यसरी सुरु भयो महिलाले पनि रथ तान्ने प्रचलन

संस्कृति संरक्षणमा पुरुषको जति  नै महिलाको पनि भूमिका हुन्छ भनेर यसले स्थापित गरेको छ

शनिबार, १७ असोज, २०८३
प्रिन्ट संस्करण

नानीहिरा महर्जन यसपटक टिसर्ट नलगाई कुमारीरथ तान्ने तयारीमा थिइन् । कुमारीरथ तान्ने दिनभन्दा केही दिनअघि भेट्दा नानिचाः (महिलाले रथ तान्ने काम)का लागि उनको तयारी सबै पूरा भइसकेको थियो । ‘टिसर्ट लगाउने र फोटो खिच्ने कुरा यसपटक भएन,’ उनले भनिन्, ‘केही वर्षदेखि नै हामीले टिसर्टको सट्टा ब्याचको व्यवस्था गर्ने भनेका थियौँ । सोहीअनुसार यो वर्ष ब्याचको मात्र व्यवस्था गरेका छौँ ।’

यसपटक देश शोकमा रहेकाले जात्रामा तडकभडक नगर्ने निर्णय गरिएको थियो । ‘बाढीपहिरोका कारण देश नै शोकमय भएकाले धेरै मानिस राहत र उद्धारमा खटिएका छन् । त्यसैले तडकभडक नगरी, टिसर्टसमेत नराखी रथ जात्रामा सहभागी हुँदै छौँ,’ उनले भनेकी थिइन् । उनका अनुसार जात्राका लागि सूचना दिँदा पनि यही कुरा उल्लेख गरिएको छ । उनले सुरुदेखि नै कुमारीको रथ तान्दै आएकी छिन् ।

२०६९ मा ज्यापु महागुठीमा सहसचिव रहँदा महिलाले रथ तान्ने अवधारणा अघि बढेको थियो । त्यतिवेला महागुठीका अध्यक्ष इन्जिनियर स्व. मोहनकृष्ण डंगोल थिए । उनै डंगोलको सक्रियतामा महिलाहरूले पनि रथ तान्ने अवसर बनेको थियो । उनैले महर्जनलाई संयोजक बनेर जात्रामा सहभागी हुन आग्रह गरेका थिए ।

‘टोलकै भएको म उहाँलाई ठुलोबुबा भन्थेँ । उहाँले हामीलाई रथ तान्ने इच्छा छ भने व्यवस्था गर्छौँ, तिमीहरूले आँट गरे हुन्छ भन्नुभयो,’ उनले भनिन् । त्यसपछि उनले आफ्ना साथीहरूसँग छलफल गरिन् । महिलाको समूहले टोल–टोलमा पुगेर यसबारे बुझ्न थाल्यो । ‘देवताको रथ तान्न लाग्दा कस्तो हुन्छ भनेर सोध्यौँ । सयौँ वर्षदेखि पुरुषले गर्दै आएको काम महिलाले गर्ने हो र ? भन्ने प्रश्न पनि आयो । तर, धेरैजसोले देवता महिला र पुरुष दुवैको हो, रथ तान्दा के समस्या हुन्छ र भन्दै समर्थन गर्नुभयो,’ महर्जनले भनिन् । त्यसपछि महिलाले रथ तान्न सुरु भयो ।

null

‘सुरुको वर्ष खुबै डर लागेको थियो । मेरो संयोजकत्वमा गर्न लागेको, मेरो नाम सबैतिर गइसकेको थियो । के हुने होला भनेर डर लाग्यो । कति दिनसम्म त निद्रा नै लागेन,’ १४ वर्षअघिको त्यो दिन सम्झँदै उनले भनिन् ।

पहिलो वर्ष डंगोलले वसन्तपुरबाट रथ तान्न सुरु गरे पनि पूरै तान्न नसके पुरुषहरू नै परिचालन गर्ने योजना बनाएका थिए । तर, उनीहरूको समूहले कुमारीको रथ पूरै ताने । ज्यापु महागुठीअन्तर्गत काठमाडौं महानगरका ६३ वटै टोलमा सूचना दिइयो । भेला तथा प्रशिक्षण आयोजना गरियो । ‘करिब दुई महिना तयारीमै लाग्यौँ । धेरैजना सहभागी हुनुहुन्थ्यो । देवताको रथ तान्ने अवसर दिएकोमा धेरैले धन्यवादसमेत दिनुभयो,’ उनले भनिन् ।

महर्जनका अनुसार ०७० सालदेखि महिलाले तीनवटै रथ तान्दै आएका छन् । यो यात्रामा चुनौती पनि कम आएनन् । ०७२ सालको भूकम्पपछि घरहरूमा टेको लगाइएकाले महिलाले रथ नतान्दा पनि हुने भन्ने धारणा आएको थियो । विरोधसमेत भयो । ‘तर, मैले छोडिनँ । अडान नै लिएँ,’ उनी भन्छिन् ।

समयसँगै महिलाको सहभागिता बढे पनि रथ तान्ने संस्कृतिको अनुशासन र सिकाइमा भने कमी आएको उनको अनुभव छ । ‘संख्या बढ्यो । गुणस्तर बढेन । पहिले सिक्ने–सिकाउने हुन्थ्यो । अहिले आफैँ जान्ने हुनेको संख्या धेरै भयो । टिकटक बनाउने, फोटो खिच्नेको संख्या बढी भयो,’ उनी भन्छिन् ।

महिलाले मात्र रथ तान्ने भएकाले हेर्न आउनेको संख्या पनि बढेको उनले बताइन् । यसले रथ तान्ने समूहलाई थप चुनौती थपेको छ । रथ तान्ने क्रममा आर्थिक तथा व्यवस्थापनसम्बन्धी समस्या पनि रहेको महर्जन बताउँछिन् । ‘चाहेको वेला पानीसमेत हुँदैन । प्राथमिक उपचारको व्यवस्था पनि समयमा पुग्दैन,’ उनी भन्छिन् ।

तर, यी चुनौतीका बाबजुद महिलाले रथ तान्ने अभ्यासले एउटा इतिहास बनाएको उनको बुझाइ छ । ‘हामीले एउटा इतिहास रचेका हौँ । यो निरन्तर अगाडि बढ्नेछ । यसले समानताको सन्देश दिएको छ । पुरुषले जत्तिकै महिलाले पनि सबै काम गर्न सक्छन् भन्ने भएको छ,’ उनी भन्छिन् ।

डेढ दशकदेखि उनको नेतृत्वमा नानिचाः हुँदै आएको छ । उनले तेस्रो वर्ष नै संयोजनको भूमिका हस्तान्तरण गर्न खोजे पनि त्यसका लागि नयाँ नेतृत्व अघि नआएको बताइन् । ‘तीन वर्षमै हस्तान्तरण गर्नुपर्छ भनेर लागेको थिएँ । चौथो वर्ष भूकम्प आयो । कोरोना आयो । एक वर्ष रथ तान्न नै रोकियो । यस्ता चुनौती आइरहे,’ उनी भन्छिन्, ‘अब छोड्छु भनेर जोड गरिरहेकी छु । तर, म गर्छु भनेर कोही आएको छैन । गर्छु भनेर कोही आएमा म छोड्छु ।’

नानीहिराजस्तै सजनी महर्जन पनि योपटक नानिचाःमा सहभागी भइन् । यसपटक उनीहरूले १३ असोजमा रथ तानिन् । उनका अनुसार योपटक टिसर्ट नभएकाले तीन सय पास बाँडिएको थियो । उनी भैरवको रथको जिम्मेवारीमा थिइन् । यो रथ उनीसहित ७५ जनाले तानिन् । योपटक नयाँनयाँ सहभागीलाई प्राथमिकता दिइएको थियो । ‘पाँच वर्षदेखि नयाँलाई प्राथमिकतामा राख्ने गरेका छौँ । तर, अनुभवका कारण पुराना पनि चाहिन्छ,’ उनले भनिन् ।

सुरुवाती समयमा सामाजिक सञ्जालको प्रयोग कम थियो । महिला समूह र व्यक्तिगत सम्पर्कमार्फत सहभागीलाई खबर गरिन्थ्यो । ‘सुरुमा मिसा पुचः (महिला समूह) मार्फत खबर गरिन्थ्यो । अहिले सामाजिक सञ्जालमा सूचना राख्ने चलन छ,’ उनी भन्छिन् ।

उनी पनि नानीहिराजसरी नै सुरुवाती दिनमा जोडिएको थिइन् । महिलाले रथ तान्ने कुरा सुरु गर्दा नकारात्मक प्रतिक्रिया पनि आएको थियो । ‘महिलाले कहाँ रथ तान्ने भनेर नकारात्मक कुरा धेरै आएका थिए । तर, महिला अगाडि बढ्नुपर्छ भन्ने कुरा पनि आयो । इन्द्रजात्रा व्यवस्थापन समितिले पनि किन नतान्ने ? भन्ने कुरा गर्नुभयो । त्यसपछि रथ तान्ने काम सुरु भयो,’ उनी भन्छिन् । उनका अनुसार अहिले भने मुख्य चुनौती सामाजिक तथा सांस्कृतिक विरोधभन्दा भिड व्यवस्थापन भएको छ । उनका अनुसार संस्कृति संरक्षणमा पुरुषको जति नै महिलाको पनि भूमिका हुन्छ भनेर यसले स्थापित गरेको छ ।

यसपटक गणेशको रथको जिम्मेवारीमा थिइन्, रजिना डंगोल । उनले पनि नानीहिरा र सजनीसँगै रथ तान्न सुरु गरेकी हुन् । केही महिला जुट्न हम्मेहम्मे हुने वेलामा सुरु भएको रथयात्रामा अहिले हजारौँ सहभागी हुन्छन् । तर, यसपटक बाढीपहिरोको कारण देश नै शोकमा भएकाले उनीहरू भिडलाई भन्दा संस्कृतिलाई निरन्तरता दिनेतर्फ उन्मुख भइन् । ‘हामीले रथ तान्न सुरु गर्दा भर्खर–भर्खरै महिला समूहहरू बनेका थिए । महिला सशक्तीकरणको कुरा उठेको थियो,’ उनी भन्छिन्, ‘जात्रामा सहभागी हुनु, रथ तान्नुलाई पनि महिला सशक्तीकरण हो भन्ने भयो । सोहीअनुरूप हामी रथ तान्ने कार्यक्रममा सहभागी हुन थाल्यौँ ।’

०६९ सालदेखि इन्द्रजात्राको अन्तिम दिन नानिचाः हुन थालेको हो । इन्द्रजात्रा व्यवस्थापन समितिका सल्लाहकार स्व. डंगोलले महिलाले पनि रथ तान्ने प्रस्ताव अघि बढाएका थिए  । सोहीअनुसार नानीहिरा महर्जन, सजनी महर्जन, ज्ञानशोभा महर्जनलगायतको १३ समूह बनेको थियो  । यी महिलाको समूहले सुरु गरेको रथ तान्ने काम यसपटकसहित १४औँ पटक हो ।

तर, तीनवटै रथ तान्न थालेको भने १३औँ पटक मात्र भएको छ । सुरुको वर्ष एउटा मात्र रथ तान्ने अवसर पाएका महिलाले दोस्रो वर्षदेखि अरू दुई रथ तान्न पाए  । इन्द्रजात्राको वेला जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरिन्छ । बुधबार हनुमानढोका दरबारपरिसरमा इन्द्रध्वजासहितको लिंगो ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको थियो । लिच्छविकालीन राजा गुणकामदेवका पालादेखि जात्रा चलिआएको मानिन्छ  । 

सुझावित समाचार