा परेको उनी बताउँछन् । श्रेष्ठ भन्छन्, ‘हामीसँग पहिचान बोकेका जीवित संस्कृति र सभ्यता छन् । तर, नयाँ पुस्ता विदेशतर्फ र सहरतर्फ केन्द्रित हुँदा ती सांस्कृतिक मूल्य नै हराउने जोखिम बढेको छ ।’
संस्कृतिविद् श्रेष्ठ सहरको जीवनले आर्थिक सुविधा दिए पनि मानसिक शान्ति र पारिवारिक आत्मीयता घटाएको बताउँछन् । आफ्नो परिवारको उदाहरण दिँदै श्रेष्ठ भन्छन्, ‘मेरो छोरा भारतमा चार्टर्ड एकाउन्टेन्सी पढेर फर्किएपछि मलाई सोध्यो– बा, तपाईंलाई पैसा चाहिन्छ कि परिवार ? त्यो प्रश्नले मलाई धेरै सोच्न बाध्य बनायो । मैले उसलाई भनेँ, मलाई पैसा होइन, परिवार चाहिन्छ । आज हामी सबै एउटै घरमा छौँ । छोराबुहारी र नातिनातिनासँगै बस्नुको जुन आनन्द छ, त्यो पैसाले किन्न सकिँदैन ।’
टुट्यो ज्ञानको पुस्तान्तरण
परिवार संकुचनको ठुलो मार वृद्धवृद्धा र बालबालिकामा परिरहेको छ । संस्कार–संस्कृतिको पाठशाला मानिने हजुरबा–हजुरआमाको काखबाट टाढा पुगेका बालबालिका परम्परागत ज्ञान, संस्कार र विवेकबाट वञ्चित छन् । अधिकांश परिवारका बालबालिकाले आफ्ना हजुरबा–हजुरआमालाई भेट्न एक वर्ष कुर्नुपर्छ । भेट हुँदा पनि आत्मीय गफ हुँदैन ।
समाजशास्त्री प्रकाश राई पारिवारिक विखण्डनको अर्को गम्भीर असर ज्ञान हस्तान्तरणमा परेको बताउँछन् । उनी भन्छन्, ‘विगतमा हजुरबा–हजुरआमा र बाबुआमाबाट नयाँ पुस्तामा हस्तान्तरण हुने परम्परागत सिप, अनुभव र ज्ञान अहिले क्रमशः हराउँदै गएको छ । परिवारभित्रको आत्मीय सम्बन्ध कमजोर हुँदा पुस्ताबिच संवाद नै कम भएको छ । त्यसमाथि आधुनिक शिक्षा प्रणालीले स्थानीय तथा परम्परागत ज्ञानलाई पर्याप्त महत्व नदिँदा नयाँ पुस्ताले त्यसलाई ज्ञानका रूपमा स्वीकार गर्न छाडेको छ ।’
राईका अनुसार डोको बुन्ने, हलो बनाउने, फलाम कुट्ने, बाँसुरी बजाउने वा अन्य परम्परागत सिप भएका व्यक्तिलाई अहिलेको समाजले ‘ज्ञानी’ वा ‘शिक्षित’का रूपमा स्वीकार गर्दैन । उनी भन्छन्, ‘पश्चिमी ज्ञान प्रणालीको प्रभावले स्थानीय ज्ञानको मूल्य घटेको छ । यसले पुस्तान्तरण हुँदै आएको मौलिक ज्ञान संकटमा परेको छ । भविष्यमा यसले नेपाली समाजको सांस्कृतिक पहिचानमै असर पार्न सक्छ ।’
बढायो एक्लोपन
गाउँ छाडेर सहरमा पाइला टेक्ने अधिकांश मानिसले सबैभन्दा पहिले भोग्ने अनुभूति हो– एक्लोपन । उच्च शिक्षा, रोजगारी वा राम्रो अवसरको खोजीमा सुरु भएको सहरको यात्रा सुरुमा अपरिचित परिवेशसँगको संघर्षले भरिएको हुन्छ । समयसँगै उनीहरू सहरको जीवनशैलीमा अभ्यस्त बन्छन्, पेसा–व्यवसायमा स्थापित हुन्छन् र आफ्नै घर–परिवार बसाल्छन् । त्यसपछि गाउँमा रहेका बुबाआमालाई पनि आफू बसेको सहरमा ल्याउँछन् ।
तर, सहरमा आउने ती अभिभावकको अनुभव भने सन्तानको भन्दा फरक हुन्छ । अधिकांशले ५५–६० वर्ष वा त्योभन्दा माथिको उमेर पार गरिसकेका हुन्छन् । नयाँ परिवेश, अपरिचित मानिस र बदलिएको जीवनशैलीबिच उनीहरूले आफ्नोपनभन्दा बढी एक्लोपन महसुस गर्छन् । सडकभरिका ठुल्ठुला सूचना बोर्ड, व्यस्त सडक र प्रविधिमैत्री वातावरणले उनीहरूलाई झन् पराइ बनाइदिन्छ ।
गाउँको खुला वातावरण, छिमेकीसँगको आत्मीयता, चौतारीका गफ र पुराना दाैँतरीसँगको भेटघाट उनीहरूको दैनिक जीवनको अभिन्न हिस्सा थियो । सहरमा यी सबैको अभावले उनीहरूलाई घेरिरहन्छ । त्यसैले, धेरै वृद्धवृद्धा केही दिनमै गाउँ फर्किन चाहन्छन् । उनीहरूका लागि सहर सुविधा सम्पन्न भए पनि आत्मीयताविहीन ठाउँ बन्न पुग्छ । उनीहरू सन्तानका लागि बोझ भएको महसुस गर्न थाल्छन् ।
मानवशास्त्री डा. डम्बर चेम्जोङका अनुसार उत्पादन प्रणालीमा आएको परिवर्तनले नेपाली समाजको पारिवारिक सम्बन्धलाई गहिरो रूपमा प्रभावित गरेको छ । कृषिमा आधारित जीवनशैलीबाट वैदेशिक रोजगारी र रेमिट्यान्समा आधारित अर्थतन्त्रतर्फ समाज अघि बढ्दै जाँदा युवाहरू गाउँ छाडेर सहर र विदेश पुगे । त्यसको प्रत्यक्ष असर वृद्ध बाबुआमामा परेको छ ।
सामाजशस्त्री डोरबहादुर विष्टले आफ्नो पुस्तक ‘भाग्यवाद र विकास’मा नेपाली समाजको परिवार संरचनाबारे स्पष्ट पारेका छन् । उनले पुस्तकमा लेखेका छन्, ‘नेपालमा परिवार विखण्डित प्रकृतिको छ । काठमाडौंका केही उच्च वर्गका व्यापारी परिवार र तराईका केही जमिनदार मात्र ठुलो संयुक्त परिवारमा बस्छन् ।
सरकारी कर्मचारीबाहेक अरूको बुढेसकालमा कुनै सहारा नभएकाले बुढापाकाले बुढेसकालमा आफ्ना छोराबुहारीको भर पर्नुपर्छ । त्यसैले, बुढाबुढीहरू विवाहित छोराहरूका घरमा बस्ने प्रचलन छ । यस अपवादलाई छाड्ने हो भने एकल परिवारमा लोग्ने, स्वास्नी, बिहे नगरेका छोराछोरी हुने गर्छन् । परिवारको यस्तो स्वरूप देशभरि नै पाइन्छ । वृद्धावस्थामा आवश्यक पर्ने रेखदेख र बढ्दो उमेरका कारण हुने एक्लोपन र स्वास्थ्य समस्यालाई परिवारले हेर्ने गर्छन् ।’
आर्थिक कारण
अर्थविद् प्रकाश श्रेष्ठका अनुसार ०४६ सालको राजनीतिक परिवर्तनपछि आर्थिक उदारीकरण र आधुनिक प्रविधिले नेपालीको जीवनशैलीमा ठुलो परिवर्तन ल्यायो । धेरैले परम्परागत कृषि पेसा छाडेर नयाँ रोजगारी रोजे । आर्थिक अवसरको खोजीमा बसाइँसराइ तीव्र बन्यो । यसले सामाजिक सन्तुलनमा पनि असर पार्यो । खेतिपातीको आधार रहेको संयुक्त परिवारको सामूहिकता कमजोर हुँदै गयो । बाबु र छोराको पेसा फरक हुन थालेपछि पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान र सिपको महत्व घट्यो । बदलिँदो पेसा र जीवनशैलीले संयुक्त परिवारको संरचना मात्र होइन, पारिवारिक सम्बन्धमा पनि दूरी बढायो ।
अर्थविद् श्रेष्ठ २०५२ पछि रोजगारीका लागि वैदेशिक पलायन हुने क्रम तीव्र भएको बताउँछन् । सरकारले पनि वैदेशिक रोजगारीलाई प्रवद्र्धन गरेपछि गाउँ रित्तिने र अव्यवस्थित सहरीकरण बढ्ने क्रम तीव्र भएको उनको विश्लेषण छ । उनी भन्छन्, ‘जनसांख्यिक परिवर्तन, सहरीकरण, शिक्षा, रोजगारीको बदलिएको स्वरूप, वैदेशिक रोजगारी र विश्वव्यापी बसाइँसराइको संयुक्त प्रभावले पारिवारिक संरचनामा परिवर्तन ल्याएको हो ।’
यसलाई विश्वव्यापी सामाजिक रूपान्तरणको एउटा हिस्सा मान्छन् श्रेष्ठ । उनी भन्छन्, ‘आज मानिसको बसाइँसराइ र गतिशीलता असाध्यै बढेको छ । पहिले एकै गाउँ वा बढीमा भारतसम्म सीमित हुने बसाइँसराइ अहिले विश्वभर फैलिएको छ । त्यसैले, एउटै परिवारका सदस्य विभिन्न देशमा छरिएर बस्ने अवस्था बनेको छ ।’
श्रेष्ठका अनुसार सहरीकरणसँगै जीवनस्तर उकासिएको छ, तर जीवनयापन महँगो पनि बनेको छ । बालबालिका हुर्काउने लागत बढेकाले परिवार साना बन्दै गएका छन् । महिलाको शिक्षा र श्रमबजारमा बढ्दो सहभागिताले पनि सन्तान जन्माउने निर्णयमा आर्थिक पक्ष महत्वपूर्ण बन्दै गएको छ । यही कारण जनसंख्या वृद्धिदर घट्दै गएको र ठुलो परिवारको परम्परा कमजोर भएको उनी बताउँछन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ६० वर्षभन्दा माथिको जनसंख्या २९ लाख ७७ हजार ३१८ छ । यो कुल जनसंख्याको १०.२१ प्रतिशत हो । १० वर्षअघि अर्थात् २०६८ मा २१ लाख ५४ हजार चार सय १० थियो । यो कुल जनसंख्याको ८.१३ प्रतिशत हो ।
जिम्मेवारी कसको ?
वृद्धाश्रम केही अवस्थाका लागि आवश्यक हुन सक्छ, तर सबै समस्याको समाधान भने होइन । परिवार र समुदायबाट अलग हुने अवस्था बढ्दै जाँदा धेरै ज्येष्ठ नागरिक सामाजिक रूपमा एक्लिँदै जाने जोखिम रहन्छ । त्यसैले, उनीहरूलाई समुदायमै सक्रिय र सम्मानजनक जीवन बिताउन सक्ने अवसर सिर्जना गर्नु आवश्यक छ ।
मानवशास्त्री डा. डम्बर चेम्जोङ समाजको संरचना परिवर्तन भइसकेको अवस्थामा राज्यले आफ्नो जिम्मेवारी बढाउनुपर्ने बताउँछन् । उनको विचारमा स्थानीय सरकारले प्रत्येक समुदायमा वृद्धमैत्री सामुदायिक भवन निर्माण गर्नुपर्छ । त्यस्ता भवनमा वृद्धवृद्धा नियमित रूपमा भेला हुने, छलफल गर्ने, सांस्कृतिक कार्यक्रम गर्ने, अन्तत्र्रिmया गर्ने र सामाजिक सम्बन्ध विस्तार गर्ने वातावरण बनाउनुपर्ने उनी बताउँछन् । यसले उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ ।
पाठ्यक्रममा केवल किताबको इतिहास मात्र पर्याप्त नहुने मानवशास्त्री चेम्जोङ बताउँछन् । उनी भन्छन्, ‘समाजको वास्तविक इतिहास त वृद्धवृद्धासँग हुन्छ । त्यसैले हप्तामा एक दिन ज्येष्ठ नागरिकलाई विद्यालयमा बोलाएर आफ्ना अनुभव सुनाउने व्यवस्था गर्न सकिन्छ । यसबाट विद्यार्थीले आफ्ना हजुरबुबा–हजुरआमाको पुस्ताले भोगेको समाज, संघर्ष र परिवर्तनबारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर पाउनेछन् ।’
अर्थविद् प्रकाश श्रेष्ठका अनुसार अहिले नेपालमा ‘केयर इकोनोमी’ (हेरचाह अर्थतन्त्र) को आवश्यकता तीव्र रूपमा बढेको छ । परिवारले गर्ने हेरचाहको भूमिका कमजोर बन्दै गए पनि त्यसको विकल्पका रूपमा राज्यले आवश्यक संरचना निर्माण गर्न सकेको छैन । वृद्धवृद्धाका लागि आवश्यक स्वास्थ्य सेवा, दीर्घकालीन हेरचाह र पूर्वाधार पनि अझै अपर्याप्त छन् । उनी भन्छन्, ‘विकसित मुलुकले वृद्धवृद्धाको हेरचाहमा आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढाइसकेका छन् । नेपालले पनि बदलिँदो पारिवारिक संरचनाअनुसार सामाजिक सुरक्षा र हेरचाहसम्बन्धी नीति तथा पूर्वाधार विकासमा अब ढिलाइ गर्नुहुँदैन ।’