सहरमा हराउँदै छिमेकीपन

शनिबार, १७ असोज, २०८३
प्रिन्ट संस्करण

सुरेश ढकाल, मानवशास्त्री

  • छिमेकीपन हराउनु भनेको छिमेकीसँगको सम्बन्ध हराउनु मात्र होइन, सामाजिक पुँजी, सामुदायिक स्मृति र पारस्परिक उत्तरदायित्वको एउटा हिस्सा हराउनु पनि हो

छिमेकी निश्चित भौतिक भूगोलभित्र जोडिएका घरहरूको समूह वा घरनजिक बस्ने मानिसको झुण्ड मात्र होइन । भौगोलिक निकटता एउटा आधार हो, तर मुख्य कुरा यसले नेपाली सन्दर्भमा विशिष्ट सांस्कृतिक अर्थ राख्दछ । यो एउटा साझा सामाजिक र सांस्कृतिक धरातल हो । यसले पारस्परिक सहयोग, विश्वास र सामाजिक दायित्वसहितको सम्बन्धलाई समेट्छ । यस्तो सामाजिक दायित्व र पारस्परिक सहयोग र विश्वासलाई ‘छिमेकी धर्म’समेत भनिन्छ । यसर्थ, समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा, छिमेकीपन कुनै भौतिक संरचना नभई मानिसबिचको भावनात्मक सम्बन्ध, आपसी विश्वास र संवेदनशील सहकार्यबाट निर्माण भएको साझा अवधारणा हो ।

घरनजिकैको अर्को घर हुनु मात्र छिमेक होइन, दुःखसुख र मर्दापर्दा विनासर्त सहयोगका हात बढाउने, एक–अर्कामाथि भरोसा राख्ने र सामूहिक भावनाले जोडिएका मानिसको साझा जीवन्त अभिव्यक्ति नै छिमेकीपन हो । छिमेकीपन एउटा सामाजिक–सांस्कृतिक अवधारणा भएका कारण सामाजिक–सांस्कृतिक परिवर्तनसँगै छिमेकीपन पनि निरन्तर परिवर्तन भइरहेको हुन्छ । मेरो अनुभव र स्मृतिमा रहेको आजभन्दा करिब पाँच दशकअघि काठमाडौंजस्ता सहरमा जुन किसिमको छिमेक र छिमेकीपन थियो, त्यो अहिले छैन । त्यसलाई अर्को ढंगले पुनर्स्थापित गर्ने प्रयास नभएको भने होइन, तर हिजोको जस्तो भावनात्मक र संवेदनशील सम्बन्ध अहिले छैन ।

सामाजिक र सांस्कृतिक आधार
जर्मन समाजशास्त्री फर्डिनान्ड टोनिजले व्यक्तिहरूको नातागोता र समुदायमा आधारित सम्बन्ध खस्किँदै गएको छ र अपरिचितबिचका निर्वैयक्तिक, औफचारिक सहरी अन्तर्त्रियालाई परिभाषित गर्न जेमिनीसाफ्ट र गेसेलसाफ्टको अवधारणा उपयोग गरे । यसले मूलतः समुदाय र समाजबिचको भिन्नता देखाउँछ । पहिलाको छिमेकीपनमा समुदायको चरित्र थियो भने अहिलेको समाजमा त्यो चरित्र कम देखिन्छ । समुदाय र समाजमा जे भिन्नता हुन्छ, त्यही खालको परिवर्तन छिमेकीपनमा पनि आएको छ ।

छिमेकीपनलाई कायम गर्नु र पुनर्स्थापित गर्नु सांस्कृतिक कर्म पनि हो । म बौद्ध–महाङ्कालमा जन्मिएँ, त्यहाँको छिमेकीपन अनुभव गरेर हुर्कें । बौद्धका साथीभाइको संगतले त्यहाँको छिमेकीपन बुझेँ । चाबहिलको विद्यालयमा पढेँ, त्यहाँको छिमेकीपन पनि देखेँ । कतै तामाङहरूको बस्ती थियो, कतै नेवार समुदायको बस्ती । अन्यत्रझैँ चाबहिलमा नेवार समुदायको वर्षभरि विभिन्न सांस्कृतिक पर्व हुन्थे । ती पर्व समुदायका आफ्नै मानिस मिलेर आयोजना गर्थे । पर्व र अवसरअनुसार विभिन्न बाजा बजाएर मन्दिर परिक्रमा गर्थे  । हाम्रा स्कुले साथीहरू पनि ठुला मानिससँगै बाजा सिक्ने र त्यस्तो परिक्रममा वा जात्रामा सहभागी हुन्थे । नयाँ पुस्तालाई बाजा बजाउन सिकाउने मात्र नभई सांस्कृतिक ज्ञान हस्तान्तरण गरिन्थ्यो । विस्तारित परिवार हुन्थ्यो ।

मलाई लाग्छ, यस्ता अभ्यासले आदिवासी तथा स्थानीय सांस्कृतिक क्षेत्र र त्यससँगको सम्बद्धता र अपनत्वलाई पुनरुत्पादन गर्ने काम गर्थे । त्यो छिमेकी सम्बन्धबाट सम्भव हुन्थ्यो । त्यसैले, छिमेकीपन सांस्कृतिक अवधारणा पनि हो । छिमेकीपनलाई संस्थागत गर्ने कार्य नेवार समुदायभित्र गुठीले पनि गर्थ्यो । त्यस्ता जात्रा, पर्व होस् या मर्दापर्दा गरिने सरसहयोग र सहभागिताले ‘बृहत्तर हितका लागि आफ्नो समुदाय र छिमेकीका लागि केही गरिरहेका छौँ’ भन्ने भावना हुन्थ्यो । यही छिमेकीभावले छिमेकीपनलाई पुनरुत्पादन पनि गरिरहेको हुन्थ्यो ।

सामूहिक श्रम र छिमेकीपन
हामी सानो छँदा पानीको स्रोत सार्वजनिक ढुंगेधारा र कुवा थिए । प्रत्येक वर्ष वर्षाको क्रम सकिएपछि ती कुवा र धाराहरू सामूहिक रूपमा छिमेकी मिलेर सफा गर्थ्यौं । दसैँ आउन लाग्दा गोरेटो, बाटो सरसफाइ तथा मर्मत गर्थ्यौं । मानिस सामाजिक हुनुको जुन अर्थ छ, त्यो अर्थ छिमेकीपनले पुनरुत्पादन गरिरहेको हुन्थ्यो । सामाजिक र सांस्कृतिक आधारले नै छिमेकीपनलाई निरन्तरता दिने र पुनरुत्पादन गर्ने काम गर्थ्यो ।

यसमा राजनीतिक पाटो पनि आउँछ । गाउँहरू पहिले तुलनात्मक रूपमा स्वावलम्बी थिए । खानेपानी, बाटो, विद्यालय गाउँलेहरू मिलेर बनाउँथे । गाउँलेहरू नै मिलेर शिक्षक खोज्थे । बिस्तारै राज्यको भूमिका व्यापक भयो । यस्ता काम राज्यले गर्नुपर्ने भन्ने धारणा विकास भयो । बाटो राज्य, पालिका वा वडाले बनाउन थाले । कुवा खन्ने, धारा बनाउने काम पालिकाले गर्न थाले । घरघरमा निजी धारा पुग्न थाले । क्रमशः गाउँहरू कम स्वावलम्बी हुँदै गए, आफ्नो स्वायत्तता गुमाउँदै गए र परम्परागत छिमेकीपन पनि कमजोर हुँदै गयो ।

जनसंख्या, बसाइँसराइ र परिवारको विखण्डन
सहरी क्षेत्रमा छिमेकीको स्वरूपमा परिवर्तन आउनुको मुख्य कारण जनसंख्या वृद्धि, बसाइँसराइ पनि हो । सहरमा पछिल्ला चार–पाँच दशकमा जनसंख्या तीव्र रूपमा बढेको छ । घरको संख्या र परिवारको संख्या पनि त्यसैगरी बढेको छ । मानिसहरूको गतिशीलता धेरै बढ्यो, परिवार टुक्रिन थाल्यो । पछिल्लो दशकमा परिवारको संख्या र जनसंख्या मात्र बढेन, मानिसहरूले व्यावसायिक प्रयोजनका लागि घरभाडामा लगाउने क्रम पनि बढ्यो । एउटै घरमा धेरै परिवार बस्न थाले ।

मानिसहरू जुन ठाउँमा बस्छन्, त्यहाँ एक–आपसमा सामान्य चिनजान र भावनात्मक सम्बन्ध स्थापित हुन नपाउँदै त्यहाँबाट गइसकेका हुन्छन् । छिमेकीपन त्यसरी पनि हराउँदै गएको छ । पहिले काठमाडौंका टोलहरूमा निश्चित समुदाय वा जातिका परिवार बस्ने गर्थे । नातेदारी बलियो हुन्थ्यो । सिंगो टोल नै विस्तारित परिवारजस्तो हुन्थ्यो । प्रत्येक घर र परिवार नातागोता प्रणालीबाट जोडिएको हुन्थ्यो । 

अहिले मानिस व्यापक रूपमा बसाइँसराइमा सहभागी भएका छन् । भाडामा बस्ने मानिसको संख्या अत्यधिक बढेको छ । त्यसले समुदायका मानिसबिच सम्बन्ध स्थापित हुन कठिन बनाएको छ । काठमाडौं, पोखरा, चितवनजस्ता ठाउँमा घरजग्गाको मूल्य ह्वात्तै बढेको छ । यससँगै छिमेकीपन, नातागोता प्रणाली र परिवारको संरचनामा पनि परिवर्तन आएको छ ।

उत्पादन प्रणालीमा परिवर्तन
अर्को महत्वपूर्ण कुरा उत्पादन प्रणाली हो । पहिले समाज मूलतः कृषिमा आधारित थियो । धेरै काम ऐँचोपैँचो, अर्मपर्मबाट चल्थ्यो । त्यसका लागि छिमेकी अत्यन्त महत्वपूर्ण हुन्थ्यो । अहिले त्यो अवस्था छैन । उत्पादन प्रणाली नै फेरिएको छ । अर्थतन्त्र नगदमा आधारित भएको छ । अहिले काठमाडौंका वरिपरिका गाउँहरू जहाँ अझै पनि खेती गरिन्छ, त्यहाँ खेतीपातीको समयमा तराईबाट र भारतबाट समेत आएका श्रमिक काम गरिरहेको देख्छौँ । हिजो त्यस्ता काम छिमेकी मिलेर गर्थे । अहिले उत्पादन प्रणाली फेरिएकाले हिजोको जस्तो छिमेकीपन आवश्यक नपर्ने अवस्था आएको छ । त्यसैले, छिमेकीपन कसरी कमजोर भयो भन्ने प्रश्नको उत्तर खोज्दा आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक सबै पक्ष हेर्नुपर्छ । 

पहिले ऐँचोपैँचोको आवश्यकता थियो । आवश्यकता ऐँचोपैँचोले पूरा हुन्थ्यो । अहिले ऐँचोपैँचोको अभ्यास र अवधारणा पूरै हराइसक्यो । अहिले वस्तु र सेवा दुवै बजारबाट किन्न सकिन्छ । व्यक्ति–व्यक्तिबिचको प्रत्यक्ष सम्बन्धको आवश्यकता कम भएको छ । त्यसले पनि छिमेकीपन कमजोर बनाएको छ । सामाजिक संरचना फेरबदल हुँदै गएपछि ऐँचोपैँचो र पर्म प्रणाली कमजोर भएका हुन् । यसको अर्थ समाज सधैँ उस्तै रहनुपर्छ भन्ने होइन । नयाँ मानिस, नयाँ बस्ती र नयाँ टोलमा टोल सुधार समिति वा अन्य संस्था बनाएर पुराना परम्परालाई स्थापित गर्ने प्रयास भइरहेका छन् । तर, संस्था निर्माण मात्र पर्याप्त हुँदैन । 

पहिले मन्दिर, चौतारा, पँधेरा, धारा र घाँसपात गर्ने ठाउँमा मानिसहरू प्रत्यक्ष झेटघाट गर्थे । अन्तर्त्रिया हुन्थ्यो । सूचना आदानप्रदान हुन्थ्यो । गाउँ, व्यक्ति र विभिन्न विषयबारे धारणा बनाइन्थ्यो । अहिले तीमध्ये धेरै सार्वजनिक स्थलको सामाजिक भूमिका हराएको वा कमजोर भएको छ । त्यससँगै प्रत्यक्ष झेटघाट र अन्तर्त्रियाको अवसर पनि घटेको छ । यही कारण पनि अहिलेको सामाजिक सम्बन्धको स्वरूप फरक देखिएको छ । 

यान्त्रिक ऐक्यबद्धताबाट जैविक ऐक्यबद्धतातर्फ
समुदायमा आधारित सम्बन्धलाई यान्त्रिक ऐक्यबद्धता (मेकानिकल सोलिडारिटी)को अवधारणाबाट पनि बुझ्न सकिन्छ । हामी एउटै टोलमा बस्ने, एउटै छिमेकी हुने, एउटै परिवार वा एउटै नातागोताका हुने भन्ने साझा पहिचानले मानिसलाई जोड्थ्यो । त्यस्तो ऐक्यबद्धता कमजोर हुँदै जाँदा हामी जैविक ऐक्यबद्धता (अर्गानिक सोलिडारिटी)तर्फ अग्रसर भएका छौँ । आधुनिक समाजमा मानिसका काम वा पेसा फरक भएका छन् र सोहीअनुसारको सम्बन्ध र सम्बद्धता निर्माण हुन्छ । उनीहरूमा पेसागत वा संलग्नताका आधारमा ऐक्यबद्धता हुन्छ । त्यस्तो ऐक्यबद्धता राजनीतिक आधारमा पनि हुन सक्छ । यो आधुनिक समाजको विशेषता हो । त्यस्तो संगठित वा जैविक ऐक्यबद्धता बढ्दै जानुका कारण स्थानीय र भावनात्मक सम्बन्धको आवश्यकता समाप्त हुँदैन ।

प्रविधिले बदलेको सम्बन्धको स्वरूप 
प्रविधि र सामाजिक सञ्जालले सूचनाको प्रवाहलाई व्यापक बनाएका छन् । सूचनाको पहुँच र अभिव्यक्ति लोकतान्त्रिक भएको छ । मानिसले आफूलाई मन लागेको कुरा भन्न सक्छ र धेरै मानिससँग जोडिन सक्छ । प्रविधिका यस्ता धेरै सकारात्मक पक्ष छन् । भनिन्छ, सामाजिक सञ्जालले टाढाकालाई नजिक र नजिककालाई टाढा बनाएको छ । तर, सामाजिक सञ्जालले भावनात्मक सम्बन्धमा पारेको प्रभावबारे पनि प्रश्न उठेका छन् । अध्ययनले अत्यधिक सामाजिक सञ्जाल प्रयोग गर्ने बालबालिका–किशोरकिशोरीको बौद्धिक क्षमतामा ह्रास आउने, वयस्कहरूमा डिप्रेसन हुने देखाइरहेको छ । त्यसैले, प्रत्यक्ष मानवीय सम्बन्धको स्थान सामाजिक सञ्जालले लिन सक्दैन ।

मानिसलाई दुःख पर्दा दुःखको संकेत गर्ने इमोजी पठाउनु वा ‘दुःखी भएँ’ भनेर लेख्नु र दुःखमा परेको मानिससँगै बसेर उसको पीडामा सहभागी हुनु एउटै कुरा होइन । अहिले दुःख पर्दा सँगै बसेर रुने, बिरामी पर्दा घरमै पुग्ने वा समस्या पर्दा प्रत्यक्ष सहयोग गर्ने अवस्था कमजोर हुँदै गएको छ । मानिस स्थूल वस्तु होइन, भावनाबाट चल्ने सामाजिक प्राणी हो । त्यसैले, भावनात्मक सम्बन्ध कमजोर हुँदै जाँदा छिमेकी र सामुदायिक भावनामा पनि असर पर्न सक्छ ।

छिमेकीपन जोगाउने मौलिक अभ्यास
खासगरी, उपत्यकाका नेवार समुदायमा अहिले पनि परम्परागत, सानो र सरल समाजमा पाइने (यान्त्रिक) ऐक्यबद्धता र सोहीअनुरूप छिमेकीपन धेरै मात्रामा जीवित छ । अन्य आदिवासी समुदायमा पनि यस्तो ऐक्यबद्धता र सांस्कृतिक निरन्तरता र पुनर्जागरणको अभ्यास पाउन सकिन्छ । यस्ता अभ्यासले समुदायलाई भावनात्मक रूपले एक बनाइराख्ने र आपसी सहयोगमा आधारित सामुदायिकपन कायम गर्न सहयोग गर्छन् ।

मेरो अवलोकन, अध्ययन र अनुभवको आधारमा भक्तपुर नगरपालिकाले गरेका केही कामलाई नजिकबाट हेर्दा सहरी क्षेत्रमा पनि छिमेकीपन जोगाउने अनेक प्रयास भएको देखिन्छ । पेसागत र व्यावहारिक कारण जब परिवारका सदस्य आ–आफ्ना काममा जाने र वृद्धवृद्धा घरमा बस्ने अवस्था बढेपछि नगरपालिकाले टोल–टोलमा फल्चा निर्माण र पुनर्निर्माण गरेको छ । त्यहाँ वृद्धवृद्धा जम्मा हुन्छन्, भजन डाफाहरू हुन्छन्, बाघचाल खेल्छन् र कुराकानी गर्छन् । यसरी उनीहरूले एक्लो महसुस गर्नुपर्दैन ।

परिवारका सदस्य आर्थिक उपार्जनका लागि आफ्नो काममा जानुपर्छ । त्यसैले, वृद्धवृद्धाको हेरचाहका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नगरपालिकाले नै नर्सिङ शिक्षातर्फ पनि काम गरेको छ । नगरपालिकाले नर्सिङ कलेज नै सञ्चालन गरेको छ । पालिकाले युवाका लागि पुस्तकालय निर्माण र सञ्चालनमा सहयोग गरेको छ । स्थानीय साना पसललाई र उद्यमीलाई स्थान दिने अभ्यास पनि गरेको छ । अहिले पनि त्यहाँ दुई–चार मुठा साग वा केही किलो काउली बेचिरहेका साना पसल भेटिन्छन् । युवाहरूलाई चाडपर्व र जात्राबारे नियमित प्रशिक्षण दिने गरिन्छ । 

थारू समुदायमा बरघरले समुदायको प्रतिनिधित्व गर्छ र यो समुदायको नेतृत्वदायी प्रथाजनित संस्था हो । जहाँ यस्तो प्रचलन बाँचेको छ, त्यहाँ छिमेकी वा सामुदायिक भावनाको निरन्तरता पनि देखिन्छ । बखेरी वा वार्षिक भेला हुन्छ । सबैजना भेलामा सहभागी हुन्छन् । नयाँ नेतृत्व लोकतान्त्रिक ढंगबाट चुन्छन् । त्यसबाट उनीहरू आफ्नो समुदायका लागि बढी जिम्मेवार हुन्छन् । यस्ता परम्परागत संस्थाले आधुनिक समाजमा पनि सामुदायिक सम्बन्धको महत्व देखाउँछन् ।

भर्खरको भोटेकोशी–त्रिशूली बाढी आउँदा सबैभन्दा धेरै सहयोगी र प्रभावकारी स्थानीय तह अर्थात् समुदायको तह नै भयो । यसले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ, मानिस समुदायको सदस्य हुनुको अर्थ कसरी दिगो बनाउने ? समुदायलाई कसरी वातावरणीय रूपमा दिगो बनाउने ? जीविकोपार्जनलाई कसरी दिगो बनाउने ? समुदाय बलियो हुँदा विपत्मा सहयोग मात्र होइन, वातावरण संरक्षण, स्थानीय अर्थतन्त्र र सामाजिक सुरक्षाका आधार पनि बलिया हुन्छन् ।

नयाँ स्वरूपको छिमेकीपन
हिजोको छिमेकीपन भावनात्मक र संवेदनात्मक रूपमा मानिसलाई जोड्ने माध्यम थियो । त्यो गुमाउनु भनेको ठुलो सामाजिक पुँजी, सांस्कृतिक पुँजी र प्रतीकात्मक पुँजी गुमाउनु पनि हो । जुन समाज वा छिमेकमा सामाजिक पुँजी कमजोर हुन्छ, त्यो समाज पनि कमजोर हुँदै जान्छ ।

सामुदायिक अवधारणा अर्थात् समुदायलाई बलियो बनाउने प्रयास धेरै अर्थमा दिगो बनाउने प्रक्रिया हो । वातावरणीय संरक्षण, राजनीतिक अधिकारको संरक्षण, संस्कृतिको संरक्षण र स्थानीय जीविकोपार्जनजस्ता विषयमा समुदायको भूमिका महत्वपूर्ण हुन्छ । सामुदायिक भावनाले सामाजिक पुँजीलाई कायम राख्न सहयोग गर्छ ।

छिमेकीपन कमजोर हुँदै गएको छ, तर त्यसले नयाँ स्वरूप लिने प्रयास पनि गरिरहेको छ । प्राथमिक सम्बन्धबाट सामाजिक सञ्जालमार्फत द्वितीय सम्बन्धतर्फ गइरहेका छौँ । तर, प्राथमिक सम्बन्धको प्रभाव र गहिराइ द्वितीय सम्बन्धले सधैँ दिन सक्दैन ।

टोल सुधार समिति, क्लबजस्ता संस्था बनिरहेका छन् । तर, पुरानो समुदायको जस्तो छिमेकीपन फेरि जस्ताको तस्तै पुनर्स्थापित गर्न कठिन छ ।  हामी दिगो समाज, दिगो समुदाय र दिगो जीवनको कुरा गर्छौं भने छिमेकीपनलाई पुनर्ताजगी दिन आवश्यक छ । हामी त्यसतर्फ उन्मुख छौँ कि छैनौँ भन्ने कुराले फरक पार्छ ।

मानिसहरू एउटै ठाउँमा बसे पनि उनीहरूलाई जोड्ने कुरा फरक–फरक छन् । ती सबै भिन्नताबिच ‘हामी एउटै टोलमा बस्छौँ’ भन्ने साझा आधार निर्माण गर्न सकियो भने नयाँ प्रकारको छिमेकीपन विकास हुन सक्छ ।

समुदाय कमजोर भएपछि मानिस व्यक्तिवादी हुँदै जान्छ, ‘सबै मैले गर्नुपर्छ’, ‘मैले कमाउनुपर्छ’ भन्ने भावना बढ्छ । निजी उपभोगको मात्रा र आकार ठुलो हुन्छ । मानिस नयाँ प्रकारको प्रतीकात्मक पुँजी निर्माणतर्फ लाग्छ, तर पुरानो सामाजिक तथा सांस्कृतिक पुँजी गुमाउँदै जान्छ । त्यसैले, आजको प्रश्न हिजोको छिमेकीपन जस्ताको त्यस्तै फर्काउने कि नफर्काउने भन्ने मात्र होइन, प्रश्न यो हो, बदलिएको सहरमा हामी कसरी फेरि एक–अर्कासँग जोडिन सक्छौँ ?

नयाँ मानिस आएका छन्, परिवारको स्वरूप बदलिएको छ, उत्पादन र उपभोग बजारमुखी भएको छ, राज्यको भूमिका बढेको छ र प्रविधिले सम्बन्धको स्वरूप परिवर्तन गरेको छ । यस्तो अवस्थामा पुरानो छिमेकीपनको नक्कल गरेर मात्र समाधान निस्कँदैन । हामीले नयाँ परिस्थितिमा नयाँ छिमेकीपन निर्माण गर्नुपर्छ ।

त्यसका लागि साझा सार्वजनिक ठाउँ चाहिन्छ । स्थानीय संस्कृति र परम्परासँग जोडिने अवसर चाहिन्छ । टोलमा सँगै काम गर्ने वातावरण चाहिन्छ । विपत्मा एक–अर्कालाई सहयोग गर्ने अभ्यास चाहिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा ‘म’भन्दा माथि उठेर ‘हामी’ भन्ने अनुभूति निर्माण गर्न सक्ने सामाजिक अभ्यास चाहिन्छ । छिमेकीपन हराउनु भनेको छिमेकीसँगको सम्बन्ध हराउनु मात्र होइन, त्यो सामाजिक पुँजी, सामुदायिक स्मृति र पारस्परिक उत्तरदायित्वको एउटा हिस्सा हराउनु पनि हो । 

(मानवशास्त्री ढकालसँग शान्ति तामाङले गरेको कुराकानीमा आधारित) 

सुझावित समाचार