सहरमा चियाका विदेशी ब्रान्ड

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

एक दशकअघिसम्म काठमाडौं उपत्यकाका चिया पसलमा दुध चिया, कालो चिया, मसला चिया र लेमन टी मुख्य रोजाइ थिए । अहिले भने दृश्य फेरिएको छ । लाजिम्पाट, ठमेल, दरबारमार्ग, बौद्ध, पुल्चोकदेखि नयाँबानेश्वरसम्मका क्याफेमा फिल्ली चिया, इरानी चिया, हबिबी चाय, बबल टी, कस्मिरी चियालगायत विदेशी नाम भएका चिया बिक्री भइरहेका छन् । यी चिया नेपालमै उत्पादन भएका चियापत्ती प्रयोग गरे पनि विदेशी शैलीमा बनाइन्छन् । केहीमा आयातीत सामग्री, मसला वा विशेष मिश्रण प्रयोग गरिन्छ । यी चियाहरू चिया पारखीहरूमाझ लोकप्रिय बन्दै गइरहेका छन् ।

फिल्ली टी 
पछिल्ला वर्षहरूमा विभिन्न देशका चियाका ब्रान्डहरू नेपाली बजारमा प्रवेश गर्न थालेका छन् । होटेल, रेस्टुरेन्ट र क्याफेहरूमा इरानी चिया, कस्मिरी चिया, टर्किस चिया, इंग्लिस ब्रेकफास्ट टी, क्यामोमाइल, पेपरमिन्ट, मिन्ट टीदेखि बबल टीसम्मका विकल्पहरू उपलब्ध हुन थालेका छन् । त्यसको एउटा उदाहरण हो, दुबईको चर्चित ‘फिल्ली टी’ । हाल काठमाडौंमा सबैभन्दा धेरै चर्चा कमाएको ब्रान्डमध्ये एक हो, फिल्ली टी । नेपालका व्यवसायीले फ्रेन्चाइज लिएपछि काठमाडौंका विभिन्न स्थानमा यसको विस्तार भएको छ । यसको प्रमुख विशेषता केसर मिसाइएको दुध चिया र आधुनिक क्याफे अवधारणा हो ।

हबिबी चाय
बालुवामा पाक्ने टर्किस चिया हो हबिबी चाय । मध्यपूर्वका धेरै देशमा चिया बनाउने एउटा अनौठो परम्परा छ । कतै यसलाई ‘स्यान्ड टी’ भनिन्छ भने कतै ‘मिडल–इस्ट मिल्क टी’ । सामान्य दुधचियाभन्दा फरक स्वाद, विशेष मसला र समय लगाएर पकाउने विधिका कारण यो चियाले छुट्टै पहिचान बनाएको छ । यही परम्परागत स्वादलाई नेपाली बजारमा परिचित गराउने व्यक्ति हुन्, नीतिन कोइराला । दुबईमा झन्डै १४ वर्ष होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेका उनले मध्यपूर्वका विभिन्न देश घुम्ने अवसर पाए । त्यही यात्राका क्रममा इजिप्टमा पहिलोपटक बालुवामा पकाइने चियासँग उनको परिचय भयो ।

नीतिन त्यतिवेला आफू कार्यरत कम्पनीको नयाँ रेस्टुरेन्ट सञ्चालनका लागि इजिप्ट पुगेका थिए । काम सकिएपछि पिरामिड क्षेत्र घुम्ने क्रममा एक स्थानीय सहकर्मीले उनलाई परम्परागत शैलीका चिया चखाएका थिए । तातो बालुवाभित्र भाँडो राखेर बिस्तारै पकाइने त्यो दृश्यले उनलाई निकै आकर्षित गर्‍यो । त्यहीवेला उनको मनमा यो शैलीको चिया नेपालमा स्थापना गर्न सकिन्छ कि भन्ने सोच आयो ।

दुबईमा नीतिनले वेटरबाट आफ्नो करिअर सुरु गरेका थिए । समयसँगै उनी सञ्चालन व्यवस्थापक (अपरेसन म्यानेजर)को जिम्मेवारीमा पुगे । एउटै कम्पनीमा लामो समय काम गर्ने क्रममा संयुक्त अरब इमिरेट्स, अफ्रिका र मध्यपूर्वका विभिन्न देशमा रेस्टुरेन्ट विस्तार गर्ने अनुभव उनले बटुले ।

नेपाल फर्किएपछि उनले देखेको अनुभवलाई जस्ताको तस्तै उतार्ने प्रयास भने गरेनन् । इजिप्टमा चिया बनाइने परम्परागत शैली स्थानीय परिवेशका लागि उपयुक्त भए पनि नेपालका लागि त्यसलाई परिमार्जन गर्नुपर्ने आवश्यकता उनले महसुस गरे । विदेशबाट ल्याएका केही टर्किस भाँडो र आवश्यक सामग्रीको सहारामा उनले ललितपुरको लबिम मलबाट परीक्षणका रूपमा चिया र टर्किस कफी बनाउन थाले । त्यसवेला उनी आफ्नै रेस्टुरेन्ट सञ्चालन गरिरहेका थिए । नयाँ स्वादप्रति ग्राहकको प्रतिक्रिया अपेक्षाभन्दा उत्साहजनक रह्यो । यही सफलताले उनलाई छुट्टै ब्रान्ड निर्माण गर्ने आत्मविश्वास दियो । त्यसपछि उनले ‘हबिबी चाय’ नामबाट ब्रान्ड विकास गरे । नाम उनी आफैँले सिर्जना गरेका हुन्, जसलाई कानुनी रूपमा दर्ता गरी ब्रान्ड संरक्षणसमेत गरेका छन् ।

उनको व्यवसाय अहिले काठमाडौंका विभिन्न स्थानमा विस्तार भइसकेको छ । भैँसीपाटी, स्वयम्भू, वसन्तपुर, ठमेल र अन्य स्थानमा सञ्चालनमा रहेका आउटलेटमार्फत ग्राहकले मध्यपूर्वको स्वाद अनुभव गरिरहेका छन् । कमलपोखरीमा भने फ्रेन्चाइज मोडेलमार्फत सेवा विस्तार गरिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा सार्वजनिक कार्यक्रममा पनि हबिबी चायको माग बढ्दै गएको छ । एकैदिन करिब १५ सय कपसम्म चिया बिक्री गरेको अनुभव उनीसँग छ ।

सञ्चालक नीतिनका अनुसार हबिबी चायको विशेषता केवल बालुवामा पकाउने शैलीमा सीमित छैन । यसमा प्रयोग हुने चार प्रकारका नेपाली चियापत्तीको मिश्रण, विशेष मसला, फुल–क्रिम दुध र रेसिपीले यसको स्वादलाई फरक बनाएको छ । चिया बिस्तारै पकाइने भएकाले यसको बनावट बाक्लो र स्वाद गाढा हुन्छ ।

नीतिन भन्छन्, ‘नेपाली समाजमा चिया संस्कृतिको पराम्परा पुरानो छ । तर, केवल चियापसल खोल्दैमा व्यवसाय सफल हुँदैन । फरक अवधारणा, गुणस्तर, निरन्तरता र ब्रान्ड निर्माणमा ध्यान दिए मात्र यस्तो व्यवसाय दीर्घकालीन रूपमा टिक्न सक्ने रहेछ ।’

इरानी चिया
काठमाडौंमा पछिल्ला केही वर्षयता इरानी चियाप्रति पनि आकर्षण बढ्दो छ । सामान्य दुधचियाभन्दा फरक स्वाद, बाक्लो बनावट र विशेष मसलाको सुगन्धका कारण यो चियाले आफ्नै पहिचान बनाउँदै छ । यो चियाको स्वाद नेपाली बजारसम्म ल्याएका थिए सरोज पौडेलले ।

सरोज होटेल व्यवस्थापन अध्ययनका क्रममा भारत पुगेको वेला इरानी चियासँग परिचित भएका थिए । हैदराबादमा इरानी चियालाई ‘दम चिया’ भनेर पनि चिनिन्छ । अध्ययनका क्रममा त्यहाँ पुगेका सरोजले पहिलोपटक यसको स्वाद चाखे । पछि यसको इतिहास र बनाउने शैलीबारे थप अध्ययन गर्दा दक्षिण भारतमा इरानी आप्रवासीहरूले फैलाएको चिया संस्कृतिसँग यसको सम्बन्ध रहेको जानकारी पाए । त्यही अनुभवले नेपालमा पनि फरक स्वादको चिया भिœयाउने उनले योजना बनाए ।

नरेफाँटको एउटा सानो आउटलेटबाट सुरु भएको यो यात्रा अहिले काठमाडौं उपत्यकाभरि फैलिएको छ । हाल २१ वटा आउटलेट सञ्चालनमा छन् । बानेश्वर, कोटेश्वर, तिनकुने, सिनामंगल, इमाडोल, बालकुमारी, लोकन्थली, नयाँबजारलगायतका क्षेत्रमा यसका शाखाहरू विस्तार भइसकेका छन् ।

यसको विशेषता नाममा होइन, बनाउने विधिमा रहेको इरानी चियाका अपरेसन म्यानेजर सुवास भण्डारी बताउँछन् । उनका अनुसार इरानी चियाको प्रेरणा मध्यपूर्वको चिया संस्कृतिबाट आएको हो । उनी भन्छन्, ‘यसमा दुध, मसला र चियापत्तीलाई एकैपटक उमालिँदैन । दुध र मसलालाई छुट्टै लामो समयसम्म पकाइन्छ । चियापत्ती अर्को भाँडोमा अलग्गै उमालिन्छ । अन्तिम चरणमा यी दुईलाई मिलाएर चिया तयार गरिन्छ । यही परम्परागत विधिले इरानी चियालाई सामान्य दुधचियाभन्दा बाक्लो, क्रिमी र सुगन्धित बनाउँछ ।’

सुवासका अनुसार इरानी चिया तयार गर्न करिब ६ घण्टासम्म दुधलाई बिस्तारै पकाइन्छ । त्यसक्रममा विशेष मसला मिसाइन्छ । चियापत्ती बेग्लै तयार गरिन्छ । अन्तिममा यी दुई मिश्रणलाई फेरि केही समय पकाएर मात्रै ग्राहकलाई पस्किने गरिन्छ ।

बबल टी
पछिल्लो समय युवापुस्तामाझ ‘बबल टी’ले पनि छुट्टै बजार बनाएको छ । सोल्टी क्राउन प्लाजाका सेफ आरबी बुढाथोकीका अनुसार ‘बबल टी’को उत्पति ताइवानसँग जोडिए पनि यसको लोकप्रियता हङकङ, भियतनामलगायत एसियाली मुलुक हुँदै नेपालसम्म फैलिएको हो । उनका अनुसार नेपाली उपभोक्ताको स्वाद बिस्तारै अन्तर्राष्ट्रिय बन्दै गएको छ । यही कारण होटेल तथा क्याफेहरूले पनि विश्वका विभिन्न मुलुकका चियालाई नेपाली स्वादअनुसार परिमार्जन गर्दै आफ्नो मेनुमा समावेश गर्न थालेका छन् ।

कस्मिरी चिया
विदेशी चियामध्ये ‘कस्मिरी चिया’ पनि नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ । भारतको कस्मिर क्षेत्रमा प्रसिद्ध यो चिया केसर, मसला, दुध तथा कतिपय परिकारमा बटर वा क्रिम मिसाएर तयार गरिन्छ । विशेष स्वादका कारण यसलाई प्रिमियम चियाका रूपमा लिने गरिन्छ ।

त्यसैगरी, तिब्बती बटर टी पनि नेपालमा परिचित पेय पदार्थ हो । नुन, बटर र चियाको मिश्रणबाट तयार हुने यो चिया हिमाली तथा तिब्बती समुदायमा विशेष लोकप्रिय छ । सोल्टी क्राउन प्लाजाका सेफ आरबी बुढाथोकीका अनुसार पाँचतारे होटेलदेखि उच्चस्तरीय रेस्टुरेन्टसम्म अहिले इंग्लिस ब्रेकफास्ट टी, क्यामोमाइल, पेपरमिन्ट, लेमन–हनी, जिन्जर–मिन्ट, हिमालयन ब्ल्याक टी, ग्रिन टी, अर्ल ग्रे, म्याचा (जापानी हरियो चिया), सिलोन टी, थाई मिल्क टी, चाई लाटेलगायतका अनेकौँ फ्लेभरका चिया नियमित रूपमा उपलब्ध छन् । स्वास्थ्यप्रति सचेत उपभोक्ताको संख्या बढेसँगै यस्ता हर्बल चियाको माग पनि बढिरहेको छ । बुढाथोकीका अनुसार मध्यपूर्वका धेरै मुलुकमा कालो चियामा पुदिना (मिन्ट) मिसाएर पिउने चलन पनि छ । नेपालमा लेमन टी लोकप्रिय भएजस्तै अरब मुलुकमा मिन्ट टी दैनिक जीवनको हिस्सा बनेको छ ।

दुबई, कतार, टर्की, इरान र युरोप भ्रमण गरेका नेपाली व्यवसायीहरूले त्यहाँ लोकप्रिय भएका चियाका अवधारणालाई नेपाल ल्याएको देखिन्छ । सामाजिक सञ्जाल र ‘क्याफे संस्कृति’ले पनि यसलाई गति दिएको छ । सोल्टी क्राउन प्लाजाका सेफ आरबी बुढाथोकीका अनुसार यस्ता अन्तर्राष्ट्रिय ब्रान्डले विदेशी स्वादलाई नेपाली उपभोक्तामाझ परिचित गराउन महत्वपूर्ण भूमिका खेलेका छन् । उनका अनुसार नेपालमा खुलेका यस्ता आउटलेटले मूल देशको स्वादलाई जस्ताको तस्तै नल्याई नेपाली उपभोक्ताको स्वाद र रुचिअनुसार केही परिमार्जन गरेर प्रस्तुत गर्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय नामका चियाहरूले नेपाली चिया बजारलाई अझ विविध बनाएको छ । यसले परम्परागत दुधचियाभन्दा फरक स्वाद खोज्ने युवा पुस्ता र क्याफे संस्कृतिलाई समेत नयाँ विकल्प दिएको छ । सेफ आरबी बुढाथोकीका अनुसार नेपालमा विदेशी चियाको प्रयोग बढ्नुमा पर्यटन, अन्तर्राष्ट्रिय खानपान संस्कृतिको प्रभाव र नेपाली उपभोक्ताको नयाँ स्वादप्रतिको आकर्षण प्रमुख कारण हुन् ।

नीतिन कोइरालाका अनुसार अहिले ग्राहकले केवल चिया मात्र होइन, अनुभव पनि खोज्छन् । आकर्षक इन्टेरियर, विशेष कप, फरक प्रस्तुति र सामाजिक सञ्जालमा साझेदारी गर्न मिल्ने वातावरणले विदेशी नामका चियालाई लोकप्रिय बनाएको छ ।

काठमाडौंको चियाबजार अहिले परम्परा र विश्वव्यापी स्वादको संगम बनेको छ । विदेशी नामका चियाहरू छ्याप्छ्याप्ती पाउन थालेका छन् । यससँगै नेपाली चियाको मौलिक पहिचान कसरी प्रवर्द्धन गर्ने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ । नीतिन भन्छन्,‘फिल्ली चिया दुबईको चर्चित ब्रान्डको हो । यसको स्ट्यान्डर्ड बेग्लै छ । नेपाली बजारमा फेन्चसाइज किनेर ल्याउनु ठुलो कुरा हो । तर, अधिकांश विदेशी नाम गरेका चियाको स्वादमा भने पारिमार्जन गरिएका हुन्छन् ।’

See More On

सुझावित समाचार