डिजिटल प्लाटफर्ममार्फत आत्मनिर्भर बन्दै महिला

डिजिटल उद्यमशीलताले महिलालाई केवल आम्दानीको स्रोत मात्र दिएको छैन, परिवारभित्रको निर्णय प्रक्रियामा पनि उनीहरूको भूमिका बलियो बनाएको छ । आफ्नै कमाइ भएपछि महिलाहरूले छोराछोरीको शिक्षा, स्वास्थ्य र भविष्यका योजनामा सक्रिय सहभागिता जनाउन थालेका छन् ।

शनिबार, २७ भदौ, २०८३
डिजिटल संस्करण

डिजिटल प्लाटफर्मले मानिसको दैनिकी परिवर्तन गरिदिएको छ । महिलाहरू डिजिटल प्लाटफर्मको प्रयोग गर्दै आत्मनिर्भर पनि बन्न थालेका छन् । सामाजिक सञ्जालले नेपाली महिलाको आयस्रोतको माध्यम परिवर्तन गरिरहेको छ । फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब र विभिन्न डिजिटल प्लाटफर्म महिलाका लागि मनोरञ्जनका माध्यम मात्र होइनन्, उनीहरूको आम्दानी, पहिचान र आत्मविश्वासको नयाँ आधार पनि बनेका छन् । महिलाहरू डिजिटल माध्यमबाट लाखौँ रुपैयाँको कारोबार गरिरहेका छन् ।

यसको एक उदाहरण हो, काठमाडौं बलम्बु गुर्जुधाराकी प्रमिला भण्डारी केसी । १५ वर्षदेखि ‘युनिक फेन्सी’ पसल चलाउँदै आएकी उनले तीन वर्षअघिबाट अनलाइनमार्फत पनि व्यवसाय गरिरहेकी छिन् । अहिले मासिक तीन–चार लाख रुपैयाँसम्म कारोबार हुने गरेको उनी बताउँछिन् । उनका अनुसार अनलाइन अर्डरमा ‘फ्री डेलिभरी’, होलसेल सेवा र सामाजिक सञ्जालमार्फत प्रत्यक्ष ग्राहकसँग संवाद गर्न पाउनु सफलताको मुख्य कारण बनेको छ । ‘डिजिटल बजारले समयको सदुपयोग भएकोे छ । घर र व्यवसाय दुवै सम्हाल्न सजिलो भएको छ ।’

भक्तपुरकी अनिता श्रेष्ठले तीन वर्षअघिबाट गहना र गिफ्ट आइटम बनाउन सुरु गरिन् । सुरुमा केही साथीभाइ र आफन्तलाई फेसबुकमार्फत देखाएर बिक्री गर्ने प्रयास गरेकी अनिताको व्यवसाय बिस्तारै बढ्दै गयो । अहिले फेसबुक र इन्स्टाग्राममार्फत देशभरबाट अर्डर आउँछ । उनी भन्छिन्, ‘पहिले कमाइ राम्रो थिएन । अहिले घरखर्च चलाउनेदेखि छोराछोरीको पढाइको खर्चसम्म आफैँ व्यहोर्न सक्छु । केही रकम बचतसमेत गर्न थालेकी छु ।’

बुटवलको मिलनचोकमा अनामिका भुसालले ‘थ्री सिस्टर कलेक्सन’ नाम दिएर केही महिनाअघिबाट मात्रै व्यवसाय सुरु गरेकी हुन् । टिकटक स्टारको रूपमा चर्चित अनामिकाले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेकी छिन् । उनका अनुसार अस्ट्रेलिया, अमेरिका, क्यानडा, कतारलगायत विभिन्न देशमा रहेका नेपालीबाट नियमित रूपमा अर्डर आउने गरेको छ । अनलाइन माध्यमबाट दैनिक डेढ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको उनले बताइन् ।

तीन वर्षअघि पोखराको विन्ध्यवासिनी क्षेत्रमा स्थापना गरिएको ‘स्वस्ति कलेक्सन’ले अनलाइन व्यवसायमार्फत ग्राहकलाई विभिन्न सामग्री बिक्री गर्दै आएको छ । व्यवसाय सञ्चालन गरिरहेकी स्वस्तिका आचार्यका अनुसार अनलाइन व्यापारमा सबैभन्दा ठुलो चुनौती ग्राहकले अर्डर गरेर पनि सामान फिर्ता गर्ने वा अर्डर रद्द गर्ने प्रवृत्ति रहेको छ । आचार्यका अनुसार प्राप्त हुने अर्डरमध्ये करिब ८० प्रतिशत अर्डर अन्ततः फिर्ता हुने र २० प्रतिशत अर्डर ग्राहकले क्यान्सिल गर्ने अवस्था रहेको छ । यसले व्यवसाय सञ्चालनमा आर्थिक भार थपिनुका साथै ढुवानी खर्च, समय र श्रमसमेत खेर जाने गरेको उनी बताउँछिन् ।

श्रीमान्को निधन भएको साढे तीन वर्षपछि पोखरा महानगरपालिका– १६, लामाचौरनिवासी एकल महिला प्रतिभा अधिकारीले आत्मनिर्भरताको बाटो रोज्दै ‘इभान मामु कलेक्सन’ नामक फेन्सी पसल सञ्चालन गरेकी छिन् । पारिवारिक शोक र आर्थिक चुनौतीका बिच हार नमानी व्यवसाय सुरु गरेकी अधिकारी अहिले आफ्नै मिहिनेतबाट आयआर्जन गर्दै परिवारको जिम्मेवारी वहन गरिरहेकी छिन् । उनले महिलाले अवसर र आत्मविश्वास पाए कुनै पनि चुनौतीलाई अवसरमा बदल्न सक्ने सन्देश दिएकी छिन् ।

लमजुङको बेँसीसहरमा विगत १० वर्षदेखि ‘पालिस्ता बेबिल्यान्ड एन्ड लेडिज कलेक्सन’ सञ्चालन गर्दै आएकी पार्वती कुँवरले पछिल्लो समय अनलाइन व्यवसाय चुनौतीपूर्ण बन्दै गएको बताएकी छिन् । उनका अनुसार अनलाइन माध्यमबाट व्यापार गर्ने व्यवसायीको संख्या बढेसँगै बजारमा प्रतिस्पर्धा पनि तीव्र भएको छ । ‘प्रतिस्पर्धा बढी भएकाले चुनौती छ,’ उनले भनिन्, ‘अनलाइन व्यवसायलाई सरकारले नियमन गर्नुपर्छ ।’ विगत १२ वर्षदेखि बेँसीसहरमा ‘सुप्रिम बेकरी’ सञ्चालन गर्दै आएकी सुनिता शर्माले पनि पछिल्लो समय अनलाइन व्यवसाय बढ्दै गए पनि सोचेजस्तो व्यापार हुन नसकेको बताइन् । अनलाइन माध्यमबाट व्यवसाय प्रवद्र्धन गर्न सहज भए पनि बजारमा बढ्दो प्रतिस्पर्धाका कारण अपेक्षाअनुसारको कारोबार हुन नसकेको बताइन् ।

मोबाइल बन्यो व्यापारको पसल
काठमाडौं महानगरका विभिन्न वडामा अहिले सयौँ महिलाले मोबाइल फोनलाई नै आफ्नो पसल बनाएका छन् । कसैले अनलाइनमार्फत कपडा बेचिरहेका छन् । कसैले सौन्दर्य सामग्रीको व्यापार गरिरहेका छन् । कतिपयले मेकअप सेवा, डिजिटल मार्केटिङ, कन्टेन्ट लेखन, ग्राफिक डिजाइन, भिडियो सम्पादन, अनलाइन ट्युसन तथा युट्युबमार्फत आम्दानी गरिरहेका छन् ।

अहिले धेरै महिलाले आफ्नो पाककलालाई पनि आम्दानीको स्रोत बनाएका छन् । युट्युबमा खाना बनाउने तरिका, घरेलु सिप, हस्तकला, बाल हेरचाह, बगैँचा व्यवस्थापन, सिलाइ–कटाइदेखि सौन्दर्यसम्बन्धी सामग्री नियमित रूपमा राख्ने महिलाहरूले विज्ञापन, ब्रान्ड सहकार्य र स्पोन्सरसिपबाट आम्दानी गरिरहेका छन् । डिजिटल व्यापार बढ्दै गए पनि अधिकांश महिला औपचारिक रूपमा व्यवसाय दर्ता नगरी काम गरिरहेका छन् । यसैले उनीहरूको वास्तविक योगदान सरकारी तथ्यांकमा समेटिएको छैन ।

राष्ट्रिय तथ्यांक कार्यालयको श्रम सर्वेक्षण ०७९/८० अनुसार सूचना तथा सञ्चार उद्योगमा महिलाको उपस्थिति ०.५ प्रतिशत मात्र रहेको छ भने नेतृत्व तहमा महिलाको सहभागिता ७.८८ प्रतिशत छ । यस्तै, राष्ट्रिय जनगणना २०७८ अनुसार कक्षा ११ भन्दा माथिल्लो तहमा कम्प्युटर तथा सूचना प्रविधि अध्ययन गर्ने महिलाको संख्या २४.१४ प्रतिशत मात्रै छ । यसले डिजिटल प्लाटफर्ममा महिलाको अनौपचारिक सहभागिता तीव्र रूपमा बढे पनि औपचारिक सूचना प्रविधि क्षेत्रमा लैंगिक समानता अझै चुनौतीकै विषय रहेको देखाउँछ ।

आइटी अध्ययनरत छात्रा अमृता शर्माका अनुसार समस्या विश्वविद्यालयबाटै सुरु हुन्छ । उनी भन्छिन्, ‘आइटी इन्जिनियरिङ पढ्ने छात्राको संख्या नै कम छ । पढाइ सकेपछि विवाह, सन्तान र परिवारको जिम्मेवारीका कारण धेरै महिलाले करिअर छाड्नुपर्ने अवस्था आउँछ ।’ 

डिजिटल व्यापारले अवसर बढाएको भए पनि चुनौती कम छैन । डिजिटल साक्षरताको अभाव, साइबर ठगी, नक्कली ग्राहक, अनलाइन भुक्तानीको जटिलता, डेलिभरी व्यवस्थापन, बढ्दो प्रतिस्पर्धा र बजारमा विश्वास कायम राख्नु महिलाका मुख्य चुनौती हुन् । कतिपय महिलाले आलोचना र परिवारबाट पर्याप्त सहयोग नपाउने समस्या पनि झेलिरहेका छन् ।

डिजिटल उद्यमशीलताले महिलालाई केवल आम्दानीको स्रोत दिएको छैन, परिवारभित्रको निर्णय प्रक्रियामा पनि उनीहरूको भूमिका बलियो बनाएको छ । आफ्नै कमाइ भएपछि महिलाहरूले छोराछोरीको शिक्षा, स्वास्थ्य र भविष्यका योजनामा सक्रिय सहभागिता जनाउन थालेका छन् । विज्ञहरूका अनुसार डिजिटल प्लाटफर्मले परम्परागत रूपमा ‘अदृश्य’ रहेको घरेलु श्रमलाई आर्थिक मूल्यमा रूपान्तरण गर्ने अवसर दिएको छ । यसले महिलाको सिपलाई बजारसँग जोड्दै आत्मनिर्भरता र पहिचान दुवै दिएको छ ।

बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले डिजिटल प्रविधिको तीव्र विस्तारसँगै अनलाइन सेवाप्रति नागरिकको आकर्षण र माग उल्लेखनीय रूपमा बढ्दै गएको बताउँछन् । अनलाइन सेवा अहिलेको आवश्यकता मात्र नभई भविष्यको प्रमुख सेवा प्रणालीका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै यसको गुणस्तर, सुरक्षा र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ । उनी भन्छन्, ‘प्रयोगकर्ताको विश्वास कायम राख्न सेवाप्रवाहलाई अझ प्रभावकारी, सुरक्षित र ग्राहकमैत्री बनाउनुपर्छ ।’

सुझावित समाचार