इतिहास जहिले पनि जित्नेहरूको हुन्छ । हार्नेहरूको दुःखान्त स्मरण हुन्छ । त्यसमा पनि जसले लिपिबद्ध गर्दछ, इतिहास उसैको हुन्छ । इतिहासकारका अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिका–१ मा पर्ने चौदण्डीगढी कुनै वेला चौदण्डी नामक राज्य वा स्वतन्त्र देश थियो । त्यही चौदण्डी देशको राजधानी चौदण्डीगढी थियो । चुरे र महाभारत पर्वत शृंखलाको हरियाली काखमा लुकेको उदयपुरको पूर्वी पहाडी क्षेत्रमा पर्ने चौदण्डी दरबारको भग्नावशेष आधुनिक नेपालको एक प्रमाण पनि हो ।
यतिवेला भदौको कुहिरोले डम्म ढाकेको छ, चौदण्डी राज्यको दरबार क्षेत्रलाई । इतिहासका पानामा गौरवशाली, रोमाञ्चक र सामरिक संघर्षले भरिपूर्ण स्थान हो यो । कुनै समय पूर्वी नेपालको शक्तिशाली राजनीतिक केन्द्रका रूपमा उदाएको चौदण्डी राज्य हाल उदयपुरको मात्र नभएर आधुनिक नेपालको इतिहाससँग गाँसिन्छ ।
इतिहासकारका अनुसार विक्रम संवत् १७८४ वा १७९० को बिचमा चौदण्डी राज्य अर्थात् चौदण्डी देशको स्थापना भएको थियो । आज त्यही चौदण्डीमा सेन राजाको शासन छैन । युद्धका लागि तयार सैनिकका लावालस्कर छैनन् । बाँकी छन् त पुराना ढुंगाका पर्खाल, भग्नावशेष, किल्लाका अवशेष र इतिहासका अनगिन्ती कथामा लेखिएका इतिहासकारका किताब मात्र ।
चौदण्डीगढी राज्यको इतिहास बुझ्न नेपालको मध्यकालीन इतिहासतर्फ फर्किनुपर्छ । नेपालको इतिहासमा सेनवंशी शासनकाल वि.सं. १५५० देखि वि.सं. १८६१ सम्म मानिन्छ । सेन शासकको समयमा हाल नेपालको पूर्वी तथा मध्यपहाडी भूभागमा राज्य स्थापित भएका थिए । सेन राज्यको सीमा पूर्वमा कोशी र टिस्टा नदीदेखि पश्चिममा गण्डकी क्षेत्रसम्म फैलिएको बताइन्छ ।
पारिवारिक कलह र भागबण्डाबाट टुटफुटको क्रममा वि.सं. १७९० मा मकवानपुरगढीका सेनवंशी राजा हेमकर्ण सेनका भाइ जगत सेन चौदण्डीका प्रथम राजा बनेका हुन् । (उदयपुरको इतिहास, पृष्ठ १९७)त्यसपछि मकवानपुरबाट चौदण्डी छुट्टिएर छुट्टै स्वतन्त्र राज्य वा देश बनेको इतिहास छ । मकवानपुरबाट अलग्गिएर कमला नदीदेखि कोशी नदीसम्मको विशाल भूभाग समेटिएको स्वतन्त्र तथा सार्वभौम देश चौदण्डी राज्य ४० वर्षसम्म अस्तित्वमा आएको थियो ।
मुख्तियार भीमसेन थापाको पालामा ३५ गौंडा, पाँच छोटी गौँडा र तीन गढी प्रशासनिक केन्द्रमा विभाजन गरिएको थियो । अहिलेको उदयपुर पनि त्यसवेला चौदण्डीगढीमै कायम थियो । त्यसपछि जंगबहादुर राणाको पालामा नेपाललाई ६९ प्रशासनिक एकाइमा विभाजन गरियो । उनको पालामा उदयपुरलाई माझकिराँतमा गाभियो । त्यसवेला पनि चौदण्डीगढी प्रमुख मुकामकै रूपमा थियो ।
वरिष्ठ पत्रकार तथा इतिहासकार कौशल चेम्जोङ भन्छन्, ‘मिति यकिनका साथ भन्न सकिँदैन, एकथरीले १७८४ मा स्थापना भएको दाबी गर्दछन् भने अर्कोथरीले १७९० लाई लिन्छन् । तर, चौदण्डीगढी राज्यअन्तर्गत माझकिराँत अर्थात् दुधकोशीदेखि अरुणसम्म पथ्र्याे भन्ने प्रमाण हाल पनि पाइन्छ । सेनवंशी राजाहरूले चौदण्डी स्थापना गरेको मेरा अध्ययन र प्रमाणले विक्रम संवत् १७९० हो । यो सत्य हो । पहिलो राजा जगत सेन हुन् ।’
चौदण्डीगढी राज्यअन्तर्गत पहाडमा माझकिराँत अर्थात् दूधकोशीदेखि अरुण नदीसम्म सीमा रहेको बताइन्छ । त्यतिवेला चौदण्डी केवल राजनीतिक राजधानी मात्र थिएन । भारत र तिब्बत जोड्ने व्यापारिक मार्गसँग जोडिएको भएकाले यो क्षेत्र आर्थिक रूपमा समेत महत्वपूर्ण मानिन्थ्यो । इतिहासकारका अनुसार सेन राजाहरूले स्थानीय किराँती मुखिया तथा मगर भारदारलाई प्रशासनमा महत्वपूर्ण जिम्मेवारी दिएर राज्य सञ्चालन गरेका थिए ।
४० वर्षे इतिहासमा सेनवंशी राजाहरू
चौदण्डीगढी राज्य वि.सं. १७९० मा मकवानपुरबाट टुक्रिएर छुट्टै स्वतन्त्र राज्यका रूपमा स्थापित भएको हो । यसभन्दा अघि सेन वंशका राजाहरूले शासन गरेका थिए, जुन एउटा प्रशासनिक केन्द्रका रूपमा रहेको थियो । यस राज्यका प्रथम तथा संस्थापक राजा जगत सेन मानिन्छन् । इतिहासकार चेम्जोङका अनुसार संस्थापक राजा जगत सेनले वि.सं. १७९० देखि १८०३ सम्म १३ वर्ष शासन गरेका थिए ।
उनको मृत्युपछि भाइ विक्रम सेनले वि.सं. १८०३ देखि १८१८ सम्म १५ वर्ष शासन गरे । त्यसपछि उत्तराधिकारी मुकुन्द सेनले वि.सं. १८१८ देखि १८२५ सम्म सात वर्ष राजकाज सम्हालेका थिए । त्यसपछि अन्तिम राजा कर्ण सेनले वि.सं. १८२५ देखि १८३० सम्म पाँच वर्ष राजकाज सम्हालेका थिए । वि.सं. १८३० मा गोरखाका राजा पृथ्वीनारायण शाहको एकीकरण अभियानमा चौदण्डी राज्य विलय भएको इतिहासकारहरूको भनाइ छ ।
इतिहासकार चेम्जोङ भन्छन्, ‘चौदण्डी राज्य गोरखा राज्यमा विलय भएपछि राजा कर्ण सेन राज्य छाडेर कोशी नदी तर्दै छिमेकी विजयपुर राज्यतर्फ शरण लिन पुगेका थिए । कर्ण सेन भागेपछि यो राज्य पूर्ण रूपमा विशाल नेपालमा गाभियो । यसरी सेनवंशी राजाहरूले करिब चार दशकसम्म चौदण्डीगढीमा गौरवपूर्ण शासन गरे । यससँगै एउटा स्वतन्त्र देशको अस्तित्व पनि लोप भयो ।’
चौदण्डीमाथि गोरखालीले कसरी विजय प्राप्त गरे ?
समय सधैँ एउटै गतिमा चल्दैन । चौदण्डीगढी राज्यको शक्तिशाली अवस्था पनि बिस्तारै कमजोर हुँदै गयो । पश्चिमबाट गोरखाली सेना अर्थात् पृथ्वीनारायण शाहको एकीकरण अभियान वि.सं. १८३० मा चौदण्डीगढीमा पनि आइपुग्यो । वि.सं. १८३० साउन १ गते गोरखाली सेनाले चौदण्डीमाथि निर्णायक धाबा बोल्यो । तर, चौदण्डीको इतिहासमा यहीँ एउटा अनौठो मोड आयो । गोरखाली सेना दरबारको ढोकासम्म आइपुग्नुअघि नै चौदण्डीका अन्तिम सेन राजा कर्ण सेनले युद्धको सामना गर्ने निर्णय गरेनन् ।
इतिहासकार चेम्जोङको पुस्तक ‘उदयपुरको इतिहास’को पृष्ठ नम्बर २०८ मा लेखिएको छ, ‘हरिनन्द पाध्य र स्वरुपसिंह कार्कीले नुवाकोटको दरबारमा गई चौदण्डी राज्यको माटोको डल्ला लिएर गोरखाली राजा पृथ्वीनारायण शाहलाई आक्रमणको निम्तो दिएको कुरा सरदारद्वय अभिमानसिंह र पारथ भण्डारीले हरिनन्द पाध्यलाई लेखेको पत्रबाट स्पष्ट हुन्छ ।’
कार्की चौदण्डीकै सैन्य कमान्डर र पाध्य राजपुरोहित रहेको इतिहासकारहरूको दाबी छ । इतिहासकार चेम्जोङ भन्छन्, ‘चौदण्डी राज्य जोगाउन किराती सैनिकहरूले हरसम्भव प्रयास गर्दा पनि दरबारबाटै सूचना चुहावट भएकाले असफल भएको देखिन्छ ।’ मूल राजा कर्ण सेनले नै चौदण्डी राज्यको राजधानी चौदण्डीगढी छाडेर गइसकेपछि युद्ध जारी राख्नुको कुनै औचित्य नरहेको इतिहासकारको भनाइ छ ।
चौदण्डीगढी, उदयपुरगढी र उदयपुर
चौदण्डीगढीकै उदयपुरगढी एक विशेष किल्ला थियो । त्यो किल्ला पनि एकीकरणका क्रममा नेपालमै गाभिएको हो । एकीकरणपछि गोरखा राज्य अर्थात् नेपाल १२ वटा विस्तृत क्षेत्रमा विभाजन भएको पाइन्छ । त्यसमा चौदण्डीगढी एउटा प्रमुख प्रशासनिक केन्द्र थियो ।
मुख्तियार भीमसेन थापाको पालामा ३५ गौंडा, पाँच छोटी गौंडा र तीन गढी प्रशासनिक केन्द्रमा विभाजन गरिएको थियो । अहिलेको उदयपुर पनि त्यसवेला चौदण्डीगढीमै कायम थियो । त्यसपछि जंगबहादुर राणाको पालामा नेपाललाई ६९ प्रशासनिक एकाइमा विभाजन गरियो । उनको पालामा उदयपुरलाई माझकिराँतमा गाभियो । त्यसवेला पनि चौदण्डीगढी प्रमुख मुकामकै रूपमा थियो । त्यसपछि वि.सं. १९५२ मा वीरशमशेरले सम्पूर्ण हिमाली, पहाडी भूभागलाई २३ र भित्री मधेश तथा तराईलाई १२ तहसिल क्षेत्रमा विभाजन गरी ३५ जिल्लामा बाँडे । त्यसवेला पनि माझकिराँतअन्तर्गत उदयपुर थियो । प्रमुख मुकाम चौदण्डीगढी थियो ।
इतिहासकार चेम्जोङ आफ्नो किताब ‘नेपालको इतिहासमा उदयपुर’को पृष्ठ नम्बर ६४ मा लेख्छन्, ‘विक्रम संवत् १८७२ सालमा सरदार बलभद्रज्यू ठकुरी उदयपुरगढी सरे ।’ वि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल र ७४ जिल्लामा विभाजन गरियो । त्यसपछि उदयपुर जिल्लाको सदरमुकाम उदयपुरगढी रहन गयो । १५६ वर्षपछि उदयपुरको सदरमुकाम २०२८ सालमा उदयपुरको गाईघाट सारियो । त्यसकारण उदयपुरगढी उदयपुरको पुरानो सदरमुकामका रूपमा स्थापित छ । ४० वर्षसम्म चौदण्डी देशको राजधानी रहेको चौदण्डीगढी हाल गुमनाम छ ।
उदयपुरको नामकरण : ओझेलमा चौदण्डी
धेरैको आमबुझाइमा उदयपुरको नाम सेनवंशी राजा उदय सेनको नामबाट राखिएको बताइन्छ । उदयपुरगढी गाउँपालिकाले निर्माण गरेको उदयपुरगढी पार्कमा पनि उदय सेन नाम गरेका राजाबाट उदयपुरगढीको नाम रहन गएको चर्चा गरिएको छ । तर, उदयपुरको नामकरणको इतिहास हेर्दा लिच्छवि कालको पनि चर्चा गर्नु उपयुक्त हुन्छ ।
इतिहासकार चेम्जोङले ‘उदयपुरको इतिहास’ पुस्तकको पृष्ठ ७ मा लेखेका छन्, ‘नवौँ लिच्छवि राजा उदयदेव नाम गरेका राजाको पालामा भने उदयपुरलगायत मोरङ क्षेत्रमा किराती राजा शिरिजङ्गा हाङले विद्रोह गरेका थिए । गढी बनाएर बसेका किरातीहरूको नेतृत्व गर्दै लिच्छवि शासनविरुद्ध उनले गरेको विद्रोहलाई कुल्चन उदयदेवले पनि आक्रमण गरे ।’
चेम्जोङकै पुस्तकमा उल्लेख छ, ‘दृढ बनेका किरातीसँग लिच्छवि सैनिकहरूको निकै घमासान लडाइँ भयो । सो लडाइँमा पुरानो उदयपुर किल्ला ध्वस्त भयो र किल्लामा रहेका धेरै किराती मारिए ।
बचेखुचेका सैनिक लिएर लिच्छविको केन्द्रीय सत्तालाई चुनौती दिँदै राजा शिरिजंगा हाङ अझ पूर्वतिर लागे भने उदयदेवले सामरिक महŒवको पुरानो किल्लाको एक किलोमिटर दक्षिणतर्फ अर्को नयाँ किल्ला (गढी) निर्माण गरे । माझकिराँत रियासतलाई कजाउनका लागि नयाँ बस्ती पनि बसाए । उनले बसाएको बस्ती उनकै सम्मानमा ‘उदयपुर’ नामकरण गरियो र नयाँ गढीलाई ‘उदयपुरगढी’ भन्न थालियो ।’
कुराकानीका क्रममा चेम्जोङ भन्छन्, ‘उदयदेव नाम गरेको सेनवंशी राजा भेटिँदैन । तथ्य र प्रमाणमा लिच्छविकालीन राजा मात्र भेटिन्छन् । त्यो पनि पुष्टि हुन सक्ने अवस्था छैन ।’ यता, त्रिभुवन विश्वविद्यालयका इतिहास शिक्षा संकायका उपप्राध्यापक हिरालाल कर्ण भने उदयपुरको नामकरणका लागि १२औँ शताब्दीतिर फर्कनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘१२औँ शताब्दीमा कर्नाटक राज्यभित्र सामन्त नियुक्ति गर्ने चलन थियो । त्यो प्रदेश प्रमुखजस्तै हुने गथ्र्याे । त्यसवेला हालको उदयपुरमा उदय जीव नाम गरेका सामन्त नियुक्त भएका थिए । उनकै नामबाट उदयपुर नामकरण भएको हो ।’
उदयपुरका स्थानीय बुद्धिजीवी बोधकुमार घिमिरे उदयपुरको नामकरणका विषयमा इतिहासकारबिच नै विवाद रहेको बताउँछन् । उदयपुरगढी गाउँपालिकाले उदय नाम गरेका राजा उदय सेनका कारण उदयपुर नामकरण भएको भन्नु ठिकै भए पनि त्यसको यथार्थ पुष्टि गर्न तथ्य र प्रमाण आवश्यक रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘उदयचन्द्र सेन हो । त्यसको तथ्य र प्रमाण नखोजी पुष्टि गर्न सकिँदैन । तर, चौदण्डीगढीलाई नकार्न सकिँदैन ।’